सैद्धान्तिक विचलन



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद सतहमा आएको छ। केन्द्रदेखि स्थानीय कमिटीसम्मै शीर्ष नेतामा नेताहरूबीच देखिएको विवादमाथि बहस शुरू भएको छ। राजनीतिक पार्टीभित्र वादविवाद र बहस हुने गरेका छन्। कुनै पनि विषयमा छलफल हुनुलाई स्वभाविक रूपमा लिने गरिन्छ। तर विवाद यतिसम्म आउछ कि जुन विवादका कारण आम नागरिकको समेत चासोको विषय बन्छ। अहिले नेकपाभित्र पनि निर्वाचनमा पराजित भएका पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने कि नबनाउने भन्ने विषयले निकै चर्चा पाएको छ। पार्टीले गौतमलाई सर्वसम्मत राष्ट्रियसभाको सदस्य बनाउने निर्णय गरे पनि पार्टीको निर्णयविपरीत पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले नेकपाभित्रको विवाद छताछुल्ल भएको छ। जसका कारण आरोप प्रत्यारोप र आ–आफ्ना अडान प्रस्तुत हुँदै आएको छ।
पार्टीभित्र हुने वादविवाद, बहसको समाधान गर्नका लागि पार्टीले नीति, विधि र सिद्धान्त तय गरेको छ। पार्टीले बनाउने विधान र नियम सबैका लागि हुने गर्छ। पार्टी कमिटीले गरेको निर्णयप्रति असहमति भए फरक मत राखेर भएपनि कार्यान्वयन गर्नुपर्ने प्रावधान राजनीतिक पार्टीभित्र हुने गरेको छ। सामुहिक नेतृत्वको अभ्यास गर्दै आएको सत्तारुढ दल नेकपाभित्र पार्टी अध्यक्ष ओलीले नै सचिवालयको निर्णय नमान्ने अडानका कारण पार्टीको विधि र सिद्धान्तमाथि नै प्रश्नचिन्≈ खडा भएको छ। पार्टीभित्र निर्णय गर्नुपूर्व विवाद र बहस हुने भए पनि निर्णय भएपछि कार्यान्वयन गर्ने परिपाटी रहेको छ। नेकपाभित्र बहुमत सचिवालय सदस्य निर्णयको पक्षमा रहँदा पनि त्यसको विपक्षमा प्रधानमन्त्री उभिँदा पार्टीभित्र नै एक आपसमा अविश्वास खडा गरेको छ। सामुहिक नेतृत्वको परिपाटी अवलम्बन गरेपछि सबै निर्णय सामुहिकतामा नै हुने गर्छ। पार्टी विधि र सिद्धान्तमा चल्छ। सोही सिद्धान्तअनुसार व्यक्ति चल्नुपर्ने हुन्छ। जब विधि र सिद्धान्तलाई लत्याउने काम हुन्छ तब सैद्धान्तिक विचलन देखा पर्ने गर्छ। पार्टीको विधानलाई नटर्ने परिपाटीका कारण संकट सृजना हुने गर्छ।
सत्तारुढ दल नेकपालाई विश्वास गरेर नै गत निर्वाचनमा जनताले पाँच वर्ष सरकार सञ्चालन गर्ने गरी जनताले मत दिएका हुन्। तर नेकपाभित्र देखिएको सत्ता स्वार्थले लज्जित हुने अवस्था सृजना गरेको छ। निर्वाचनमा हारेका व्यक्तिलाई जसरी पनि राष्ट्रियसभा सदस्य बनाउने निर्णय र उक्त निर्णय कार्यान्वयन नगर्ने अडानका कारण पार्टीभित्र शुरू भएको विवाद पार्टीले अवलम्बन गरेको विचार सिद्धान्तको विरुद्ध छ।

प्रतिक्रिया दिनुहोस्