हेटौंडाको बजेट २७ करोडले वृद्धि



नेपाल समाचारपत्र, हेटौंडा ।
चालू आर्थिक वर्षको बजेटमा हेटौंडा उपमहानगरपालिकाको वृद्धि भएको छ। चालू आर्थिक वर्षमा कुल १ अर्ब ८१ करोड बजेट विनियोजित गरिएको थियो। तर, बजेटमा वृद्धि भएर २ अर्ब ८ करोड रुपियाँ पुगेको छ। बाह्य र आन्तरिक स्रोतको आम्दानीमा बजेट वृद्धि भएको हो।
पूर्वाधार क्षेत्रतर्फको चालू आर्थिक वर्षको कुल बजेट ७६ करोड २७ लाख ७ हजारका ५ सय ५८ योजना रहेकोमा हालसम्म २९ करोड ४० लाख ८८ हजार बराबरका ३ सय २५ योजना सम्झौता भएको छ।
सम्झौता भएका योजनामध्ये सडक स्ल्याब ढलानतर्फ ६ किलोमिटर, विद्यालय पूर्वाधारतर्फ ३ वटा, खेलमैदान निर्माणतर्फ २ वटा, खानेपानी योजनातर्फ १ वटा, मन्दिर पूर्वाधारतर्फ १ वटा, पर्यटन पूर्वाधारतर्फ १ वटा, तटबन्धतर्फ १ वटा र सुरक्षा पूर्वाधार (सीसी क्यामेरा जडान) तर्फ १ वटा सम्झौता सम्पन्न भएको छ। यसबाट कुल ४ करोड २३ लाख ७९ हजार बराबरका ७३ योजना सम्पन्न भइसकेका छन्।
बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगर क्षेत्रभित्र प्रदेशस्तरीय भौतिक पूर्वाधार निर्माणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट माग भएबमोजिम नगर क्षेत्रका २० स्थानका जग्गाक्षेत्र उपलब्ध गराउने निर्णय गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ।
व्यवस्थित बस टर्मिनल भवन तथा बसपार्क निर्माणका लागि ९३ करोड ११ लाख ५६ हजार बराबरको विस्तृत परियोजना प्रस्ताव तयार भइसकेको छ। जसमध्ये पहिलो चरणअन्तर्गत् ५९ करोड ५७ लाख ५४ हजार रकमबाट दुई तला बेसमेन्ट पार्किङ बसपार्क सञ्चालन तथा व्यवस्थापन र व्यावसायिक प्रयोजनका लागि दुई तलासमेत गरी ४ तले भवन निर्माणका लागि बोलपत्र आह्वान प्रक्रिया अगाडि बढाइएको छ।
हेटौंडा–४ स्थित बासुदेव सभागृह रहेको स्थानमा आधुनिक, समयसापेक्ष सुबिधायुक्त सभागृहसहित शहीद बासुदेव बहुउद्धेश्यीय व्यावसायिक कम्प्लेक्स र भ्युटावर निर्माणका लागि विस्तृत परियोजना तयार भइरहेको अबस्था छ।
पुरानो बसपार्क क्षेत्रस्थित १० नम्बर वडा कार्यालय भवन रहेको स्थानमा आधुनिक सुबिधायुक्त संरचनासहित व्याबसायिक कम्प्लेक्स भवन निर्माणका लागि पनि बिस्तृत परियोजना तयार पार्ने कार्य भइरहेको छ।
हेटौंडा–२ कार्यालयपछाडिको खुलामञ्च रहेको क्षेत्रमा करिब १ सय ५० सिट क्षमता भएको सभागृहका साथै कार्यालय परिसरको खुला भाग व्यबस्थापन गर्ने गरी बिस्तृत परियोजना तयार पार्ने कार्य पनि भइरहेको छ। खेलदकुद प्रवद्र्धनअन्तर्गत् एड्भेञ्चर खेललाई प्रोत्साहन गर्न उपमहानगरपालिका–१८ को गुम्बाडाँडा गोरक्षताल क्षेत्रमा १६ किमी लामो साइकलट्रयाक निर्माणका लागि सम्झौताको क्रममा छ।
कर्रा करिडोर निर्माण आयोजनाको बिस्तृत परियोजना प्रस्ताव तयार भइसकेको र चालु आर्थिक बर्षमा पहिलो चरणको निर्माणअन्तर्गत् २ करोडमा निर्माण कार्य अगाडि बढाउन बोलपत्र आह्वान भएको र आगामी वर्षमा समेत निरन्तरता दिएर कर्रा कोरिडोर सम्पन्न गरिनेछ।

प्रतिक्रिया दिनुहोस्