गुठी विधेयकका सवालमा आन्दोलन होइन राज्य समक्ष स्पष्ट कुरा राख्न मेयर शाक्यको आग्रह



न्युज अफ नेपाल,काठमाडौँ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गुठी विधेयकका सवालमा आन्दोलन गरेर भन्दा पनि आफ्ना कुरा स्पष्टसँग राज्य समक्ष राखेर माग पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रत्येक वर्ष इन्द्रजात्राका बेला निकालिने दीप्याखं (देवीनाच) को आगंछेँ (आगमघर) शिलान्यास गर्नुहुँदै आज उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले गुठीलाई कसरी बलियो गर्न सकिन्छ त्यसबारे सरोकारवाला समुदायको अवधारणा ल्याउन प्रधानमन्त्री र भूमिसुधार मन्त्रीले पटक–पटक आफूलाई अनुरोध गरेको स्मरण गराउँदै प्रमुख शाक्यले ठोस अवधारणा तयार गर्न नसक्दा समस्या भएको बताउनुभयो ।

‘स्थानीय निकायमा जनप्रतिनिधिहरू आइसके पछि नगरको पहिचान बनिसकेका गुठी–गाना, कला, संस्कृतिहरू संरक्षणका लागि अब कसैले पनि आन्दोलन गर्नु पर्दैन,’ उहाँले भन्नुभयो, ‘सिधै वडा कार्यालय र महानगरपालिका मार्फत कार्य गर्न सकिन्छ ।

काठमाडौं महानगरपालिकाले अहिले नगरको ३२ वटै वडाका सांस्कृतिक सम्पदाहरू बनाइरहेको छ, कहीं छुटेको छ भने खबर गर्नोस्, हामी तुरुन्तै बनाइहाल्छौँ ।’ प्रमुख शाक्यले काठमाडौँ महानगरपालिका अहिले मुर्त–अमुर्त सम्पदा संरक्षणका लागि लागि रहेको भन्दै सम्पदा संरक्षणका लागि महानगर सहयोग गर्न तयार रहेको प्रष्ट पार्नुभयो ।

तर, महानगरपालिकाले सहयोग गर्छु भन्दा पनि महानगरपालिकाको सहयोग लिनु हुँदैन भनेर केहीले हल्ला गर्ने गरेको र त्यसका पछि पछि नलाग्न पनि आग्रह गर्नुभयो । ‘म यहि ठाउँमा जन्मि, हुर्किएको नागरिक हुँ, यहाँको सम्पदाका बारेमा म राम्रो जानकार छु,’ उहाँले भन्नुभयो, ‘मेरो कार्यकालमैै यहाँका मन्दिर, चैत्य, वहा, बही, आगंछेँ निर्माण–पुर्ननिर्माण सक्ने गरी लागि परेको छु ।’

उहाँले अहिले निर्माण आरम्भ गरिएको दीप्याखंको आगमघर पनि समयमै निर्माण सम्पन्न गर्न अनुरोध गर्दै उहाँले भन्नुभयो, ‘काम छिटो सकाए यसको लागि छुट्याइएको अर्को बजेट निकासा गर्न पनि सहयोग पुग्छ । सम्पदाका लागि छ्ट्याइएको कतिपय बजेट लिन नआएर हामीलाई हैरानी छ ।’ उहाँले स्थानीय जनतासँग सबै भन्दा नजिकको सम्वन्ध रहने भनेको स्थानीय सरकारसँगै हो भन्दै स्थानीय जनताका काम गर्न आफू निरन्तर लागिरहने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मेयर शाक्यले काठमाडौँका विभिन्न नाच मध्ये देवी नाच पनि एक महत्वपूर्ण र ऐतिहासिक नाच भएको भन्दै यो नाचलाई दैत्य र कुमारी बीचको युद्ध जसलाई युद्ध नाच पनि भनिने गरेको बताउनुभयो । यो नाच मुख्य गरेर इन्द्रजात्रा पर्वका वेलामा निकालिन्छ । करीब सात करोडको लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो आगमघरलाई काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७६–०७७ मा १ करोड बजेट विनियोजन गरेको छ । मेयर शाक्यले बजेट अभावमा काम नरोक्न पनि आग्रह गर्नुभयो ।

पाँच तलाको सो आगमघरलाई संग्रहालयका रुपमा समेत विकास गर्ने योजना देवी नाच ९दी प्याखं० प्रवद्र्धन तथा संरक्षण समितिको रहेको छ । ‘देवी नाचका धेरै सामग्री अहिले पोको पारेर राख्नु परेको छ,’ आगमघरको डिजाइन तयार पार्नुहुने शहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजन इञ्जिनियर मचाकाजी महर्जनले भन्नुभयो, ‘यो आगमघरमा आउने हरेक मानिसलाई यहाँको संस्कृति र परम्पराका बारेमा जानकारी दिने गरी संग्रहालय समेत बनाउने हिसावको डिजाइन तयार पारेका छौँ ।’

कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि परापूर्वकालदेखि ऐतिहासिक देवीनाचका नाममा नाचहरु मञ्चन गर्दै आएको किलागल टोलमा आगमघर बन्नु खुशीको कुरा भएको बताउनुभयो । उहाँले काठमाडौँ महानगरपालिका सम्पदा संरक्षणको अभियानमा जुटेको छ भन्ने प्रमाण एउटा यो पनि भएको स्मरण समेत गराउनुभयो ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौंको सम्पूर्ण वैभवशाली संस्कृति र जात्रापर्वहरू प्रदर्शन गर्ने अवसर भएकोले हाम्रो लागि इन्द्रजात्रा दशैँ भन्दा पनि ठूलो पर्व रहेको बताउनुभयो । ‘स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिहरू आइसके पछि सम्पदा संरक्षणका काम धेरै भएका छन्,’ उहाँले भन्नुभयो, ‘यो पनि एउटा त्यसैको उदाहरण हो ।’

कार्यक्रममा वडा नम्बर–१८ का अध्यक्ष न्हुछेकाजी महर्जनले पनि काठमाडौँ महानगरपालिका मूर्त–अमूर्त सम्पदा संरक्षणमा लागेको बताउनुभयो । संरक्षण समितिका अध्यक्ष इन्द्र महर्जनले पनि समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्