हुण्डी कारोबारीसँग रकम लिएको आरोपमा प्रहरी कारवाहीमा



कृष्णउदास खनाल,वीरगन्ज

जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरीलाई कारवाही गरेको छ । हुण्डी कारोबारीसँग ७ लाख रुपैयाँ घुस लिएर भरियालाई छोडेको आरोपमा तीन जना प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी चौकी इनर्वाका इन्चार्ज प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङ, प्रहरी हवल्दार विष्णुदयाल चौधरी र प्रहरी जवान राजकुमार गुरुङ कारबाहीमा परेका हुन् ।

घुस लिएको ६ लाख ३५ हजार रकमसहित उनीहरुलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाएको छ ।प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले घुस रकम लिएको पुष्टि भएपछि थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा बुझाइसकिएको प्रहरीको भनाइ छ ।

फागुन १४ गते नियन्त्रणमा लिएर उनीहरुमाथि अनुसन्धान सुरु गरेको पर्साका प्रहरी नायव उपरीक्षक विरेन्द्र शाहीले जानकारी दिनुभयो ।
हुण्डी कारोबारीसँग पैसा लिएर भरियालाई छाडेको पाइएपछि उनीहरुलाई कारबाहीका लागि अख्तियारको जिम्मा लगाइएको शाहीले बताउनुभयो ।

स्रोतका अनुसार असई तामाङ नेतृत्वको टोलीले फागुन ८ गते दिउँसो मुसहर्वाबाट २० लाख नेपाली रुपैयाँ हुण्डीको रकमसहित १ जना भरियालाई पक्राउ गरेको थियो । पक्राउ पर्ने व्यक्ति भारत रक्सौलका हुण्डी कारोबारी फुल हसनका भरिया थिए । प्रहरीले भरियालाई नियन्त्रणमा लिएपछि मिडियटरमार्फत मुख्य कारोबारी हसनसँग घुस रकमका लागि बार्गे्निङ भएको थियो ।

त्यसपछि असई तामाङ नेतृत्वको टोलीले ७ लाख रुपैयाँ लिएर भरियालाई छोडिदिएका थिए । यो गतिविधिमा लागूऔषध अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी जवान अवधेशकुमार यादव पनि संलग्न थिए । तर पछि अवधेश प्रतिवेदकको रुपमा अघि सरेपछि उनीहरु तीनै जना कारबाहीमा परेका हुन् । भागवण्डामा हात परेको १ लाख २५ हजार रुपैयाँ बुझाउँदै यादव प्रतिवेदक बनेका छन् ।

‘उनीहरुले भरियालाई छोडेबापत ७ लाख रुपैयाँ लिएका रहेछन्, ४ लाख असई तामाङले, १ लाख ७५ हजार हवल्दार चौधरी र १ लाख २५ हजार प्रतिवेदक यादवले बुझेका रहेछन्’ डीएसपी शाहीले भन्नुभयो, ‘तामाङको साथबाट ४ लाख, हवल्दार चोधरीले ६५ हजार अरुलाई नै दिइसकेका कारण १ लाख १० हजार बरामद भएको छ र यादवले बुझाएको १ लाख २५ हजार गरी ६ लाख ३५ हजारसहित उनीहरुलाई कारबाहीका लागि अख्तियारको जिम्मा लगाएका छौं ।’

प्रतिक्रिया दिनुहोस्