औद्योगिक ग्राम स्थापनाका लागि समझदारी 



नेपाल समाचारपत्र, डोटी । 
डोटीको जोरायल गाउँपालिकास्थित २ बुडरको धारापानीमा निर्माण हुने औद्योगिक ग्राम स्थापनाको लागि प्रक्रिया अघि बढेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र जोरायल गाउँपालिकाबीच औद्योगिक ग्राम स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो। उहाँले भन्नुभयो–‘औद्योगिक ग्राम स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ, अब औद्योगिक ग्राम खुल्ने बाटो खुल्यो।’
स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी उद्योग स्थापना विकास र प्रवद्र्धन गर्दै रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउने उक्त ग्रामको उद्देश्य रहेको बताइएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार ३२ वटा औद्योगिक ग्रामको पूर्वाधार विकास र निर्माण कार्यका लागि स्थानीय तहसँग समझदारी भएको हो। चालू आर्थिक वर्षमा सरकारले जोरायल गाउँपालिकालाई ९२ लाख  निकासा गर्ने गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो।
गाउँपालिकाले तीन महिनाभित्र आफ्नो स्रोतबाट बिस्तृत परियोजना प्रतिवेदन तयार गरी मन्त्रालयमा पेस गर्नुपर्ने प्रावधान रहेको समेत अध्यक्ष ओझाले जानकारी दिनुभयो।
औद्योगिक ग्राम स्थापनाको लागि मन्त्रालयले उपलब्ध गराएको बजेटको अधिनमा रहेर पूर्वाधार विकास तथा विभिन्न संरचना निर्माणका लागि खर्च गरिने समझदारी पत्रमा उल्लेख गरिएको जोरायल गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत तेजबहादुर खत्रीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्