अबको लगानी मानवीय विकासमा केन्द्रित



धर्मेन्द्र बिसी, अछाम

अछामको तुर्माखाँद गाउँपालिकामा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम दिगोपना सुनिश्चितता गोष्ठी शुरू भएको छ। सुआहारा र बहुक्षेत्रीय पोषण योजनासँगको सहकार्यमा तुर्माखाँद गाउँपालिकाले दुई दिनसम्म चल्ने सो गोष्ठीको आयोजना गरेको हो।

गोष्ठीको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले अबको लगानी मानवीय विकासमा केन्द्रित गरिने बताउनुभएको छ। उहाँले पूर्वाधारका लागि लगानी लगाएर समाज रूपान्तरणको विषयलाई बृहत् रूपमा उठान नगरेकै कारण हालसम्म स्वास्थ्य, सरसफाइ, शिक्षा, जातीय विभेद, छोराछोरीबीच गरिने विभेद र पोषणको अवस्थामा अपेक्षित सुधार आउन नसकेको बताउनुभयो।

‘हालसम्म हामीले सडक, भवनजस्ता भौतिक संरचनामा मात्र ध्यान दियौं’, उहाँले भन्नुभयो– ‘मानवीय विकासको सुधारमा खासै लगानी गर्न सकिएको छैन। अब त्यसबारे गम्भीर हुन जरुरी छ। यदि, अब पनि मानवीय विकासबारे सोचिएन भने समाज सुधार हुन सक्दैन।’ सामाजिक रूपान्तरणका लागि गरिने तालिम, गोष्ठी र छलफलसमेत औपचारिकताका लागि मात्र गरिएको जस्तो देखिएकाले अब कर्मचारी र जनप्रतिनिधिले गर्ने काममा व्यापक सुधार गर्नुपर्ने भन्दै उहाँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सेवामा गुणस्तर कामय गर्ने गरी काम गर्न आग्रह गर्नुभयो।

‘कतिपय कामहरू कर्मकाण्डी रूपमा गरिएजस्तो भएको छ’, उहाँले भन्नुभयो– ‘योजना निर्माण गर्दा मात्र राम्रो गर्न खोजेर हुँदैन। कार्यान्वयनमा ध्यान दिन जरुरी छ। अब योजनाअनुसार कार्यान्वयन गरिएन भने हाम्रो सेवामा गुणस्तर कायम हुन सक्दैन।’ गाउँपालिकाले आमा, बच्चा र सुत्केरीको अवस्था सुधार गर्ने गरी पोषण अवस्थामा व्यापक सुधार गर्ने योजना बनाएकाले अब गाउँ तथा वडा तहबाटै यसबारे गम्भीर चासोका साथ कर्मचारीले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो।

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष अमृतादेवी बुढाले पोषणको अवस्था सुधारका लागि तल्लो तहसम्म सचेतना विस्तार गर्न जरुरी रहेको भन्दै अब सीधै लक्षित समूहसम्म पुग्ने संयन्त्र निर्माण गरिनुपर्नेमा जोडदिनुभयो। कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै तुर्माखाँद गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव भण्डारीले पोषणको महत्व, औचित्य र आवश्यकताका बारेमा जानकारी गराउन तथा बहुक्षेत्रीय पोषणका क्षेत्रका क्रियाकलापबारे पुनरावलोकन गर्न दुई दिनसम्मका लागि गोष्ठीको आयोजना गरिएको बताउनुभयो। उहाँले स्वास्थ्य तथा पोषणसम्बन्धी विद्यमान मुख्य व्यवहारको अवस्थाबारे छलफल गरेर आगामी रणनीति तय गरिने भन्दै त्यसको दिगोपनाका लागि अपनाउन सकिने विधि तयार गरिने बताउनुभयो।

कार्यक्रममा तुर्माखाँद गाउँपालिका–४ का अध्यक्ष कविराम बयक, ६ रानीवनका अध्यक्ष मुक्तिनाथ उपाध्याय, कार्यपालिका सदस्य दमनबहादुर घर्ती, पत्रकार धु्रव बिसी र धमेन्द्र बिसी तथा गाउँपालिकाका आठ वटै वडाका स्वास्थ्यकर्मीलगायतको उपस्थिति रहेको थियो। गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक एकेन्द्रबहादुर बयकले सञ्चालन गरेको गोष्ठीमा सुआहाराका लागि जिल्ला संयोजक लोकबहादुर नेपाली र बहुक्षेत्रीय पोषण योजनाका अछाम बाजुरा संयोजक नरबहादुर आउजी तथा सेवक नेपालका सेतबहादुर भुलले कार्यक्रमको सहजीकरण गरिरहनुभएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्