ग्रीसले १० हजार आप्रवासीलाई सीमामा रोक्यो



कास्टानिज, ग्रीस ।

ग्रीसले टर्कीको सीमाभित्र प्रवेश गर्न चाहने झण्डै १० हजार आप्रवासीलाई सीमामै रोकेको ग्रीसको सरकारले जनाएको छ ।
सरकारी स्रोतले गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने झण्डै ९ हजार ९७२ जना आप्रवासीलाई एभरोस क्षेत्रतर्फ फर्काइएको जनाएको छ । यो क्षेत्र टर्कीसँग सीमा जोडिएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले गत साता युरोपतर्फको सीमा खुला गरिदिने धम्की दिएसँगै ठूलो संख्यामा शरणार्थीहरु ग्रीस र टर्कीको सीमा क्षेत्रमा आइपुगेका थिए ।

सिरियाली द्वन्द्व समाधानमा युरोपेली सरकारमाथि दबाब दिन टर्कीका राष्ट्रपतिले यस्तो कदम चाल्नु भएको हो । हालैमात्र सिरियाको इड्लिबमा सिरियाली फौजको हवाई कारबाहीमा दर्जनौं टर्केली सेनाको ज्यान गएपछि परिस्थिति जटिल बनेको छ ।

एक जना सरकारी स्रोतले सेना र प्रहरीले आफ्नो भूमिमा प्रवेश गर्न चाहने हजारौं सिरियाली शरणार्थीलाई सीमामै रोकेको बताएको छ ।

आइतबार बिहानै कास्टानिज वन क्षेत्रको बाटो हुँदै ठूलो समूह ग्रीसतर्फ प्रवेश गर्न खोजेको स्रोतले बताएको छ । ग्रीकका अधिकारीहरुले ७३ जना आप्रवासीलाई पक्राउ गरिएको बताएका छन् । तर उनीहरु इड्लिबका नभई अफगानिस्तान, पाकिस्तान र सोमालियाका नागरिक छन् ।

झण्डै १३ हजार आप्रवासी टर्की–ग्रीस सीमा क्षेत्रमा भेला भएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार यी व्यक्तिहरुसँग बालबालिका र परिवारका अरु सदस्य सहित छन् । ग्रीसका सुरक्षाकर्मीले इभरोस नजिक आसपास गस्ती बढाएका छन् । उनीहरुले लाउडस्पिकरबाट आफ्नो भूमिमा प्रवेश नगर्न चेतावनी समेत दिएका छन् ।

कतिपय स्थानमा प्रहरीमाथि ढुंगा प्रहार गर्ने आप्रवासीलाई नियन्त्रणमा लिन प्रहरी र सेनाले अश्रुग्यास प्रहार गरेको छ ।

टर्कीमा हाल झण्डै ३६ लाख शरणार्थीले आश्रय लिइरहेका छन् । उनीहरुमध्ये अधिकांश युरोप प्रवेश गर्ने योजनामा छन् । टर्कीका राष्ट्रपतिले यी आप्रवासीलाई युरोपले मानवीय सहायता नदिए आफूले सीमा खोलिदिने बताउँदै आउनु भएको छ ।
 
रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्