कुनै पत्रकारले उपचार नपाएर मर्नु नपरोस्



नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले विश्वभर आफ्नो दोस्रो स्थापना दिवसलाई इञ्जा डेको रूपमा मनाउँदै छ। नेपालमा आज आयोजना हुने विशेष समारोहमा सहभागी हुन संस्थाका अध्यक्ष गुणराज लुइँटेल शनिबार मात्रै अमेरिकाबाट नेपाल आइपुग्नुभएको छ। नेपालमा एक दर्जनजति सञ्चारमाध्यममा पत्रकारिता गरेर अमेरिका प्रवासमा जानुभएका अध्यक्ष लुइँटेल अहिले पत्रकारिताको अलावा अमेरिकाको शक्तिशाली मन्त्रालय डिपार्टमेन्ट अफ होमलेन्ड सेक्युरिटीका लागि सूचना तथा प्रविधि विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ। इञ्जा गठनको औचित्य र यसका भावी कार्यक्रमका बारेमा नेपाल समाचारपत्रले अध्यक्ष लुइँटेलसँग गरेको कुराकानी प्रस्तुत छ।
नेपाली पत्रकारहको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) किन गठन भयो ?
नेपाली पत्रकारिता अहिले नेपालमा मात्र सीमित भएन, यो विश्वव्यापी बन्न पुग्यो। नेपालको झन्डै एक चौथाइ जनसंख्या प्रवासमा छ र प्रवासमा जाने नेपालीमध्येमा नेपाली पत्रकारको संख्या पनि ठूलो हुँदै गयो। प्रविधिको विकाससँगै संसारको जुनसुकै देशमा पुगे पनि नेपालमा एकपटक पत्रकारितामा आबद्ध भएका पत्रकारहरूमा पत्रकारितासँग जोडिने चाहना यथावत् रह्यो। प्रवासमा गएर पनि कतिपय पत्रकार नेपालबाट प्रकाशन वा प्रसारण हुने सञ्चारमाध्यममा जोडिइरहनुभयो भने कतिपयले आफू पुगेको मुलुकमा नै अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न शुरु गर्नुभयो। त्यसैले नेपाली भाषालाई माध्यम बनाएर पत्रकारिता गरिरहेका सबै पत्रकारलाई एउटै मालामा जोड्नका लागि इञ्जा गठन भएको हो। हामी एक वाक्यमा भन्दा विश्वभर रहेका नेपाली पत्रकारलाई एकापसमा जोड्न, समयानुकूल प्रशिक्षित गर्न र अभिप्रेरित गर्न नै इञ्जा गठन भएको हो।
यो नेपाल पत्रकार महासंघको प्रतिस्पर्धी संस्थाका रूपमा उदाएको हो ?
होइन, नेपाल पत्रकार महासंघको एउटा गौरवपूर्ण इतिहास छ। महासंघले पत्रकारिताको विकास र लोकतन्त्र स्थापनामा खेलेको भूमिकालाई कसैले पनि नजरअन्दाज गर्न सक्दैन। नेपाल पत्रकार महासंघ सम्पूर्ण नेपाली पत्रकारको साझा संस्था हो। महासंघको प्रतिस्पर्धी संस्थाको कुनै औचित्य र आवश्यकता नै छैन। इञ्जा त नेपाल पत्रकार महासंघसँग पत्रकारको हकहितका लागि साझेदारी गरेर अगाडि बढ्न चाहन्छ। यी दुई संस्था प्रतिस्पर्धी नभएकाले नै महासंघका सदस्य इञ्जामा र इञ्जाका सदस्य महासंघमा रहन स्वतन्त्र छन्।
महासंघ र इञ्जाबीचको अन्तर के हो त ?
दुई संस्थाबीचको मूल अन्तर भनेको संरचना र सहभागिता मात्रै हो। नेपाल पत्रकार महासंघको केन्द्रीय नेतृत्व नेपालभित्रबाट मात्रै चयन हुन्छ, तर इञ्जाको केन्द्रीय नेतृत्व विश्वभर छरिएर रहेका पत्रकारबाट चयन हुन्छ। महासंघमा भारत, भुटानलगायत नेपाली भाषा बोलिने वा नेपाली भाषामा पत्रकारिता हुने अन्य देशवाट प्रतिनिधित्व हुन सक्दैन तर इञ्जामा नेपाली भाषामा पत्रकारिता गर्ने सबै देशका पत्रकारको सहभागिता छ। हाम्रो संस्थामा भुटानबाट निर्वासित भएर लामो समय नेपालमा शरणार्थी जीवन बिताएर हाल अमेरिकालगायत अन्य देशमा पुनर्बास हुनुभएका पत्रकारदेखि भारतमा नेपाली पत्रकारिता गरिरहनुभएका पत्रकार पनि समेटिनुभएको छ।
नेपाल पत्रकार महासंघका शाखा त विदेशमा पनि खोलिएका छन् तर विदेशमा खोलिएका शाखाबाट महासंघको नेतृत्व आउन विधानले दिँदैन। एउटा पूरै देशको शाखाको हैसियत भनेको विधानतः प्रतिष्ठान शाखाको जस्तो मात्र छ। इञ्जाको विधानले संसारको जुनकुनामा भए पनि नेपाली पत्रकारिता गरिरहेका पत्रकारलाई नेतृत्वमा आउने बाटो खोलेको छ। यसको साथै इञ्जाका एसिया, युरोप, अमेरिका, अस्ट्रेलिया र अफ्रिकामा क्षेत्रीय समिति छन् र ती क्षेत्रीय समितिमार्फत रहने गरी राष्ट्रिय कमिटीहरू गठन भएका छन् र कतिपयमा गठन हुने क्रममा छन्। त्यसैले महासंघका आफ्नै केही बन्देज छन्, हामी प्रवासमा रहेकाले ती बन्देजमाथि रहेर स्वतन्त्र छौं।
इञ्जाको गठन हुने बेलामा नेपाल अमेरिका पत्रकार संघमा आबद्ध केही पत्रकारले त इञ्जालाई नेपाल अमेरिका पत्रकार संघ (नेजा) को विभाजनका रूपमा चित्रण गरेका थिए नि, होइन ?
हामी संसारभरका सबै नेपाली पत्रकारलाई एउटै माला बनाएर इञ्जामा जोड्न चाहन्छौं। हामी सबैको साझा संस्था नेपाल पत्रकार महासंघसँग सहकार्य गरेर महासंघलाई अझ सशक्त वनाउन मद्दत गर्न तयार छौं। त्यसैले नेजामा विभाजन ल्याउने भन्ने कुरा नै सत्य होइन। पक्कै पनि, त्यो बेला संवादहीनताको अवस्था रह्यो होला। हामीले हाम्रो कामलाई प्राथमिकता दियौं, त्यसमा नै बढी केन्द्रित रह्यौं। नेपाल अमेरिका पत्रकार संघ (नेजा) मा रहेका साथीलाई हामी कसरी अगाडि बढिरहेका छौं भन्ने जानकारी पुगेन होला। त्यसैले त्यस्ता चित्रण पनि भए होला। तर केवल दुई वर्षमा परिणाम हामी सबैका अगाडि छ। हामीले के गर्न खोजिरहेका रहेछौं भन्ने प्रस्ट भएको छ। इञ्जा संसारभर आफ्ना संगठन र कार्य विस्तार गर्न क्रियाशील छ। अब अमेरिकामा रहेका सबै साथीको भ्रम अहिले हटिसकेको छ। इञ्जामा आबद्ध रहेका सबै साथी नेपाल अमेरिका पत्रकार संघको आगामी अधिवेशनमा सहभागी हुन जानुहुनेछ, जसले भ्रमलाई अझ चिर्न मद्दत गर्छ। नेपाली अमेरिका पत्रकार संघका साथीहरू पनि इञ्जामा आएर काम गर्न स्वतन्त्र हुनुहुन्छ। हामी फुटाएर कमजोर हुने होइन, जोडिएर मजबुत हुन चाहन्छौं।
तपाईंले नेजाको विभाजन होइन भन्नुभयो, इञ्जाको बीजारोपण कसरी भयो त ?
इञ्जाको दोस्रो स्थापना दिवस मनाइरहेका बेला यो प्रश्न सान्दर्भिक छ। संसारभरका नेपाली पत्रकार अट्न सक्ने एउटा संरचना निर्माण गरौं भनेर अमेरिकामा नै रहनुभएका पत्रकार किशोर सापकोटाले प्रस्ताव ल्याउनुभयो। इतिहासमा एउटा रेकर्ड रहोस् भनेर मैले भन्नुपर्छ, यो संस्थाको परिकल्पनाकार किशोर सापकोटा हुनुहुन्छ। यो नेजाभित्र विवाद भएपछि बनाइएको अवधारणा होइन, किनकि किशोरजी कहिले पनि नेजाको सदस्य हुनुहुन्नथ्यो। उहाँको प्रस्तावमा हामी पटकपटक छलफल गरिरहेका थियौं। पछि नेपाल बाहिरबाट पहिलोपटक नेपाली भाषामा सगरमाथा टेलिभिजन सञ्चालन गर्ने वरिष्ठ पत्रकार रामचन्द्र खरेल र कान्तिपुर दैनिकका पूर्वप्रधान सम्पादक तथा वरिष्ठ पत्रकार योगेश उपाध्याय पनि यो अवधारणामा सहमत हुनुभयो। अमेरिकामा नै रहनुभएका पत्रकार सुनिलमणि दाहाल, विष्णु शीतल, विष्णु शर्मा, उमेश शर्मा, विश्व थापा, विजय थापा, शिव विष्टलगायत थुप्रै साथीले पनि यो अवधारणाअनुरूप जाऊँ भन्नुभयो। नेपालबाट वरिष्ठ पत्रकार टंक पन्त, अस्टे«लियाबाट मनऋषि धिताल, युरोपबाट अनुराधा पौडेल पनि विश्वव्यापी नेपाली पत्रकारको संस्था आवश्यक छ भन्ने निष्कर्षमा पुग्नुभयो। यी सबै साथीको मतको सम्मान गर्दै इञ्जाको जन्म भएको हो।
आज इञ्जा डे मनाउने क्रममा तपाईंहरूका के–के कार्यक्रम रहेका छन् ?
आज हामी नेपाललगायत अमेरिका, युरोप, क्यानाडा, अस्ट्रेलिया र अफ्रिकामा विविध कार्यक्रमका साथ इञ्जा डे मनाउँदै छौं। आजको विशेष कार्यक्रम भनेको काठमाडौंमा नै हो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा हुने समारोहमा हामी ब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेलको उपचारका लागि डीसी नेपाल डटकम, इनेप्लिज डटकम र इञ्जाको आ≈वानमा संकलन भएको करिब १४ लाख रुपियाँ पत्रकार पौडेलको परिवारलाई हस्तान्तरण गर्दै छौं। कमलजीले त नेपाल समाचारपत्र दैनिकमा लामो समय सेवा पनि गर्नुभएको थियो। हामी १ हजार अमेरिकी डलर राशिको इञ्जा स्रष्टा सम्मान ८४ वर्षीय पत्रकार तथा भाषासेवी चूडामणी रेग्मी (चुमरे) लाई प्रदान गर्दैछौं भने १ हजार अमेरिकी डलर राशिको इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहलाई संयुक्त रूपमा प्रदान गर्दै छौं। कार्यक्रममा पत्रकारिता क्षेत्रको विकास र अन्य संस्थासँगको सहकार्यका विषयमा विचार विमर्श हुने नै छ।
तपाईंहरू स्थापनाको समयमा लिइएका लक्ष्यहरूतर्फ जाँदै हुनुहुन्छ कि कतै अवरोध महसुस गर्नुभएको छ ?
हामी त लिइएको लक्ष्यभन्दा चाँडो अगाडि बढिरहेका छौं। यो सबै सहकार्यका कारण सम्भव भएको हो। यसका लागि अहिले एउटा नै उदाहरण हेर्न सक्नुहुन्छ, हामीले ब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेलजीका लागि १० दिनको अवधिमा करिब १६ लाख सहयोग संकलन गरेका छौं। यो क्रम उहाँको उपचारका लागि आवश्यक रकम नपुग्दासम्म जारी रहनेछ। यो इञ्जाको एकल प्रयास होइन, हामीले संसारभर संगठन निर्माण गर्यौं र ती संगठनको भरमा अन्य संस्थासँग सहकार्य गर्यौं। एउटा वरिष्ठ पत्रकार बिरामी भएको जानकारी नेपाली मेडियामा समेत आइनसक्दै हामीले संसारभर सहयोगका लागि अभियान नै सुरु ग¥यौं। यसले हामी लक्ष्यतर्फ कसरी अगाडि बढ्दै गएका छौं भन्ने देखाउँछ। राज्यको चौथो अंगको सामाजिक सुरक्षामा राज्यको पनि केही दायित्व हुनुपथ्र्यो र त्यसका लागि हामी नेपाल सरकारको पनि ध्यान आकर्षित भने गर्न चाहन्छौं। हामी नेपाल पत्रकार महासंघलगायत अन्य सरोकारवाला संस्थासँग सहकार्य गरेर नेपाली पत्रकारलाई जटिल रोग लागेमा उपचार गर्ने खर्च सञ्चित गर्ने एउटा ठूलो आकारको कोष समेत निर्माण गर्ने अभियानमा जुट्नेछौं। हामी कुनै पनि नेपाली पत्रकार खर्चको अभावमा उपचार नपाई नमरून् भन्ने सोचका साथ अगाडि बढिरहेका छौं।
इञ्जा डे मनाउनेबाहेक तपाईंका कुनै अरू विशेष कार्यक्रम छन् कि ?
म सकेसम्म हरेक वर्ष सपरिवार नेपाल आउने गर्छु। जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भनिन्छ। यहाँ आउँदा जननी (आमा) र जन्मभूमि (देश) दुवैसँग साक्षात्कार हुने मौका मिल्छ। यो वर्ष त नेपाल सरकारले नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेकाले श्रीमती सीता खरेल लुइँटेल र छोरी सगुन लुइँटेललाई पनि साथमा नै लिएरै आएको छु। यहाँ हुँदा इञ्जाको अध्यक्षको हैंसियतले हुने केही भेटघाटको अलावा साथीभाइ, परिवारजनसँग भेटघाट पनि हुनेछ। यो वर्ष म पहिलाभन्दा निकै उत्साहको साथ आएको छु। एकातिर इञ्जाले विश्वव्यापी रूपमा काम शुरु गरिसकेको छ भने अर्कोतिर अमेरिकाको राजधानी डिसी क्षेत्रमा नै नेपालीले आफ्ना लागि १७ लाख डलरमा सामुदायिक भवन किनेको खबर सबैसँग बाँड्न चाहन्छु। विदेशमा नेपालीहरूको आफ्नै सामुदायिक भवन निर्माण हुनु पनि निकै गर्वको कुरा हो। म भेट हुने सबै पत्रकार साथीलाई इञ्जासँग जोडिन, विदेशका विभिन्न प्रतिष्ठित संस्थामा प्रशिक्षित हुने मौका प्राप्त गर्न र मानवीय सेवामा खट्न उत्प्रेरित हुन अपिल गर्नेछु।

प्रतिक्रिया दिनुहोस्