दुई नाका बन्द



गोरखा, (नेस)
चीनको उहान शहरबाट विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट सतर्क रहन चीनसँग जोडिएका गोरखाका दुई नाका पनि बन्द गर्न निर्देशन दिइएको छ।
चुमनुब्री गाउँपालिका–१ स्थित रुइला नाका र चुमनुब्री–७ को ङुइला नाकामा आवत–जावत गर्न निषेध गर्न सम्बन्धित क्षेत्रका प्रहरी इकाइलाई जिल्ला प्रशासन कार्यालय गोरखाले निर्देशन दिएको हो।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार ती नाका नियमित नखुल्ने भए पनि त्यहाँका मानिस आउ–जाउ गरिरहने भएकाले बन्द गर्न निर्देशन दिइएको हो।
‘गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरी रुइला र ङुइला नाकाबाट मान्छे र याकचौरी, झोपा, घोडा, खच्चडलगायतका पशुचौपाया आवत–जावत गर्न निषेध गर्न प्रहरी चौकीहरूलाई पत्राचार गरी निर्देशन दिएका छौं’, प्रजिअ पौडेलले भन्नुभयो– ‘दुवै नाका वैधानिक नाका त होइनन्, तर यदाकदा आवत–जावत हुने हुनाले हामीले हाम्रै संयन्त्र प्रयोग गरी बन्द गरेका हौं।’ रुइला नाका तिब्बती अधिकारीको निर्णयमा वर्षमा एकपटक मात्र खुल्ने गर्छ भने ङुइला नाका बाह्रैमहिना खुला रहन्छ। यी नाकाबाट उत्तरी गोरखाका बासिन्दाले खाद्यान्न ल्याउने गर्छन्। नाका क्षेत्रमा अहिले बाक्लो हिउँ जमेकाले आउ–जाउ नभएको छेकम्पारका वडाध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्