विराटनगरका औषधि पसलमा छापा, भेटिए म्याद नाघेका औषधि



सरोज यादव, (नेस)

औषधि व्यवस्था विभाग विराटनगरले छापा मारेको छ । विराटनगर–९ न्युरो हस्पिटल अगाडि विकास मण्डलले सञ्चालन गरेको ‘हाम्रो फ्रेन्डसिप फार्मेसी’ ले म्याद सकिएको औषधि बिक्री गरिरहेको भेटिएको हो ।

औषधि व्यवस्था विभाग विराटनगरले आइतबार गरेको अनुगमनको क्रममा फ्रेन्डसिप फार्मेसीबाट १५ प्रकारको म्याद सकिएको औषधि बरामद गरेको छ । विभागका फार्मेसी अधिृकत चतुर्भुजप्रसाद यादव नेतृत्वको टोलीले फार्मेसीबाट १ सय ३९ सेट म्याद सकिएको औषधि बरामद गरेको हो ।

नेपाल औषधि व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख दीपेन्द्र खड्काका अनुसार विराटनगरको केही औषधि विक्रेताले म्याद सकिएको औषधि बिक्री गरिरहेको उजुरी आएपछि अनुगमन भएको थियो । अनुगमनको क्रममा मिति सकिएको औषधीको लेबल मेटाएर बिक्री गरेको पाइएको अनुगमन टोलीले जनाएको छ । फार्मेसी अधिकृतको नेतृत्वमा गएको टोलीले विराटनगरको दुईवटा फार्मेसीमा अनुगमन गरेको थियो ।

प्रयोगको म्याद सकिएको औषधिमा लेबल लगाएर नयाँ मिति जारी गरि औषधि बिक्री गर्ने उद्देश्यले फार्मेसीमा राखिएको पाइएको छ । ‘बरामद औषधि ल्याएर हामीले अनुसन्धान सुरू गरेका छौं’, विभागका निमित्त कार्यालय प्रमुख खड्काले भन्नुभयोे– ‘फार्मेसी सञ्चालकलाई विभागको कार्यालयमा ल्याएर बयान शुरू गरिएको छ ।’ फार्मेसी सञ्चालक विकास मण्डलले भने म्याद सकिएको औषधि नष्ट गर्ने उद्देश्यले नै राखिएको दाबी गर्नुभएको छ । म्याद सकिएको औषधी संकलन गरि नष्ट गर्न राखेको बेला अनुगमन टोलीले बरामद गरेको हो ।

विराटनगर–९ स्थित आँगन फार्मेसीमा प्राविधिक नराखी औषधि बिक्री गरेको पाइएपछि अनुगमन टोलीले सञ्चालकलाई पक्राउ गरेको छ । फार्मेसीका सञ्चालक जयकुमार पुलामी मगरलाई औषधि व्यवस्था विभाग विराटनगरले आइतबार पक्राउ गरेको हो । विभागमा औषधि पसल दर्ता भए पनि प्राविधिक नराखी औषधी बिक्रीवितरण हुने गरेको पाइएपछि सञ्चालकलाई नियन्त्रणमा लिएको नेपाल औषधि व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख दीपेन्द्र खड्काले जानकारी दिनुभयो ।

फार्मेसी सञ्चालन गर्न औषधि सल्लाकार समितिबाट ३ महिनाको ‘ओरेनटेसन’ तालिम लिएको वा फार्मेसीमा ३ वर्षे डिप्लोमा गरेको प्राविधिक हुनेपर्ने व्यवस्था रहेको छ । आँगन फार्मेसीले प्राविधिक नराखी औषधी पसल सञ्चालन गरेको पाइएपछि फार्मेसीमा तालाबन्दी गरी सञ्चालकलाई नियन्त्रणमा लिएको विभागले जनाएको छ । मगरलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको छ । पक्राउ परेका खड्का र म्याद सकिएको औषधि बरामद भएको फार्मेसी सञ्चालकको बयान लिएपछि औषधि ऐन २०३५ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्