वडाध्यक्ष र व्यवस्थापन समितिको द्वन्द्वले विद्यालय भद्रगोल



रामधन राई, खोटाङ । 
वडाध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्षबीच नै द्वन्द्व चर्किएपछि पठनपाठनमा प्रत्यक्ष प्रभाव परेको छ । वडाध्यक्ष लीला चौहान र विव्यास अध्यक्ष जयप्रकाश राईबीचको विवादका कारण स्वयं अभिभावकहरूसमेत दुई पक्षमा विभाजित बन्न पुगेपछि पठनपाठनको अवस्था बिगे्रको हो ।
हाल वडाध्यक्ष चौहान व्यवस्थापन समितिसँग असन्तुष्ट अभिभावकलाई प्रयोग गरेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राईलाई पदबाट हटाउने र आफूअनुकूलको व्यवस्थापन समिति बनाउने कसरतमा लागेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार अझै डेढ वर्ष कार्यावधि रहेको व्यवस्थापन समितिका अध्यक्ष राई पनि वडाध्यक्षसँग भिडेर आफ्नो कार्यकाल पूर्णरुपमा बिताउन प्रयासरत छन् ।
गत मंसिरमा वडा कार्यालयले व्यवस्थापन समिति खारेजीको माग गर्दै नगरपालिकामा पत्र पठाएपछि द्वन्द्वले उग्र रुप लिएको हो । वडाध्यक्षले व्यवस्थापन समिति खारेजीको माग गर्दै नगरपालिकामा पत्राचार गरेपछि पुस ७ गते नगर शिक्षा शाखाको टोली विद्यालयमा पुगेको थियो तर टोलीको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन ।
गत पुस २० गते व्यवस्थापन समितिका अध्यक्षसँग असन्तुष्ट पक्षका अभिभावकहरूले विद्यालयमा ताला लगाएका थिए । पुस २३ गते विव्यासको बैठक बसेर तालाबन्दीको विषयमा आपत्ति जनाउँदै छानबिनका लागि नगरपालिकालाई आग्रह गर्ने निर्णय गरेको व्यवस्थापन समितिका अध्यक्ष राईको भनाइ छ ।
हिउँदेबिदा शुरु भएको दिन लगाइएको तालाका विषयमा वडा कार्यालयले माघ १२ बोलाएको अभिभावक भेलापछि खुलाइएको राईले सुनाउनुभयो । सोही भेलामा विव्यासले ‘अभिभावक भेला बोलाउने, नबोलाए समिति पुर्नगठन गर्ने’ निर्णय गरिएको थियो । सोही निर्णयको आधारमा व्यवस्थापन समितिले माघ २३ गते बोलाएको बैठकमा समस्या समाधानका लागि ‘नगरपालिकाको निर्णय पर्खने वा तत्काल व्यवस्थापन समिति पुनर्गठन गर्ने’ प्रस्ताव गरिएकामा नगरपालिकाकै निर्णयअनुसार चल्ने सर्तमा बैठक टुंगिएको विव्यास अध्यक्ष राईले सुनाउनुभयो ।

विव्यास खारेजीको मागमा विरोध ¥याली
३ वर्षे कार्यकाल भएको राई नेतृत्वको व्यवस्थापन समितिको कार्य अवधि अझै ढेड वर्ष बाँकी रहँदै खारेजीको माग राखी विरोध ¥याली निकालिएको छ । २०७५ साल भदौमा तेस्रो कार्यकालका लागि अन्नपूर्ण माविको व्यवस्थापन समितिको अध्यक्षमा चुनिएका राई नेतृत्वको व्यवस्थापन समिति खारेजीको माग राख्दै ¥याली निकालिको हो ।
असन्तुष्ट अभिभावकहरुले दिक्तेलबजारको त्रिवेणीचोक हुँदै नगरपालिकाको कार्यालय अगाडि ¥याली निकालेका हुन् । एसईई परीक्षामा विद्यालयको नतिजा शून्य भएको, परीक्षामा गलत प्रश्नपत्र प्रयोग गरिएको, अभिभावक भेला नबोलाइएको, आर्थिक हिनामिना भएको लगायतका आरोप विव्यास अध्यक्षविरुद्ध लगाइएको छ । विव्यास खारेज गरी नयाँ समिति पुनर्गठनको माग गर्दै निकालिएको विरोधपछि नगरपालिकासमक्ष उल्लेखित ज्ञापनपत्र बुझाएका छन् । पत्र–पत्रमा शिक्षकको तलव बढाएर विद्यालयको आर्थिक अवस्था कमजोर बनाएको, अभिभावकको गुनासोलाई नसुनी अनिर्णयको बन्दी बनाएको, विद्यालयको आर्थिक, भौतिक र शैक्षिक गतिविधिमा ध्यान दिन नसकेको लगायतका बुँदा उल्लेख छ ।

शिक्षक नियुक्तिको विषयमा विवाद
अन्नपूर्ण माविमा गत मंसिरदेखि प्रावि दरबन्दीमा पुस २ गतेदेखि आधारभूत तहको गणित विषयको एक र मावि अनुदान कोटा रिक्त छ । बाहिर जे देखिए पनि भित्र भने नयाँ शिक्षक नियुक्तिका विषयमा वडाध्यक्ष चौहान र व्यवस्थापन समितिका अध्यक्ष राईबीचमा द्वन्द्व चर्किएको स्रोत सुनाउँछन् ।
सो रिक्त दरबन्दीमा वडाध्यक्ष चौहानले आफूले चाहेको मान्छे नियुक्ति गर्न चाहन्छ । तर, व्यवस्थापन समितिका अध्यक्ष राई सो कुरा स्वीकार गर्ने पक्षमा छैनन् । ‘अहिले जे भइरहेको छ, त्यो विद्यालय सुधारौं, विद्यालय सपारौं भन्ने होइन’, स्रोतले भने– ‘स्कुलको चिन्ता, बालबालिकाको भविष्यको चिन्ता होइन, कसरी आफूले भनेको शिक्षक नियुत्तmि गर्ने भन्नेमा उहाँहरुको चिन्ता बढी छ ।’
वडाध्यक्ष चौहान र विव्यास अध्यक्ष राईबीचको द्वन्द्वका कारक राजनीति पनि रहेको छ । चौहान तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । व्यवस्थापन समितिका अध्यक्ष राई पनि तत्कालीन एमालेकै स्थानीय नेता हुन् । वडाध्यक्ष चौहानले वडामा नेकपाको समानान्तर कमिटी बनाएपछि विरोध जनाउँदा आफूलाई विव्यासबाट हटाउने खेल शुरु गरिएको व्यवस्थापन समितिका अध्यक्ष राईले बताउनुभयो । वडाध्यक्ष चौहान भने आफूलाई जबरजस्त विवादमा मुछ्ने काम गरिएको जिकिर गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्