लागूऔषधसहित दुई पक्राउ



नेपाल समाचारपत्र, धादिङ
२५ किलोग्राम प्रतिबन्धित लागूऔषध चरेससहित प्रहरीले दुईजनालाई मलेखुबाट पक्राउ गरेको छ। बेनीघाट रोराङ गाउँपालिका–३ मलेखुमा प्रहरीले चेकजाँच गर्दा मोटरसाइकलमा जेब्राझोलाभित्र हाली ल्याएको अवस्थामा चरेससहित दुईजना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका–३ का २८ वर्षीय सन्चबहादुर तामाङ र ४१ वर्षीय मानवीर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानाकारी दिनुभयो। लागूऔषध चरेस बोक्न प्रयोग भएको बा४८प ९२२५ नम्बरको मोटरसाइकल पनि प्रहरीले जिल्ला अदालतमा पेस गरको छ। यसैगरी, प्रहरीले फरार प्रतिवादी खोजतलासअन्तर्गत लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। सिद्धलेक गाउँपालिका–४ का ५० वर्षीय शिवप्रसाद अर्याललाई बुङचुङबाट पक्राउ गरेको हो। जिल्ला अदालतले २०७० पुस २३ गतेको फैसलाबमोजिम अर्याललाई लागूऔषध चरेस मुद्दामा २ वर्ष ६ महिना कैद र २० हजार जरिवाना गर्ने फैसला गरेको थियो। सोही फैसलाको आधारमा पक्राउ परेका अर्याललाई जिल्ला अदालतको आदेशबमोजिम जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्