ट्रंक लाइनविरुद्ध २२ उद्योग आन्दोलित



यमलाल भुसाल, बुटवल ।
नेपाल विद्युत् प्राधिकरणले बिना जानकारी उद्योगीको माग नभई टं«क लाइनका नाममा विद्युत् महशुल वृद्धि फिर्ता नलिए रुपन्देहीका २२ वटा उद्योगले सरकारलाई साँचो बुझाएर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
जिल्लाका २२ वटा उद्योगले बिहीबार पत्रकार सम्मेलन गरी प्राधिकरणले गरेको गल्ती लुकाउन उद्योगीलाई बाँकी बक्यौताका नाममा पत्राचार गर्नु अन्याय भएको उद्योगीको गुनासो रहेको छ ।
मंसिरबाट १७ वटा र माघबाट थप ५ उद्योगलाई ट्रंक लाइनको बिलिङ गरेको र उनीहरुलाई वि.सं. २०७४ साल चैतदेखिको ट्रंक लाइनको बाँकी बक्यौता रकम पनि रहेको भनेर २० महिनापछि जानकारी गराउँदै रकम माग्नुले उद्योगी समस्यामा परेको जनाएका छन् ।
लामो समयदेखि यस क्षेत्रमा सञ्चालित उद्योगमा ३३ केभीए न्यू टु औद्योगिक कोरिडोर विद्युत् जडान गरी उद्योग सञ्चालन हँुदै आएकोमा प्राधिकरण एक्कासी ट्रंक लाइनको बिलिङ गरेकोप्रति उद्योगी चिन्तित भएका छन् ।
प्राधिकरणले ट्रंक लाइनको नाममा बिलिङ गरेपछि बक्यौताका नाममा उद्योगीलाई न्यूनतम ९० लाखदेखि ५ करोडसम्म थप व्ययभार थपिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
उद्योगीले नियमित भुक्तानी गर्ने बिलिङमा ६६ दशमलव ६७ प्रतिशत वृद्धि गरिएको विद्युत् रकम तिर्न नसकिने र उद्योग बन्द गर्न तयार रहेको उद्योगी चन्द्रमान श्रेष्ठले बताउनुभयो । विगत ४० वर्षदेखि निर्वाद रुपमा साधारण लाइनबाट चलिरहेका उद्योगलाई प्राधिकरणले आफू खुशी उद्योगलाई टं«क लाइनमा जडान गरी थप भार बढाएको पत्रार सम्मेलनमा बताएका छन् ।
फागुन ८ गते प्राधिकरणले उद्योगीका नाममा ट्रंक लाइनको बाँकी रकम ३५ दिनभित्र बुझाउन सूचना सार्वजनिक गरेपछि उद्योगी तनावमा परेका छन् ।
भैरहवा–बुटवल औद्योगिक क्षेत्र तथा मणिग्रामदेखि पडसरी औद्योगिक कोरिडोर क्षेत्रमा विगत लामो समयदेखि सञ्चालित उद्योग तथा उद्योगीले ३३ केभीए न्यू टु औद्योगिक कोरिडिर विद्युत् जडान गरी उद्योग सञ्चालन गर्दै आइरहेका उद्योगीलाई विद्युत् प्राधिकरणले हाल ट्रंक कल बमोजिम दररेट कायम गरी बिलिङ गर्दा साधारण विद्युत् भन्दा ६६ दशमलव ६७ प्रतिशत महँंगो हुन गएको भन्दै रुपन्देहीका व्यावसायिक संघसंस्थाले प्राधिकरणको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्