कारवाओ कपमाथि सिटीको ह्याट्रिक



लन्डन, (एजेन्सी) ।
म्यानचेस्टर सिटी लगातार तेस्रोपटक कारवाओ कप च्याम्पियन बनेर उपाधिमाथि ह्याट्रिक गरेको छ ।
आइतबार राति भएको खेलमा इंग्लिस प्रिमियर लिग प्रतिद्धन्द्धी एस्टन भिल्लालाई २–१ गोलअन्तरले पराजित गर्दै सिटीले लगातार तेस्रो पटक कारवाओ कपको उपाधि जितेको हो । सिटी यसअघिको दुई संस्करणमा पनि च्याम्पियन बनेको थियो । सिटी २०१७ को सिजनदेखि लगातार च्याम्पियन बनिरहेको छ । समग्रमा सिटीको यो सातौ कारवाओ कप उपाधि हो ।
वेम्वली स्टेडियममा भएके उक्त खेलमा सिटीलाई जित दिलाउन सर्जियो अगुइरो र रोड्रीले गोल गरे । एस्टन भिल्लाकातर्फबाट भने समताले गोल फर्काएका थिए । खेलमा भएका सबै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको २०औं मिनेटमा अगुइरोको गोलबाट सिटीले खेलमा अग्रता लिएको थियो । उनले फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए । ३०औं मिनेटमा इकेए गुन्डोगानको पासमा रोड्रीले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
खेलको ४१औं मिनेटमा समताले गोल गर्दै एस्टन भिल्लालाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि सिटीलाई च्याम्पियन बन्न पर्याप्त बन्यो ।

प्रतिक्रिया दिनुहोस्