खाल्डाखुल्डी पुर्ने काम तीव्र गतिमा



मधुसूदन रायमाझी

धूलो र हिलोबाट आक्रान्त बनेको काठमाडौं उपत्यकाको स्वरूप नै परिवर्तन भएको छ। काठमाडौंका सडक चिटिक्क र सफा देखिन्छ। वर्षांैअघिबाट काठमाडौं उपत्यकाको सौन्दर्यीकरणको काम अगाडि बढाए पनि सडक व्यवस्थित नहँदा सर्वसाधारण धूलो र हिलोका कारण सास्ती खेप्दै आएका थिए। हिउँदमा धूलो र वर्षाको समयमा हिलोका कारण सडकमा आवात–जावत गर्नसमेत कठिनाइ हुने गरेको थियो।
काठमाडौंको मुख्य सडकमा पछिल्लो समयमा खाल्डाखुल्डी देखिँदैनन्। वर्षाको समयअघि मात्र खाल्डाखुल्डी पुर्ने परम्पराको अन्त्य गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खाल्डाखुल्डी पुर्ने अभियान अगाडि बढाएको छ। सडक विभागसँग साधन र स्रोत भएर पनि यसअघि खाल्डाखुल्डी पुर्ने कामले निरन्तरता पाउन सकेको थिएन। तर, करिब तीन महिनाअघि मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काम गरेरै काठमाडौंबासीको मन जित्न सफल हुनुभएको छ।

मन्त्रालयले उपत्यकाको सडकलाई सुरक्षित तथा सौन्दर्यीकरण गर्ने हेतुले फुटपाथ निर्माण, रेलिङ निर्माण, जेब्रा मार्किङ तथा रङरोगन कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

‘सधैं माक्स लगाएर हिँड्नु पर्दथ्यो अहिले त ढुक्क भएर हिँड्न मिल्ने गरी सडक राम्रो भएको छ’, सर्वसाधारण प्रदिप पौडेल भन्नुहुन्छ– ‘धेरै वर्षदेखि सास्ती झेल्दै आएको थियौं, अहिले जे होस् सरकारले राम्रो काम गरेको छ।’
भौतिक पूर्वाधार मन्त्रालयले अन्तरमन्त्रालयबीच समन्वय गरेर काम अगाडि बढाएको छ। सडक विभाग, ढल विभाग, नेपाल विद्युत् प्राधिकरण, नेपाली टेलिकमबीच समन्वय नहुँदा एक वर्षमा एउटै सडक दजनौंपटक भत्काइने गरिँदै आएको थियो। तर, सरकारी निकायबीचको समन्वयले बारम्बार एउटै सडक पटक–पटक भत्काउने क्रमलाई रोक्ने काम गरेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुलीको तार अन्डरग्राउन्ड गर्ने सन्दर्भमा पनि सरोकारवाला निकायसँग समन्वय गरेर काम अगाडि बढाइरहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘सडक निर्माण र विस्तार भएको ठाउँमा विद्युत् प्राधिकरणले तत्काल पोल स्थानान्तरण गरेर काम गरिरहेको छ।’ सरकारी निकायबीच समन्वय गरेर काम गर्दा कम खर्चिलो र समयमा नै सम्पन्न गर्न सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो।
सडक विभागका महानिर्देशक केशव शर्माले उपत्यका काठमाडौंबासीको चाहनाअनुसार सडक व्यवस्थापन गर्ने काममा रात–दिन नभनी लागिरहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘सडकममा जताततै खाल्डाखुल्डी छ, निर्माण शुरू भएर पनि बन्न सकेन भन्ने गुनासो थियो, अहिले जनताको गुनासो सम्बोधन गर्ने गरी सडकलाई राम्रो बनाएका छौं, यो अभियानलाई निरन्तरता दिन्छौं।’

गत मंसिर ५ गते मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं उपत्यकाको सडकको अवस्थाबारे जानकार रहेको मात्र बताउनुभएको थियो। जिम्मेवारी सम्हालेपछि मन्त्री नेम्वाङले काठमाडौं उपत्यकाको जीर्ण सडकको अवस्थाका बारेमा स्थलगतरूपमा अध्ययनसमेत गर्नुभएको थियो। वर्षौंदेखि हुन नसकेको काम उहाँको नेतृत्वमा १ सय दिन पुग्दा पूरै मुहार नै फेरिने गरी काम नै गरेर देखाउन सफल हुनुभयो।
१ सय दिनको अवधिमा उपत्यकाका सडकमा रहेका २४ हजार ३ सय वर्गमिटर अर्थात् ९ हजार ५ सयवटा खाल्डाखुल्डी पुर्ने कार्य सम्पन्न भएको छ। अधिकांश सडक अहिले खाल्डाखुल्डीमुक्त भएको छ। मन्त्री नेम्वाङले उपत्यकाको सडक खाल्डाखाल्डी र धूलोरहित बनाउने योजनामा सफलता प्राप्त गरेको बताउनुहुन्छ। करिब तीन महिनाको अवधिमा काठमाडौं उपत्यकाका करिब २७ किमि सडकमा कालोपत्रे कार्य (आवधिक मर्मतसमेत) सम्पन्न भएको छ। उहाँका अनुसार यस आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं उपत्यकाका थप ८५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्यसहित निर्माण कार्यअघि अगाडि बढाइएको छ।
सडकको खाल्डाखुल्डी पुर्ने काम मात्र होइन उपत्यका भित्रने मुख्य नाका काटेश्वरको ट्राफिक जामको व्यवस्थापन गर्ने कार्यमा समेत मन्त्रालयले काम अगाडि बढाएको छ। कोटेश्वर चोकमा वर्षौंदेखि हुँदै आएको ट्राफिक जाम व्यवस्थापनका लागि अल्पकालीन समाधानका रूपमा हालको सडकलाई चौडा गर्न दक्षिणतर्फको जग्गा प्राप्ति भइसकेको छ। मन्त्रालयका अनुसार उत्तरतर्फको जग्गा अधिग्रहणको प्रक्रिया पनि अगाडि बढेको छ। मनोहरा कोरिडोरको सडकलाई समेत प्रयोगमा ल्याई कोटेश्वर चोकमा आउने सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरेर डाइभर्ट गरिने योजनाअनुरूप निर्माण कार्यअघि बढिसकेको मन्त्री नेम्वाङ बताउनुभयो।
काठमाडौं उपत्यकाको चक्रपथअन्तर्गत ग्वार्को चोक, सातदोबाटो चोक र बल्खु चोकमा फ्लाइओभर निर्माण गर्नका लागि डीपीआर तयारीको निम्ति परामर्शदाता छनोट कार्य भइरहेको छ। जसबाट ती क्षेत्रमा बढ्दो ट्राफिक जामको व्यवस्थापन गर्न सहज हुनेछ। सवारीको चाप रहेको सूर्यविनायक–धुलिखेल सडक खण्डलाई विस्तार गर्ने काम पनि मन्त्रालयले अगाडि बढाएको छ। कोटेश्वर र जडीबटी चोकको ट्राफिक जामलाई दीर्घकालीनरूपमा समाधान गर्न फ्लाइओभर र अन्डरपास निर्माणका लागि जापान सरकारसँग समन्वय भइरहेको सडक विभागका महानिर्देशक शर्माले बताउनुभयो।
मन्त्रालयले काठमाडौं उपत्काका चक्रपथ विस्तारको दोस्रो खण्डका रूपमा कलंकी–महाराजगन्ज खण्डको विस्तार कार्यको प्रारम्भिक कामलाई पनि अगाडि बढाएको छ। त्यसै गरी चक्रपथको तीनकुने–एयरपोर्ट–तिलगंगा सडक खण्डलाई ८ लेनमा स्तरोन्नति गर्न बीपीआर तयार गर्ने कार्य सम्पन्न भइसकेको छ। मन्त्रालयले उपत्यकाको सडकलाई सुरक्षित तथा सौन्दर्यीकरण गर्ने हेतुले फुटपाथ निर्माण, रेलिङ निर्माण, जेब्रा मार्किङ तथा रङरोगन कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्