उपभोक्ता समितिले नै आयोजना ठेक्का दिएपछि विवाद



नेपाल समाचारपत्र, गोरखा ।
खानेपानी आयोजना निर्माणको क्रममा घोटला भएको छ । पालुङटार नगरपालिका–१ को गलबिसाउने सातदोबाटो खानेपानी आयोजना उपभोक्ता समितिको कामको लेखा परीक्षण गर्दा ६ लाख ५९ हजार बेरुजु निस्किएपछि योजना घोटाला भएको पत्ता लागेको हो ।
उपभोक्ता समितिले खानेपानी आयोजना निर्माण गर्न स्थानीय एक ठेकेदारलाई दिएपछि बेरुजु निस्केको हो । बेरुजु निस्केपछि पालुङटार नगरपालिकाले उपभोक्ता समितिलाई पत्र लेख्दै बेरुजु देखिएको सबै रकम बैंक खातामा जम्मा गर्न निर्देशनसमेत दिएको छ।
लेखापरीक्षण गर्दा ८ सय मिटर मात्रै पाइपलाइन खनेर ३ हजार ७ सय मिटर पाइपलाइन खनेको भनेर झुटा विवरण पेस गरेको पाइएको हो । २ लाख १९ हजार ५ सय ४५ रुपियाँ असुल गर्नुपर्ने लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । आरसीसी स्ल्याब नराखी कागजमा मात्र ‘राखेको’ भन्ने उल्लेख गरेकाले १० हजार ७ सय ५० र २५ मिटर जीआई पाइप प्रयोग नै नगरी प्रयोग गरेको देखाएकाले ७ हजार ८ सय ४ शोधभर्ना गर्नुपर्ने देखिएको छ । उपभोक्ता समितिले काम नगरी भुक्तानी दिएको, पाइप खरिद गरेर पनि नबिछ्याइएको लगायत गरी उक्त रकम बेरुजु निस्किएको हो । उक्त आयोजना सम्पन्न भएपछि ७० घरधुरीका स्थानीयले पानी पिउन पाउनेछन् ।

उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार श्रेष्ठले स्थानीय ठेकेदार पिटरकुमार श्रेष्ठलाई ठेक्का दिएको र उनले काम गरेको बताउनुभयो।
‘काम स्टिमेटअनुसार गुणस्तरीय भएको छैन भनेर हामीले भनेका थियौं तर उहाँले ठीक छ भन्दै जानुभयो, अहिले बेरुजु देखियो ।’ –श्रेष्ठले भन्नुभयो । बेरुजु रकम दाखिला गर्न दबाब परेपछि निर्माण व्यवसायीले पहिले बाँकी रहेको काम गर्न थालेको अध्यक्ष श्रेष्ठले बताउनुभयो।
समितिले गर्नुपर्ने काम ठेकेदारलाई जिम्मा दिएपछि समस्या भएको नगरपालिकाले जनाएको छ । वडाध्यक्ष कृष्ण परियारले समितिले ठेकेदारलाई दिँदा समस्या भएको बताउनुभयो । ‘अहिले फेरि पाइप गाड्न खाल्डो खनेर काम पूरा गर्न लागेका छन् ।’ –उहाँले भन्नुभयो ।
समितिमार्फत विकास निर्माणको काम गर्दा पहिले जम्मा गर्नुपर्ने रकम उठाउन समस्या हुने, साधन स्रोत नहुने, लगानी पहिले गर्नुपर्ने जस्ता कारणले अधिकांश काम उपभोक्ताको नाममा ठेकेदारले लिने प्रचलन धेरै चलेको छ । उपभोक्ता समिति सक्षम नदेखिएपछि १० लाखभन्दा माथिका योजना टेन्डरमार्फत गर्ने प्रक्रिया अघि बढाएको वडाध्यक्ष परियारले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्