हामी चिनाउँछौं हाम्रो नमोबुद्ध



मोतीराम तिमल्सिना
हामी चिनाउँछौं हाम्रो नमोबुद्ध, हामी बनाउँछौं हाम्रो नमोबुद्ध’ पर्यटन वर्षको अवसरमा तामाङ समुदायको २८५६ नाम्युङ सोनाम ल्होसार नमोबुद्धमा आयोजना गरिएको थियो। ‘नमोबुद्धको प्रचारप्रसार तथा व्यवस्थापनमा थप सहजता प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नमोबुद्ध विकास मञ्चका संयोजक राकेश लामाले बताउनुभयो।
‘मुख्य स्थल ओझेलमा प¥यो, पर्यटकीय तथा पूर्वाधार निर्माणमा ध्यान पुग्न सकेको छैन, जसका कारण नमोबुद्ध भनेर चिनिने स्थान पछि पर्न नदिन पर्यटन वर्षको अवसरमा ल्होछार कार्यक्रम आयोजना गरिएको हो’, संयोजक राकेश लामाले भन्नुभयो– ‘पौराणिक इतिहासअनुसार दश अवतारमध्ये एक मानिएको बौद्धावतारको वर्णा बुद्धरश्मीबाट जानकारी भएको बुद्ध परम्परालाई हेर्नुपर्दछ। नमोबुद्धको प्राकृतिक पर्यटकीय भ्रमणबाट त्यसलाई पुष्टि गर्छ।’
नमोबुद्ध क्षेत्रको शान्ति, अहिंसा र धार्मिक पर्यटनमा सुधार ल्याउन युवाको जागरुकताको खाँचो पनि उत्तिकै देखिन्छ।
हामीले लोकमा बुद्ध भनेर मान्दै आएका शुद्धोधनका छोरा उनै महासत्व हुन् भन्ने बुद्धरश्मीबाट प्रमाणित भएको जनश्रुति छ।
नमोबुद्ध क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र निर्माण गर्नुपर्नेमा दुईमत छैन। पर्यटकको आगमनलाई व्यवस्थित बनाउँदै नमोबुद्ध क्षेत्रलाई अझै प्रचारप्रसार गर्न जरुरी छ। संघ, प्रदेश र स्थानीय सरकारको समन्वयको समेत आवश्यकता देखिन्छ। मुलुकको विकासका लागि पर्यटन क्षेत्रको व्यवस्थापन र प्रचारप्रसार आवश्यक रहेको बताइरहँदा नगरप्रमुख टीपी शर्मा तिमल्सिना नमोबुद्ध क्षेत्रको विकासका लागि नगरपालिकाले गुरुयोजना तयार गरी कार्य गरिरहेको बताइन्छ। सिँढी, सार्वजनिक शौचालय, अन्य पूर्वाधारको पुनर्निर्माण, गेटलगायतका अन्य पूर्वाधार निर्माण गरी सरसफाइका लागि व्यवस्थित योजना निर्माण गरिएको नगर प्रमुख शर्माले बताउनुभयो।
नमोबुद्ध भगवान् घ्याङ गुठी व्यवस्थापन समितिको भूकम्पपछि पुनर्निर्माण गरिएको ६७ लाखको भवन ल्होच्छारको अवसरमा हस्तान्तरण गरिएको थियो। व्यवस्थापन समितिका अध्यक्ष ल्होसाङ बज्र लामाका अनुसार व्यवस्थापन समितिले नमोबुद्ध क्षेत्रको विकास र प्रवद्र्धनका लागि कार्य गरिरहेको बताउनुभयो।
ल्होसारको उपलक्ष्यमा आयोजित कार्यक्रममा संविधानसभा सदस्य रामहरि सुवेदी, नेकपा नेताहरू राजन भुर्तेल, इन्द्र तामाङ, दैवलाल घिसिङ, नगर उपप्रमुख रामदेवी तामाङ तथा वडा अध्यक्षहरूले नमोबुद्धको संरक्षणमा तथा पर्यटन प्रवद्र्धनमा दत्तचित्त भएर लाग्ने बताएका थिए। कार्यक्रममा स्थानीय झाँकीका साथै गायक सञ्जीव वाइबा, शशिकला मोक्तान, विशाल थिङका साथै सुवास मोक्तान, सिर्जना तामाङ, गणेश केसी, मदन विष्ट सुदीपराज रेग्मीलगायतका स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेको थियो।
नमोबुद्धको इतिहास
संख्यकल्पअघि जम्बु क्षेत्रमा महारथ र सत्यवती नामका राजारानी थिए। राजा महारथ पराक्रमी थिए। उनले पाँच हजारभन्दा बढी राज्यमा आधिपत्य जमाएका थिए। तिनका तीन छोरामध्ये कान्छा महासत्व मैत्री, करुणा र परोपकारका निमित्त विख्यात थिए। एक दिन राजारानी र तीनवटै छोरा वनविहारमा गए। रुचिअनुसारका जंगलमा घुम्न थाले।
यस क्रममा कान्छा राजकुमार महासत्व ८८ हजार ऋषिले तपस्या गरेको चारकोस लम्बाइ र दुई कोस चौडाइको गन्धमादन पर्वतको वनमा पुगे। ऋषिका आश्रमसमेत भएको त्यो वन क्षेत्रलाई योगाकूल, हिरण्यगिरि र द्वादश वन भनिन्थ्यो। जंगल विहारको क्रममा कान्छा राजकुमार महासत्वले अत्यन्त दुब्ली पातली बघिनी र त्यसका पाँच डमरू देखे। भोक र तीर्खाले ग्रसित बघिनी डमरूलाई खान तयार भएको पाए।
राजकुमारको मनमा दया पलायो। बघिनीलाई केही खाने कुरा दिएर उद्धार गर्न खोजे। त्यसै वनमा घुम्दै गरेका आफ्ना दुई दाजुलाई बघिनीले के खान्छे भनेर सोधे। दाजुहरूले बघिनीको आहारा तातो रगत र आलो मासु हो भने। फेरि कान्छा राजकुमारले सोधे– ‘कसैको प्राण बचाउन कसैको हानि नपु¥याउने उपाय छैन।’ दाजुले जवाफ दिए– ‘कठिन छ।’
महोसत्वले सोचे जिन्दगी बेकारमा गइरहेको छ, दुनियाँमा कुनै बेला रागको निम्ति, कुनै बेला द्वेषका निम्ति र कुनै बेला मोहका निम्ति पनि शरीर त्यागिन्छ तर धर्मका निम्ति शरीर त्यागिएको छैन। र, यसतर्फ मानिसको प्रवृत्ति पनि देखिन्न। दाजुहरू याताउति लागेका बेला महासत्वले बघिनी र डमरूलाई आफ्ने रगत र मासु दिएर भोक शान्त गराउने विचार गरे। बघिनीको आहाराका लागि लुगा फुकालेर बसे। तर, बघिनी ज्यादै कमजोर भएकीले राजकुमार बसेको ठाउँसम्म आउन पनि सकिन। यो अवस्था देखेर राजकुमार बघिनीको नजिक गए।
आफ्नो औंला काटेर रगत चुसाए। रगत खाएपछि अलिकति शक्ति प्राप्त गरेकी बघिनीले राजकुमारको मासु खाई र डमरूलाई बचाउन सकी। राजकुमारको हड्डी मात्र बाँकी र≈यो। राजकुमारको त्यो अद्भूत दान देखेर इन्द्रासन डगमगायो, पृथ्वी काँप्यो, पुष्पवृष्टि भयो, दुन्दुभी (बाजा) बजे, अप्सरा नाचे। त्यसै बेला देवता आएर मरेका राजकुमारको पुनर्जन्ममा सम्यक सम्बुद्ध प्राप्त हुने र भवचक्रको दुःख सागरबाट मुक्त भई उद्धार हुने बताए।
उता दाजुहरू भाइ खोज्दै आए। उनीहरूले हड्डी मात्र देखे। त्यसै बेला दरबार फर्किसकेकी रानी सत्यवतीले विभिन्न सपना देखिन्। रानीले सपनामा आफ्ना दुई स्तन भुइँमा खसेका, आफ्ना तल्लो बंगारा झरेका, शरीरभर सियोले घोचेको पीडा भएको, राजदरबारको कौसीमा भएका तीनवटा परेवामध्ये एउटालाई चिलले च्यापेर लगेको सपना देखेको राजालाई सुनाइन्। उनले कान्छो छोरालाई केही अनिष्ट भएको शंका गरिन्।
त्यसै बेला जेठो र माहिलो छोराबाट कान्छो छोरालाई बघिनीले खाएको वृत्तान्त सुनिन्। यो खबरले राजारानी दुवै र्मुिर्छत भए। राजारानीसहित दुवै छोरा भाइको हड्डी हेर्न भनी घटना भएको ठाउँमा गए। महासत्वको कंकाल शरीर मात्र देखेर शोकमग्न भए। होस फर्किएपछि राजाले छोराको कंकाल शरीरलाई श्रीखण्डजडित बाकसमा हालेर गाडे। त्यसमाथि चैत्य बनाएर पूजा गरे। पूजा गर्दागर्दै कान्छा राजकुमार सम्यक् सम्बुद्ध भएको आकाशवाणी भयो। चैत्यमा बुद्धरश्मी प्रकट भई राजारानीलाई मृत छोरा नै भगवान् बुद्ध हुने बताए। हामीले लोकमा बुद्ध भनेर मान्दै आएका शुद्धोधनका छोरा उनै महासत्व हुन् भन्ने बुद्धरश्मीबाट प्रमाणित भएको जनश्रुति छ।
प्रतिक्रिया दिनुहोस्