खिजिदेम्बा अल्ट्रा म्याराथनको उपाधि भिमबहादुर र रोजिनालाई



लिला सुनुवार,ओखलढुंगा ।

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा आयोजित ‘खिजिदेम्बा अल्ट्रा म्याराथन’ दोश्रो संस्करणको उपाधि भिमबहादुर गुरुङ र रोजिना भण्डारीले जितेका छन् ।

खिजिदेम्बा गाउँपालिका ५ को खिजिफलाँटेबाट शुरु भएको म्याराथन सोलुखुम्बुको सिमानामा पर्ने भुलभुले पुगेर पुनः खिजिफलाँटेमै पुगेर टुंगिएको हो । फुल म्याराथन अन्तर्गत ४२ किलोमिटर दुरी पूरुष विधा तर्फ गोरखा आरुघाटका ३७ वर्षिय भिमबहादुर गुरुङले तीन घण्ट ४९ मिनेटमा पुरा गरे ।

यसैगरि महिला विधामा जुम्लाकी रोजिना भण्डारीले चार घण्टा ५८ मिनेटमा दौड पुरा गर्दै विजेता बनेकी हुन् । रोजिना नेपाली सेनाकी धाविका हुन् । पूर्व नेपाली सेनाका भिमबहादुर साविक विजेता हुन् । यसैगरि पुरुष विधा तर्फ गोपाल तामाङले ४ घण्टा तीन मिनेटमा निर्धारित दुरी पार गर्दै दोश्रो भए । दुर्गा बुढाले चार घण्टा पाँच मिनेटमा निर्धारित दुरी पार गर्दै तेश्रो भए ।

महिला तर्फ साविक विजेता हुमी बुढामगरले पाँच घण्टा १८ मिनेटमा दौड पुरा गर्दै दोश्रो भइन् । स्थानीय धाविका सविना तामाङले पाँच घण्टा ३२ मिनेटमा दौड पुरा गर्दै तेश्रो भइन् । म्याराथनमा पुरुष २४ र महिला १२ गरि जम्मा ३५ जना सहभागी थिए ।

साहसिक खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन विकासका लागि ओखलढुंगा पर्यटन विकास समितिले गतवर्षदेखि म्याराथन आयोजना गर्दै आएको हो । विजेताहरुले विधागत रुपमा क्रमशः ७० हजार, ५५ हजार, ४० हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्राप्त गरे ।

समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाईबाट दौड शुरु भई तीन हजार छ सय मीटर पार गर्दै पुनः दुई हजार दुई समय मिटरमै आएर दौड टुंगिएको हो । विजेताहरुलाई संघीय सांसद यज्ञराज सुनुवार र संविधान सभा सदस्य रामहरि खतिवडाले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया दिनुहोस्