दिगो विकासका लागि सबैको सहभागितामा जोड



नेपाल समाचारपत्र, काठमाडौं ।
सवै पक्षको संलग्नता, सहकार्य, प्रतिवद्धता र जवाफदेहिता भएमा मात्र दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सकिनेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) को आयोजनामा भएको दिगो विकास लक्ष्यसम्बन्धी चौंथो राष्ट्रिय परामर्श गोष्ठीमा सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका जनस्वास्थ्य प्रशासक डा.मोहम्मद खुर्सिद अलाम हैदरले नेपालमा स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्नका लािग प्राथमिक स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्नुपर्ने, तीनवटै सरकारका अंगको क्षमता र सहकार्य वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा आयोजक समितिका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले गैरसरकारी संस्थाहरुको दायित्व र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको जिम्मेवारी तथा कर्तव्यबोध गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।
दिगो विकास लक्ष्यअन्तर्गतको लक्ष्य नं. ३ हासिल गर्नका लागि गरिएको राष्ट्रिय परामर्श गोष्ठीमार्फत नेपालले बनाउन लागेको स्वयम्सेवी राष्ट्रिय समीक्षा (भोलुन्टियर नेसनल रिभ्यू) का लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । सो प्रतिवेदन राष्ट्रिय योजना आयोगले अव आउने संयुक्त राष्ट्र संघको विश्व सम्मेलनमा पेस गरिनेछ ।
कार्यकारी निर्देशक मुल्मीले दिगो विकासका लक्ष्य अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार आएको र नेपालले कार्यान्वयनका लागि प्रतिबद्धता जनाइ सूचक समेत निर्माण गरी सोही अनुरुप बजेट तर्जुमा गरिसकेको परिवेशमा सवै पक्षको उत्तिकै भूमिका रहने स्पष्ट पानुभयो ।
 राष्ट्रिय योजना आयोगका सदस्य उषा झाले दिगो विकास लक्ष्य पूरा गर्नु नेपालको समग्र विकासको लागि पनि आवश्यक छ । तर, यसको लागि राजनीतिक एवम् प्रशासनिक प्रतिबद्धता, स्थानीय तहसम्मको साझा रणनीति निर्माण र कुशल नेतृत्व आवश्यक रहेको बताउनुभयो । दिगो विकास लक्ष्य हासिल गर्नका लागि  केन्द्र, प्रदेश र स्थानीय स्तरमा सबै पक्ष समेटिने गरी समिति निर्माण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
नेपालले बनाएको दिगो विकास लक्ष्यअनुसार २५ वर्षपछि नेपालीको प्रतिव्यक्ति आम्दानी १२ हजार डलर पुग्नेछ । यसका लागि आयोगले पहिलो ५ वर्ष आधार निर्माण गर्ने त्यसपछिको १० वर्षमा देखिने गरी परिवर्तन गर्ने योजना रहेको उहाँले बताउनुभयो । यसका लागि सरकारका सबै अंगको उत्तिकै सक्रियता आवश्यक रहेको उहाँले जोड दिनुभयो ।  अन्तराष्ट्रिय गैर सरकारी महासंघका रामनरेस यादवले अहिले पनि केन्द्र, प्रदेश र स्थानीय तहमा जाँदा नीतिगत रुपमा समस्या रहेको बताउनुभयो ।
गैरसरकारी संस्था महासंघका अध्यक्ष जीतराम लामाले दिगो विकास लक्ष्यका सबै सूचकको स्थिति कस्तो छ भनेर अध्ययन हुनुपर्नेमा जोड दिनुभयो ।
एसडीजी नेसनल नेटवर्कका दयासागर श्रेष्ठले स्वास्थ्यका कारण नेपाली जनता गरिब हुँदै गइरहेको र दिगो विकास लक्ष्यका सवै लक्ष्यहरुमा स्वास्थ्य प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समाहित हुने बताउनुभयो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठले कोरोना भाइरसको २० वटा मात्र केस नेपालमा देखियो भने सवै क्षेत्रबाट नाकाबन्दी भइ समस्या आउने भएकाले सरकार अहिले यसमा सजग रहेको जानकारी दिनुभयो ।
सन् २०३० सम्ममा स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्नका लागि नेपाललाई १ खर्ब ३४ अर्ब रुपियाँ आवश्यक पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्