सामुदायिक वनको राष्ट्रिय गोष्ठी स्थगित



नेपाल समाचारपत्र, काठमाडौं

वन तथा भू–संरक्षण विभागले आयोजना गर्न लागेको सामुदायिक वनको सातौँ राष्ट्रिय गोष्ठी विशेष कारणले भन्दै स्थगित गरेको छ। विभागले फागुन २८ देखि ३० गतेसम्म काठमाडौंमा सञ्चालन हुने पूर्वनिर्धारित गोष्ठी स्थगित गरेको हो।

गोष्ठीको निर्देशक समितिको मंगलबार बसेको बैठकको निर्णयानुसार गोष्ठी स्थगित गरिएको विभागका निमित्त महानिर्देशक नवराज काफ्लेले बताउनुभयो। ‘सरकारले घोषणा गरेको भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको हुनाले गोष्ठीको निर्देशक समितिले गोष्ठी स्थगन गर्ने निर्णय गरेको हो’ –उहाँले भन्नुभयो।

गोष्ठी चालू आवको तेस्रो चौमासिकमा हुने उहाँले बताउनुभयो। सामुदायिक वन कार्यक्रमका पाँच दशकका उपलब्धिका पुनरावलोकन र समीक्षा गर्ने, सामुदायिक वन कार्यक्रमका मौजुदा नीतिगत तथा कार्यक्रमगत अवसर र चुनौतीहरूको पहिचान र प्राथमिकीकरण गर्ने, संघीय परिप्रेक्ष्यमा सामाजिक, वातावरणीय र आर्थिक दिगोपन अभिवृद्धि गरी समृद्धिका लागि रणनीतिक दिशा तय गर्ने उद्देश्य राखेर गोष्ठी आयोजना गरेको विभागले जनाएको छ।

गोष्ठीमा नीति–निर्माता, सरकारी कर्मचारी, गैरसरकारी संघसंस्थाका प्रतिनिधि, विज्ञहरू एवं सामुदायिक वन समूहका प्रतिनिधिसमेत गरी २ सय ५० भन्दा बढीको सहभागिता रहने कार्यक्रम थियो।

२०४४ सालदेखि प्रत्येक पाँच वर्षको अन्तरालमा सरोकारवालाको बृहत् सहभागितामा राष्ट्रिय गोष्ठी हुँदै आएको छ।

गोष्ठीले सामुदायिक वनसम्बन्धी प्रक्रियाको पुनरावलोकन गरी नीति, रणनीति एवं बदलिँदो आर्थिक–सामाजिक परिवेशमा उपभोक्ता समूहका परिवर्तित प्राथमिकता र सामुदायिक वनको भूमिकालाई समेत समेट्दै आएको पाइन्छ।

बसाइँसराइ, ग्रामीण जीवनशैलीमा परिवर्तन, वन पैदावार र सेवाका अवसरहरूको विस्तार, जलवायु परिवर्तनको बढ्दो प्रभाव, दिगो विकासका लक्ष्यजस्ता विषयवस्तुहरू सामुदायिक वन कार्यक्रमका नवीन चुनौतीका रूपमा देखिएका छन्।

यसपटकको गोष्ठीमा विभागले हालको परिवर्तित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सोच परिपूर्तिमा सामुदायिक वनको समसामयिक सवाल र अवसरहरूका बारेमा छलफल केन्द्रित गर्ने भनेको थियो। हाल मुलुकभर २२ हजार २ सय ६६ सामुदायिक वन उपभोक्ता समूह रहेका छन् भने २२ लाख ३७ हजार ६ सय ७१ हेक्टर वनक्षेत्र व्यवस्थापन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्