पाँच देशका लागि अनअराइभल भिसा बन्द, श्रम स्वीकृति पनि स्थगित



सुनील महर्जन, काठमाडौं ।

वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति हाललाई स्थगित गरिएको छ।

सरकारले अत्यावश्यक काममा बाहेक विदेश नजान आग्रह गरेको सन्दर्भमा सो निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। ठूलो संख्यामा नेपाली रोजगारीका लागि मध्यपूर्वका मुलुक जाने गरेका छन्।

चीनको उहानबाट फैलिएको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको भन्दै आइतबार मात्र ३० नेपालीलाई बहराइनले अध्यागमनबाट प्रवेशमा रोक लगाएको थियो। यस सन्दर्भमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कामका लागि होस् या अध्ययनका लागि नजान सार्वजनिक आह्वान गर्नुभएको थियो।

सरकारले दक्षिण कोरियामा ईपीएस प्रणालीबाट कामदार तत्काल नपठाउने निर्णय गरेको थियो। यसअघि अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई एनओसी (नो अब्जेक्सन लेटर) दिन रोक लगाइएको थियो।

अत्यावश्यकबाहेक अन्य कामका लागि विदेश नजान सरकारले आग्रह गरिसकेको अवस्थामा सो संक्रमण जोखिम रहेका मुलुकमा नेपाली कामदार नपठाउन लागिएको सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जानकारी दिनुभयो।

दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, बहराइन र ओमानमा पनि कोरोना संक्रमित फेला परिसकेका जानकारी परराष्ट्र मन्त्रालयलाई प्राप्त भइसकेको छ।

कोरियामा झन्डै ४० हजार हाराहारीमा नेपाली विभिन्न काम तथा पेसामा संलग्न छन्। सोलस्थित नेपाली दूतावासले समेत भाइरसको संक्रमण तीव्र गतिमा फैलन थालेपछि कोरियामा रहेका नेपालीलाई सचेत हुन सूचना जारी गरिसकेको छ।

दुई साताअघि नै कोरियामा कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपालबाट जाने श्रमिकलाई तत्कालका लागि प्रवेशमा रोक लगाइएको थियो। तथापि नेपाल सरकारले हवाई टिकट नभएका कारण रोकिएको बताउँदै आएको थियो। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा निर्णय भएअनुरूप सरकारले श्रम स्वीकृति स्थगित गरेको हो।

त्यस्तै, मध्यपूर्वी मुलुकमा पनि झन्डै १० लाख नेपाली कार्यरत रहेका सरकारको तथ्यांक रहेको छ।
अमेरिका, बेलायत, क्यानडा सरकारले जारी गरेको नेपालबारे ट्राभल एड्भाइजरीमा चीनको छिमेकी मुलुक नेपाल भएका कारण कोरोना संक्रमणका सम्बन्धमा सचेत हुन आग्रह गरेको छ।

त्यसैगरी, शुक्रबारदेखि लागू हुने गरी पाँच देशका लागि अनअराइभल भिसा बन्द गर्ने निर्णय पनि गरिसकेको मन्त्री ज्ञवालीले बताउनुभयो। दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकलाई अनअराइभल भिसा बन्द गरिएको हो।

प्रतिक्रिया दिनुहोस्