उखु किसानको अझै ४० करोडभन्दा बढी बक्यौता बाँकी



नेपाल समाचारपत्र, काठमाडौं ।
उखु किसानको सबै बक्यौता माघ ७ गतेभित्र भुक्तानी गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उखु किसान र चिनी उद्योगीबीच ५ बुँदे सहमति भए पनि किसानको बक्यौता अझै चुक्ता हुन सकेको छैन।
फागुन १५ गतेसम्ममा विभिन्न उद्योगको ४० करोडभन्दा बढी बक्यौता बाँकी रहेको मन्त्रालयले जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार उखु किसानलाई अझै श्रीराम सुगर मिल्सले २६ करोड ७७ लाख ७८ हजार, लुम्बिनी चिनी उद्योगले ७ करोड ३९ लाख ६२ हजार, महालक्ष्मी सुगर प्रालिले ६ करोड ३७ लाख २८ हजार, बाग्मती खाडसारी चिनी मिल्स प्रालिले ३४ लाख ७ हजार, एभरेस्ट सुगर एन्ड केमिकल्स प्रालिले ८ लाख २० हजार, हिमालय सुगर मिलले २ लाख २९ हजार रुपियाँ बक्यौता तिर्न बाँकी रहेको छ।
नेपाल समाचारपत्रसँग कुरा गर्दै प्रवक्ता केसीले भन्नुभयो–‘बन्द रहेको श्रीराम सुगर मिल फागुन १ गतेदेखि सञ्चालमा आएको छ। आफ्नो स्वामित्वमा रहेको जग्गा बिक्री गरेर भए पनि बक्यौता तिर्ने प्रतिबद्धता मन्त्रालयसमक्ष जनाएको छ। तर, लुम्बिनी चिनी उद्योग भने आफूहरुसँग सम्पर्कमा नआएपछि उद्योगका सञ्चालक खोजी गर्न  गृह मन्त्रालयमा पत्रचार भएको छ।’ उहाँका अनुसार मन्त्रालयको अनुरोधमा लुम्बिनी चिनी उद्योगको बैंक खाता भने नेपाल राष्ट्र बैंककले रोक्का गरिदिएको छ।
त्यस्तै हिमालय सुगर मिल, एभरेस्ट सुगर एन्ड केमिकल्स प्रालि र बाग्मती खाडसारीको बक्यौता भने किसानको बैंक खाता प्राप्त नभएका कारण रोकिएको केसीले बताउनुभयोे। महालक्ष्मीले भने किसानले बक्यौता भुक्तानी गर्न ऋण लिने प्रक्रिया गरिरहेको र फागुन २५ गतेसम्ममा बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ।
चिनी उद्योगले उखु किसानको करोडौ रुपियाँ बक्यौता वर्षाैदेखि  भुक्तानी नदिएको भन्दै सर्लाहीका उखु किसानले माइतीघर मण्डलामा धर्नामा बसेका थिए।  त्यसपछि पुस १८ गते वाणिज्य तथा आपूर्ति मन्त्रालय, उखु किसान र उद्योगीबीच ५ बुँदे समझदारी भएको थियो।

प्रतिक्रिया दिनुहोस्