मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना



भगवती तिमिल्सिना,काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । उहाँको १२ बर्ष अघि प्रत्यारोपण गरिएको मृगौलाले काम नगरेका कारण केही महिना देखि डायलासिस गर्दै आउनुभएको र चिकित्सकको सल्लाह अनुसार दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुभएको हो ।

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा भिडियो सन्देश मार्फत जनताका सपनालाई बीचमै अलप पारेर आफू अलप नहुने बताउँनुभएको छ । उहाँले आफ्नो स्वास्थ्यबारे ढुक्क हुन जनतालाई अपिल समेत गर्नुभएको छ । उहाँले भन्नुभयो—उपचारपछि थप ऊर्जा र आत्मविश्वासका साथ अस्पतालबाट फर्किने विश्वास लिएकोछु । उहाँले आफ्नो आत्मविश्वास अजम्बरी हुनका लागि नभई जनतामा जागृत सपना साकार पार्नका लागि हो ।

प्रधानमन्त्री ओलीको पहिलो पटक भारत स्थित अपोलो अस्पतालमा २०६४ साल साउन महिनामा मृगौला प्रत्यारोपण गरिएको थियो । त्यतिबेला नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा भर्खरै शुरु हुँदै गरेको अवस्था थियो । उहाँले आत्मविश्वासका साथ भन्नुभयो यतिबेला नेपालमै स्वास्थ्यकर्मी र सरकारी अस्पतालनै मृगौला प्रत्यारोपणका लागि सक्षम भैसकेकाले आफ्नै देशमा मृगौला प्रत्यारोपण गराउन पाउँदा खुसी लागेको कुरा भिडियो मार्फत सार्वजनिक गर्नुभएको छ ।

उहाँले सार्वजनिक गरिएको भिडियोमा भनिएको छ—विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मिर्गौला प्रत्यारोपण अहिले पहिलेजस्तो जटिल मानिन्न । त्यसैले पनि तुलनात्मक रूपमा सजिलो हुने विश्वास गरेकोछु ।प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएको त्रिवि शिक्षण अस्पतालका मृगौला प्रत्यारोपण युनिटका चिकित्सकले जनाएका छन् ।

मृगौला दाता भने २२ बर्षकी उहाँकै भान्जी समीक्षा संग्रौला ज्ञवाली रहेको र साँझ ५ बजेको समयमा ज्ञवाली र उनको साथी अस्पताल पुगी अस्पतालले व्यवस्था गरेको कोठमा बसीरहेको अस्पताल स्रोतले जनाएको छ । उनको क्रस म्याचिङ मिलेको प्रत्यारोपणका लागि सम्पूर्ण तयारी भएको अस्पतालले जनाएको छ ।

अस्पताल कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाका अनुसार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको नेतृत्व नेपाली टोलीले नै गर्दैछन् । चिकित्सक टोलीमा उहाँका नीजि चिकित्सक तथा नेफ्रोलोजिष्ट डा दिव्या सिंह शाह, डा उत्तम शर्मा, डा प्रेम ज्ञवाली, डा पवनराज चालिसे, डा सुवाश आचार्य हुनुहुन्छ भने २ जना एनेस्थेसियाका चिकित्सक र नर्स, स्वास्थ्यकर्मीहरुको टोली प्रधानमन्त्रीको उपचारमा खटिएका छन् । साथमा पहिलोपटक प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको नेतृत्व लिएका एपोलो अस्पतालका भारतीय चिकित्सक प्रा.डा. अनन्तकुमारका साथ थप स्वास्थ्यकर्मी पनि नेपाल आएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्