केभहिलबाट १६ हिमाल र ३६ वटा गाउँको अवलोकन !



प्रताप बानियाँ, म्याग्दी ।

एकै ठाउँबाट १६ ओटा हिमाल र ३६ गाउँहरु देख्न सकिन्छ भन्दा जो कसैलाई पनि अचम्म लाग्न सक्छ । तर, अचम्म मान्नुपर्दैन साँच्चिकै त्यो ठाउँमा पुगेर चारैतिर आँखाको नजर घुमाउँदा आँखै अगाडि हिमाल र गाउँहरु देखिन्छन् । एकै नजरमा सररर हिमाल र गाउँको अवलोकन गर्न सकिन्छ ।

यस्तो ठाउँ म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजनेको गुफाको डाँडो अर्थात् केभहिल हो । बेनीको सिरमा पर्ने केभहिलको डिलबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरी हिमालसहित अन्नपूर्ण, माछापुच्छे«, निलगिरी, मानापाथी, गणेश, गूर्जा, पुथा, सितालगायत हिमालहरु देखिन्छन् । धौलागिरी हिमालमा मात्रै विभिन्न ६ ओटा चुचुराहरु रहेका छन्भने अन्नपूर्णमा उत्तर, दक्षिणसहित ४ वटा चुचुरा पर्दछन् ।

यसैगरी केभहिलबाट म्याग्दी जिल्लाको साविक ४१ मध्ये ३६ ओटा गाविसहरु नाङ्गो आँखाले अवलोकन गर्न सकिन्छ । समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा अवस्थित केभहिलको डिलबाट धौलागिरी र अन्नपूर्ण रेञ्जका सबै हिमश्रृङखलाहरु देखिनुका साथै म्याग्दीको अधिकांश भू–भागसहित छिमेकी जिल्ला पर्वत, बागलुङ तथा अर्घाखाँची र गुल्मीका डाँडाकाँडाहरु समेत देखिन्छन् । मनोरम हिमश्रृङ्खलाका साथै मानव वस्तीको प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिने यस डाँडाले पर्यटनको उच्च सम्भावना बोकेको छ ।

पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाइमा प्रसिद्ध जगन्नाथ मन्दिर र गुफाको डाँडो पर्न थालेको छ । गाजनेमा अवस्थित ऐतिहासिक महत्व बोकेको जगन्नाथ मन्दिर तथा गुफाको डाँडो पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै जान थालेको हो । जगन्नाथ मन्दिर र गुफाको डाँडाको प्रचारप्रसारका साथै मन्दिर दर्शन तथा डाँडोबाट मनोरम दृश्यावलोकन गर्न पाइने हुँदा त्यहाँ पुग्ने आन्तरिक एवं बाह्य पर्यटकहरुको सङ्ख्या बढ्दै गएको हो । पुलाचौरको विभिन्न ठाउँमा आयोजना गरिने कार्यक्रमको अवसर पारेर पनि मानिसहरु जगन्नाथ मन्दिरको दर्शन गर्न र गुफाको डाँडामा पुगेर रमाउन पुग्छन् ।

शाकाहारी भोजनका लागि उपयुक्त गाउँ मानिने गाजनेको सुन्दरता, स्थानीयको रहनसहन, विभिन्न स्थानको अवलोकनका लागि जगन्नाथ मन्दिर प्रसिद्ध मानिन्छ । जगन्नाथ मन्दिरकै कारणले गर्दा गाजने गाउँमा अवैध घरेलु मदिरा उत्पादन र घरपालुवा तथा व्यावसायिक कुखुरापालन हुँदैन । विगतमा स्थानीयले कुखुरापालन गर्ने क्रममा पालिएका सबै कुखुरा मरेको र मदिरा बनाउनेलाई पनि राम्रो नभएपछि अहिले दुवैथरी उत्पादन बन्द भएको स्थानीयवासी बताउँछन् ।

जगन्नाथ मन्दिर दर्शन र पुजा गर्न जानेहरुमध्ये अधिकांश गुफाको डाँडोमा पुगेरै छाड्छन् । जगन्नाथ, गाजने र केभहिलको विकासका लागि केभहिलको डिलमा भ्यु–टावर निर्माणकार्य अगाडि बढाइएको छ । बेनी नगरपालिकाको तर्फदेखि धार्मिक तथा पर्यटकीय क्षेत्र गाजने र केभहिलको विकास एवं प्रवद्र्धन गर्न जोड दिइएको उपप्रमुख सन्जु बरुवालले बताउनुभयो । गाजनेमा पर्यटन प्रवद्र्धन गर्न आवश्यक पहल थालिएको स्थानीय निलकण्ठ शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्