नम्बर नदेखिने सवारीमाथि कारबाही शुरू



नेपाल समाचारपत्र, काठमाडौं
महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको केरमेट भएको, खुइलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटरसेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई विशेष अभियानमार्फत कारबाही थालेको छ।
राख्नुपर्ने नम्बर प्लेट नराखेको र स्पष्ट नभएको १ सय ७० वटा सवारी र मोटरगार्ड राखी नम्बर प्लेट ढाकिएका २६ सवारीलाई कारबाही गरेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिनुभयो।
ट्राफिक नियम उल्लंघन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने, आपराधिक क्रियाकलापमा संलग्न हुनेजस्ता क्रियाकलापहरूलाई रोक्न नै उक्त अभियान थालिएको महाशाखाका प्रमुख ढकालले बताउनुभयो।
ती सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा नम्बर प्लेट नराखी चलाएमा ट्राफिक प्रहरीले तत्काल ५ सयदेखि १ हजार ५ सय रुपियाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको कुरा महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्