कोरोना भाइरसको त्रास



जब संसारमा लोभी, पापी, घमण्डी, स्वार्थी, एकोहोरा आदिको संख्या बढ्दै जान्छ त्यहाँ प्रकृतिले एउटा रोल खेल्ने गर्दछ। त्यहाँ दैवी प्रकोप, रोगको महामारी, विध्वंश, खराब नेताहरू आदि प्रकट गराएर मानिस तथा मुलुकलाई प्रकृतिले सताइराखेको हुन्छ। यी कुरालाई कसैले रोक्न सक्दैन, न यी कुरालाई प्रायः मानिसले विश्वास नै गर्ने गर्दछ। तर सत्यतथ्य कुरा नै यही हो, जुन मानिसहरूले भोग्दै आइराखेका छन्।
अहिले मुलुकको ठूलो डरलाग्दो कुरा हो कोरोना भाइरस। यसले सारा मुलुकलाई त्रासको वातावरण बनाएको छ। तर देश चलाउनेहरूलाई यसप्रति पटक्कै चासो छैन। नेताहरू दिनमा दश किसिमको भाषण दिएर समय बिताइराखेका हुन्छन् तर कसरी जनतालाई यो रोगबाट बचाउने ? त्यो सोचतर्फ विचार पु¥याउनु आजको जरुरत हो।
अहिले सुनिनमा आउँछ– यो रोग श्वास तथा हात–जीउको स्पर्सबाट एक–अर्कामा सर्ने रोग हो। तर हाम्रो देशमा अहिले सरकार खाली पर्यटक भित्र्याउने सोचमा छ, त्यसमाथि पनि चीनबाट आउने पर्यटकमा पनि खासै रोक लगाएको देखिँदैन, जबकि विदेशीहरूले यो प्रक्रियालाई बन्देज लगाइसकेका छन्।
वास्तवमा भन्ने हो भने अहिलेसम्म हाम्रो मुलुकमा कोरोना भाइरस भित्रिएको छैन, तर कुन बेला आउने हो वा आइसकेको छ, त्यो कसैलाई थाहा छैन। यस्तो बेला सरकारको दायित्व हो हाम्रो मुलुकमा यसको रोकथाम गर्नु। सुनिनमा आउँछ– यो रोगका लागि विदेशीहरूले हामीलाई सहयोग गरी रोकथाम गर्न तयार छन्। तर हाम्रो सरकार भने आँखा चिम्लिएर बसेको देखिन्छ। यस्तो बेलामा सरकारले बुद्धिजीवी, डाक्टर, मिडिया आदिसँग परामर्श लिई हाम्रो देशमा यो रोग नभित्रियोस् भनेर कार्य गर्नुपर्छ। यसका लागि गम्भीर हुनु अति आवश्यक छ।
हामीले सुनेका कुराहरू– प्रायः देशमा यो रोग सर्दै आइराखेको छ, कुन बेला हाम्रो देशमा पनि आउने हो ? यी कुरा हामीलाई थाहा छैन। अहिलेको लागि भगवान् भरोसे, पशुपतिनाथको कृपाले सब ठीक गर्दछ भन्ने मानिसको भनाइ छ। तर २०७२ को भूकम्पजस्तो एक्कासी यो रोग फैलियो भने त्यस बेला फेरि हामीले के गर्ने त ? त्यो भूकम्पको कुरा लिएर पनि यो रोगप्रति हामी सजग भएर बस्नु आवश्यक छ। त्यसकारण सरकार, स्वास्थ्य निकाय, जनता सबै पक्षले अनभिज्ञ, स्वार्थ भावना त्यागी आफूले गर्न सक्ने योगदान अपनाएर यो क्षेत्रमा अग्रसर हुनु जरुरी छ। अहिलेको परिप्रेक्ष्यमा यो रोगबाट कसरी बच्ने भन्ने कुरामा सरकारबाट प्रचार भए पनि नपुग भएको आभास भएको छ। यसबारेमा दैनिक अखबार तथा सञ्चारमाध्यमबाट निरन्तर प्रकाशित हुनु उति नै जरुरी छ।
लोकतन्त्रपश्चात् प्रायः व्यक्तिको सोच र ध्यान जसरी हुन्छ पैसा कमाउने, मोज गर्ने, देखावा गर्नेतर्फ मोडिएको छ। यस्तो संस्कारले मानिसहरू दिनपरदिन लालची तथा स्वार्थी भएर गइराखेको हामी पाउँछौं। अहिले मुलुकमा हाम्रो आफ्नो दैनिक, भौतिक तथा आधारभूत समस्या त छँदै छ, त्यसमाथि यो भाइरस रोगले जनतामा त्रासको समस्या बढेको छ। त्यसकारण एकपल्ट फेरि भन्नुपर्दा कसरी यो रोगलाई हाम्रो मुलुकमा नभित्र्याउने भनेर देश चलाउनेहरूले स्वार्थ त्यागी साथै प्रजाले पनि यसको लागि जुट्नु जरुरी छ। समग्रमा भन्नुपर्दा, देश चलाउनेहरूले आफूहरूको स्वास्थ्यको लागि मात्र राज्यको ढुकुटी रित्याउने होइन, सबैको स्वास्थ्य एकै हो भन्ने सोच्नुपर्छ। यसबाहेक नेपाली जनताले पनि २०७२ सालको भूकम्पजस्तो दुर्भाग्य यो देशमा दोहोरिन नदिन सचेत हुनु जरुरी छ।
– रमेशकेशरी वैद्य, छत्रपाटी, काठमाडौं।
रोजगारी नहुँदा युवापुस्ता दुव्र्यसनीमा
युवापुस्तामा लागूपदार्थ दुव्र्यसनले संस्कारको रूप धारण गरेको छ। सामान्यतः विद्यालय उमेरमा सुर्तीजन्य पदार्थको सेवन गर्नेहरू बिस्तारै लागूपदार्थ दुव्र्यसनी बनिरहेका छन्। यसबाट सबै क्षेत्रका परिवार नराम्ररी प्रभावित भइरहेका छन्। दलका नेता, उच्च सरकारी अधिकारी, सेना, प्रहरी, डाक्टर, शिक्षक, व्यापारीदेखि सामान्य श्रम गरेर गुजारा चलाउनेका परिवारका छोराछोरीहरू लागूपदार्थको चपेटामा पर्दै आएको विभिन्न अनुसन्धानले देखाएका छन्।
कुलतमा फसेका छोराछोरीलाई कतिपय अभिभावकले सुध्रिने नाममा विदेश पठाउने गरेका छन्, कतिपयले गुपचुपरूपमा सुधारगृहमा राख्दै आएका छन्। अध्ययनका लागि पश्चिमा मुलुकमा गएका अधिकांश युवा कुलतमा फस्ने गरेका खबर सञ्चारमाध्यममा सार्वजनिक भइरहेका छन्। नेपालमा विद्यालय उमेरमा लुकिछिपी चुरोट र गाँजा सेवन गर्नेहरू उच्च शिक्षा हासिल गरेर विदेश गएसँगै मदिरा र लागूऔषधको कुलतका कारण गम्भीर दुर्घटनामा पर्ने गरेका अनगिन्ती दृष्टान्त छन्।
वैदेशिक रोजगारमा गएका युवामा पनि पछिल्लो समय कुलतमा फसेर व्यक्तिगत तथा पारिवारिक जीवन नै अस्तव्यस्त भएका छन्। पारिवारिक विचलनका अधिकांश घटनाको मुख्य कारण नै लागूपदार्थदुव्र्यसन देखिएको छ।नेपालमा विभिन्न आपराधिक घटनामा कुलतमा फसेका युवा नै बढी संलग्न देखिएका छन्। कुलतमा फसिसकेपछि विदेशमा लाखौँ खर्च गरी कमाउन अर्थात् अध्ययन गर्न गएका युवा झनै प्रभावित बन्ने गरेका छन्।
प्रायः युवावस्थामा विदेश जाँदा गर्नुपर्ने संघर्ष र कठिनाइको तनाव भुल्न लागूपदार्थको सहारा लिन बाध्य हुन्छन्, जसले गर्दा तनाव झनै बढ्न पुग्छ। आर्थिक समस्याका कारण कतिपय युवा आपराधिक कर्ममा समेत संलग्न हुने गर्दछन्। विदेश गएर कुलतमा फसेका युवामध्ये अधिकांशले नेपालबाटै लागूपदार्थ सेवन गर्ने मनोविद्हरूको विश्लेषण छ।
गृह मन्त्रालयको तथ्यांकअनुसार मुलुकभर लागूऔषध प्रयोगकर्ताको पुनःस्थापनाका लागि २ सय केन्द्र खुलिसकेका छन्। पुनःस्थापना केन्द्रको बढ्दो संख्याले पनि लागूऔषध प्रयोगकर्ताको स्थिति उजागर हुन्छ। नेपालमा सक्रिय जनसंख्यालाई सदुपयोग गर्न नसक्नु राज्यकै कमजोरी हो। करिब २० लाखको हाराहारीमा युवा रोजगारका लागि विदेशिनु दुर्भाग्य हो। सरकारले युवालाई दुव्र्यसनबाट मुक्त गर्दै मुलुकलाई समृद्धितर्फ डो¥याउन नेपाली युवालाई आफ्नो भविष्य स्वदेशमै सुनिश्चित गराउनु आवश्यक देखिएको छ।
– रमेश सेन्चुरी, पाल्पा।

प्रतिक्रिया दिनुहोस्