एकल बिन्दु सेवा केन्द्र प्रभावकारी भएको दाबी



डीबी बुढाथोकी, काठमाडौं
उद्योगी, व्यवसायी तथा लगानीकर्तालाई आवश्यक सेवा एकै स्थानबाट प्रदान गर्न स्थापित एकल विन्दु सेवा केन्द्र प्रभावकारी भएको अधिकारीहरूले दाबी गरेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल समाचारपत्रसँग कुराकानी गर्दै एकल विन्दु सेवा केन्द्रका सूचना अधिकारी विनोदबहादुर खड्काले यस्तो जिकिर गर्नुभएको हो।
‘कागजात नपुगेको अवस्थामा हामी भन्न सक्दैनांै। कागजात पूरा भएको अवस्थामा बढीमा एक्जिम कोड २० मिनेटभित्रै, विदेशी लगानी अनुमति १५ दिनभित्रै, उद्योग दर्ता १५ दिनभित्रै, भिसा सेवा ७ दिनभित्रै उपलब्ध गराउँछौं’, खड्काले भन्नुभयो– ‘लगानीकर्ताले विदेशी विनिमय सटही सुविधा, अध्यागमन सुविधा, कर चुक्ता, स्थायी लेखा नम्बर प्राप्ति, जग्गा प्राप्ति, वातावरणीय प्रभाव मूल्यांकनलगायतका सेवा एकै थलोबाट प्राप्त गर्न सक्छन्। ठाउँठाउँमा भौंतारित पर्दैन।’
उद्योगी व्यवसायीको उद्योग दर्ता, नवीकरण, खारेजीलगायतका ९५ प्रतिशत काम एकल विन्दु सेवा केन्द्रमार्फत उपलब्ध हुने उहाँले बताउनुभयो। हदबन्दीभन्दा बढी जग्गा सिफारिस मात्र गर्न सक्ने हुँदा निर्णय गर्न सक्ने अधिकार हुनुपर्ने, १ लाख डलरभन्दा बढीको लगानी स्वीकृतका नेपाल राष्ट्र बैंकले मात्र दिन सक्ने हुँदा त्यो अनुमति सेवा केन्द्रवाटै उपलब्ध हुनुपर्ने उहाँको धारणा छ।
त्यस्तै, सेवाग्राहीले कागजात पूरा गरेर मात्र सेवा लिन आउनुपर्ने र स्वयं सचेत हुनुपर्ने उहाँ बताउनुहुन्छ।
एकल विन्दु सेवा केन्द्रमार्फत के कति मात्रामा सेवा उपलब्ध हुन सकेको छ भन्ने नेपाल समाचारपत्रको सवालमा उहाँले एक वर्षमा ३ सय ४३ उद्योगमा वैदेशिक लगानी भित्रिएको र ४ सय ३६ वटा उद्योग दर्ता भएको बताउनुभयो। दर्ता, खारेजी, नवीकरणलगायतका सेवा दैनिक २०÷२५ वटा फर्मलाई उपलब्ध गराइरहेको उहाँको भनाइ छ। ६ अर्बसम्मको लगानी उद्योग विभागले र सो भन्दा बढीको लगानी बोर्डले हेर्ने हुँदा ठूला लगानीको चाप भने एकल विन्दु सेवा केन्द्रले व्यहोर्नु पर्दैन।
तर, उहाँले भनेजस्तो एकल विन्दु सेवा केन्द्रबाट प्रवाह हुने गरेको सेवाबाट कतिपय सेवाग्राही सन्तुष्ट देखिएका छैनन्। पोखराका व्यवसायी दिव्यकुमार बरालले भवन चिटिक्क भए कर्मचारीको मानसिकता परिवर्तन नभएको बताउनुभयो।
फाइल उपसचिव स्तरको कर्मचारीले रिस्पोन्स नै गर्न नचाहने, सिस्टममा पैसा नआएसम्म कर्मचारीले काम नगर्ने हुनाले कार्यालयबाट सजिलै काम फत्ते हुन सकेको छैन। कानुन व्यवसायी वा यस्तै सेवा प्रदान गर्ने फर्मको सहारा लिन व्यवसायी विवश छन्।
‘कर्मचारीले सेटिङ मिलाएर हिस्सा लिन्छन्। म एउटकै कामका लागि दोस्रोचोटि आएको हुँ। अहिले चिनेको मान्छे भेटेको छु। सबै ठाउँमा भनसुन चल्छ। सायद अब मेरो काम होला’ उहाँले एकल विन्दु सेवा केन्द्रका कर्मचारीको उदासीन व्यहारप्रति तितो पोख्नुभयो।
उद्योगी व्यवसायीलाई आवश्यक सम्पूर्ण सेवा एकै थलोबाट उपलब्ध गराउने सरकारको नीतिबमोजिम २०७६ जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्रले सेवा प्रदान गर्दै आएको हो। त्रिपुरेश्वरस्थित उक्त सेवा केन्द्रबाट कम्पनी  रजिस्ट्रर्र्ड, जग्गा प्राप्ति, विदेशी विनिमय, पूर्वाधार विकास, भिसा, अध्यागमन, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण, भन्सार तथा राजस्व, वातावरणीय प्रभाव मूल्यांकन र श्रम तथा वातावरणजन्य सुरक्षालगायतका सेवाहरू उपलब्ध हुन्छन्।

प्रतिक्रिया दिनुहोस्