प्रदेश नं. १ को लगानी सम्मेलनका लागि २६ परियोजना तयार



नेपाल समाचारपत्र, विराटनगर ।
प्रदेश नं.१ सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ। सम्मेलनका लागि २६ परियोजना तयार गरेको छ।
प्रदेशको विकासमा स्वदेशी तथा निजी क्षेत्रको लगानी भित्र्याउन सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन, २०७६ बमोजिम आवश्यक प्रक्रिया अघि बढाउन आयोजना बैंक तयार गरी पहिलो चरणमा सूचीकृत २६ परियोजनालाई समावेश गरेर २०७७ वैशाखमा लगानी सम्मेलन गर्ने भएको हो।
 प्रदेशको तीव्र र व्यवस्थित आर्थिक विकासका लागि प्रदेश योजना आयोग र प्रदेश लगानी बोर्ड गठन भएको छ। सरकारले ७ सय ४५ दिनमा प्रादेशिक सडक सञ्जालको १० वर्षे गुरुयोजना बनाई सार्वजनिक गरिसकेको छ। साना सिँचाइ, शहरी विकास, पर्यटन विकासलगायत गुरुयोजनाले अन्तिम रूप लिन लागेको छ।
प्रादेशिक निर्वाचन क्षेत्रमा सडक निर्माण भइरहेका छन्। प्रदेशमा नेपालका विकास साझेदार र निजी क्षेत्रका लगानीकर्ताको ध्यान आकृष्ट गर्न सरकार सफल भएको मुख्यमन्त्री शेरधन राईले बताउनुभयो।
‘लगानीका दृष्टिले प्रदेश नं. १ अनुकूल हो भन्ने सन्देश दिने कुरामा प्रदेश सरकार सफल भएको छ,’ उहाँले भन्नुभयो–‘संघीयता कार्यान्वयनको महत्वपूर्ण कडीका रूपमा पहिलोपटक एक अर्बको वैदेशिक अनुदान सहयोग लिन सफल हुनु र उक्त वैदेशिक अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गराउन सफल भयौं।’ उहाँले लगानी सम्मेलनबाट प्रदेश नमबर १ मा लगानी भित्रिने बताउनुभयो।
सोलुखुम्बुबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सरकारले जनताको इच्छा, आकाक्षा र आवश्यकतालाई ध्यानमा राखेर विकासलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले भने सरकार उद्घाटन र समारोहमा बढी सलग्न भएको बताउनुभयो। मोरङबाट प्रतिनिधित्व गर्ने समाज पार्टी संसदीय दलका नेता जयराम यादवले प्रदेश सरकारले नीति तथा कार्यक्रममा तय गरिएको योजना तथा नीतिमा ध्यान नदिएको बताउनुभयो।
ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलका नेता विष्णु तुम्बाहाम्फेले सरकार समारोहमा केन्द्रित हुने गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्