शहरी विकास मन्त्रालयको ३७ प्रतिशत वित्तीय प्रगति



काठमाडौँ।

शहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा ३७ प्रतिशत वित्तीय प्रगति गरेको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले १०० दिनमा भएका कामको जानकारी दिन आज मन्त्रालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा रु ३६ अर्ब ८५ करोड कूल बजेटमध्ये रु १३ अर्ब ६५ करोड खर्च भएको बताउनुभयो । सञ्चालनमा रहेका आयोजनाको काममा गति दिइएको उहाँले सुनाउनुभयो । कामको गति हेर्न अनुगमन र निर्देशनलाई समेत निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ ।

रु पाँच अर्ब तीन करोडको लागतमा १२ भवनसहित निर्माणाधीन संसद् भवन, मन्त्री निवास, मुख्यमन्त्री निवास र सभागृह निर्माणलाई तीव्रता दिन मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाइएको राज्यमन्त्री मानन्धरले बताउनुभयो । “बालाजुबाट भित्री ग्रामीण क्षेत्र प्रवेश गर्ने दगुर्नेपानीमा वर्षौँदेखि अल्झिएको मुआब्जा विवाद समाधान गराइएको छ, यो मार्ग भएर जाने काँठ क्षेत्रको आवागमनमा सहजता आएको छ, शेषमती–जरङ्कु–ठाँटी र माछापोखरी–बाइपास सडक कालोपत्र गराइएको छ” उहाँले भन्नुभयो ।

इचङ्गुनारायण जग्गा एकीकरण आयोजनाको प्रवेशमार्ग फराकिलो गर्न त्यस ठाउँमा रहेका घरजग्गाको मुआब्जा विवाद समाधान गरिएको मन्त्रालयले जनाएको छ । सरकारले घोषणा गरेका २७ नयाँ शहरमध्ये मध्यपहाडी लोकमार्गमा पर्ने १० शहर निर्माण अघि बढाइएको छ ।

राजधानी र देशका मुख्य शहरमा रहेका ट्राफिक जाम एवं पार्किङ समस्या समाधानका लागि पनि मन्त्रालयले सरोकार भएका निकायबीच समन्वय गरिरहेको जनाइएको छ । उपत्यकालगायत सबै शहरमा रहेको धुलोको समस्या समाधानका लागि पनि पहल भइरहेको छ । राजधानीमा चक्रपथको काम नसकिएसम्म धुलो उड्ने समस्या समाधान गर्न नसकिने देखिएको मन्त्री मानन्धरले बताउनुभयो ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा चक्रपथ निर्माणका लागि आवश्यक छलफल थालिएको छ । गोरखाको मनकामना जाने सडक मार्ग स्तरोन्नति गर्न पहल गरिएको छ । तनहुँको व्यास–देवघाट–कालीगण्डकी कोरिडोर हुँदै दामोदरकुण्डसम्मको ८०० किमी लामो पर्यटकीय पदमार्ग निर्माणबारे मन्त्रालयले अध्ययन थालेको छ । उपत्यकाका भित्री सडकको मर्मतसम्भार खाल्डाखुल्डी पुर्ने काम पनि अघि बढाइएको छ ।

राजधानीको फोहर व्यवस्थापनका लागि नुवाकोट र धादिङको सीमास्थलस्थित बञ्चरेडाँडामा स्यानेटरी ल्याण्डफिल साइट वैशाखमा मात्र सम्पन्न गर्न सकिने भएको छ । यसअघि मन्त्रालयले फागुनमै पूरा हुने प्रतिबद्धता जनाएको थियो । स्वच्छ, सुन्दर र व्यवस्थित शहरीकरण विकासका लागि उपत्यकाका तीन जिल्लामा निर्माणाधीन चार शहरको विस्तृत परियोजना र प्राविधिक प्रस्ताव अध्ययन चालू अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्