अमेरिका–तालिवान सम्झौता : राष्ट्रसंघ र नेटोद्वारा स्वागत



दोहा। 

शनिबार कतारको दोहामा अमेरिकाले तालिवान समूहसँग गरेको सम्झौतालाई राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस, नेटोका महासचिव जेन्स स्टोलटनवर्ग, बेलायती रक्षा मन्त्री बेन वालेसलगायतले स्वागत गरेका हुन् ।

राष्ट्रसंघ प्रमुख गुटेर्रेसले सम्झौताप्रति प्रतिक्रिया जनाउँदै भन्नुभयो,“हिंसामा राष्ट्रव्यापी कटौतीलाई दिइने निरन्तरताले सबै अफगानीलाई हित गर्नेछ ।”

नेटोका महासचिव स्टोलटेनवर्गले भन्नुभयो, “सन् २००१ मा सँगै गएका थियौँ । हामीले सही समयमा सेनाको सङ्ख्यालाई सँगसँगै घटाउँदै लानेछौँ र सँगै अफगानिस्तानबाट विदा हुनेछौँ । तर अफगानिस्तानमा सबैबुरा ठीक भएपछि मात्रै हामी फर्किनेछौँ ।”

बेलायतका रक्षामन्त्री बेन वालेसले भन्नुभयो, “म अफगानिस्तानलाई आतङ्कवादबाट मुक्त गर्नका लागि यो सानो तर महत्वपूर्ण कदमलाई स्वागत गर्दछु । शान्तिमा बाँच्न सक्ने अवसरको दिशामा रहेको अफगानिस्तानमा हामी दशकौंसम्म एक मजबूत साझेदारका रूपमा रहिरहनेछौँ ।

अफगान महिलाद्वारा मिश्रित प्रतिक्रिया

अमेरिकी सेनाले अफगानिस्तान छोड्ने तयारी गर्दा तालिवानको पुनः आगमनको सम्भावनापछि युद्धग्रस्त देशका महिलाहरूले भने शान्तिको खोजीमा आफूहरूको कडा मेहनतबाट प्राप्त स्वतन्त्रता गुम्ने हो कि भनी आशङ्काहरू पनि व्यक्त भएका छन् ।

अमेरिकी सेनाले २००१ मा आक्रमण सुरू गर्नु पहिले अफगानिस्तानमा करिब पाँच वर्ष तालिवान समूह सत्तामा रहेको थियो । उनीहरूले अफगानिस्तानमा कडा शासन गरे जसले शरिया कानून ९परम्परावादी इस्लामिक० कानूनको व्याख्या गर्दै महिलालाई नैतिक बन्दी बनाए ।

तालिबानको पतनले काबुल जस्ता शहरी क्षेत्रहरूमा महिलाको जीवनमा निकै परिवर्तन ल्यायो तर परम्परावादी ग्रामीण अफगानिस्तानमा भने यसको खासै अनुभूति हुन सकेन । सरकारको अधिकांश उपस्थिति शुन्य रहने ग्रामिण क्षेत्रमा तालिवान कानूनका विरूद्ध उनीहरू बोल्न सक्ने अवस्था भने नभएको एक अफगानी अधिकारकर्मीले बताइन् ।

उनले भनिन्, “अफगानिस्तानमा महिलाहरू शान्तिको मूल्य कतै आफ्ना अधिकारमा कटौती त हुने होइन भनी चिन्तित छन् । विद्रोहीहरूदेखि महिलाहरू त्रसित छन् तर पनि देशव्यापी हिंसाको अन्त्य देख्न उत्सुक छन् ।”

तालिवान सत्तामा रहेकोको समयमा महिलालाई शिक्षा वा काम खोज्न प्रतिबन्ध लगाइएको थियो र आज अफगान महिला अधिकारकर्मीहरू कडा रक्षात्मक अवस्थामा पुगेका छन् ।

हेरातकी एक व्यापारी ३२ वर्षीय सेतारा अक्रिमीले एएफपीसँग भनिन्,“शन्ति स्थापनाले मलाई पक्कै खुशी बनाउनेछ । नागरिकको अकालमा मृत्यु हुने छैन ।”

“यदि तालिवान पुनः सत्तामा फर्किएमा उनीहरूले महिलालाई हेर्ने पूरानो मानसिकतालाई लिएर त फर्किने होइनन् यो मेरो र समस्त अफगानी महिलाको लागि चिन्ताको बिषय हो । सामाजिक कुरूतिविरूद्ध बोल्दा आफ्ना श्रीमान्सँग सम्बन्ध विच्छेद नै गर्नुपरेको यथार्थ बोल्दै अफगानी भविष्यबारे तीन सन्तानकी आमा अक्रिमीले भनिन् । “यदि उनीहरूले मलाई काम नगरी घरमा बस्न भनेमा मैले मेरो परिवार ९सन्तान०लाई सहयोग गर्न सक्ने छैन ।” अफगानिस्तानमा मजस्ता हजारौँ महिला छन् जसलाई तालिवानसँगको वार्ताले झस्काएको पनि छ ।

तर कान्दाहारकी एक १७ वर्षीय स्कुले छात्रा परवाना हुसैनीले सम्झौतालाई ऐतिहासिक उपलब्धी भन्दै सकारात्मक धारणा राखिन् । उनले भनिन्,“मलाई कुनै चिन्ता छैन । तालिवान हाम्रा दाजुभाई हुन् । हामी अफगान हौँ र अफगानिस्तानमा शान्ति चाहन्छौँ ।

नयाँ पिँडी परिवर्तित भएको छ र तालिवानलाई उनीहरूका परम्परावादी धार्मिक विचारलाई समाज र खासगरी अफगान महिलामाथि लाद्न दिँदैन ।
रासस/एएफपी/एएनआई

प्रतिक्रिया दिनुहोस्