बलात्कार अभियोगमा अछामबाट निर्वाचित प्रदेश सांसद रावल पक्राउ



धमेन्द्र बिसी,अछाम ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक सुदूरपश्चिम प्रदेश सांसदमाथि बलात्कारको अभियोग लागेको छ ।  जवरजस्ती करणी गरेको आरोपमा एकजना महिलाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएपछि अछामबाट निर्वाचित प्रदेश सांसद अक्कल रावल प्रहरीको हिरासतमा पुगेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कैलालीका प्रवक्ता दक्षकुमार बस्‍नेतका अनुसार सांसद रावलविरुद्ध गत फागुन १४ गते एक महिलाले जवरजस्ती करणी उद्योगमा जाहेरी दिएकी थिइन्।

महिलाको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत कैलालीबाट पक्राउ पूर्जी जारी गराएको थियो। अछामका रावल तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए।

तिनै महिलाको उजुरीका आधारमा पक्राउ पूर्जी जारी भएपछि रावल बुधबार प्रहरी कार्यालयमा उपस्थित भएका थिए। रावललाई बुधबारै हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको बस्‍नेतले जानकारी दिए।

“उहाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियोु, बस्‍नेतले भने, ुहामीले भोलि अदालबाट म्याद थप गरेर कारवाही अघि बढाउँछौं।”तर रावलले भने आफूमाथि लागेको आरोप निराधार रहेको तर्क गर्दै आएका छन्। एक प्रहरी अधिकारीका अनुसार रावलले आफूमाथि लागेको बलात्कार अभियोगलाई अस्वीकार गरेका छन्।

को हुन् रावल ?

रावल स्थानीय तहको निर्वाचनमा अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा पराजित भएका थिए। रावल अछाम निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा १ बाट सुदूरपश्‍चिम प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

संयुक्त वामठबन्धनबाट उम्मेदवारबाट रावलले प्रदेशसभाको चुनावमा नेपाली कांग्रेसका नेता सुरतबहादुर बिष्टलाई पराजित गरेका थिए।

उनले कांग्रेसका नेता बिष्टलाई १ हजार ९४१ मतान्तरले हराएका थिए। स्थानीय तहको निर्वाचनमा २ हजार ३९१ मत ल्याएर तेस्रो भएका रावलले प्रदेशसभाको निर्वाचनमा १० हजार ९८१ मत ल्याएका थिए।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरत विस्टले ९ हजार ४० मत प्राप्त गरेका थिए। रावलले नेकपा माओवादीको सशस्त्र युद्धको समयमा १४ महिनासम्म जेल जीवन बिताएका थिए। रावल जेलबाटै भागेका थिए । कलिलैमा माओवादीको सशस्त्र युद्धमा होमिएका रावल ३७ वर्षमा प्रदेश सांसद भएका थिए।

प्रतिक्रिया दिनुहोस्