रक्तसञ्चार केन्द्रले सहयोगीलाई एकीकृत गर्न सकेन



मानव शरीरका लागि नभै नहुने तत्व हो रगत। मान्छे दुर्घटनामा पर्दा, सुत्केरी हुँदा, क्यान्सर भएर पीडामा पर्दा, शल्यक्रिया गर्दा जीवन बचाउनका लागि चाहिने तत्व हो रगत। तर बजारमा रगतमाथि पनि व्यापार हुने गरेको छ। दानको मानसिकता ओझेलमा परेको छ। यस्तै विषयमा ब्लड डोनर एसोसियसन (ब्लोदान) का अध्यक्ष ई. सानुबाबु प्रजापतिसँग नेपाल समाचारपत्रका प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानी 
तपाईं इन्जिनियरजस्तो पेसामा समर्पित व्यक्ति कसरी स्वास्थ्य सेवा तथा सामाजिक सेवा ब्लोदानमा आकर्षित हुनुभयो ?
इन्जिनियर र स्वयम्सेवी पेसा फरक हो तर इन्जिनियर हुनुभन्दा पहिला नै समाजसेवा गर्ने भावना पलाएको र हामी सामाजिक संस्थामा इन्जिनियर हुनुभन्दा पहिला नै लागि सकेको अवस्था थियो। इन्जिनियर भैसकेपछि त्यसलाई नै निरन्तरता दिँदै पेसागत कामबाट बचेको समय समाजसेवामा नै समर्पित गर्दै आएको छु।
नेपालमा रक्तदानको अवस्थाका विषयमा अन्तर्राष्ट्रिय सम्मेलन गर्दै हुनुहुन्छ भन्ने जानकारीमा आएको छ, यो कहिले कसरी सम्पन्न हुँदै छ ?
यही फागुन २४ र २५ गते विश्वका विभिन्न मुलुकका प्रतिनिधिलाई सहभागी गराएर अन्तर्राष्ट्रिय सम्मेलन गर्दै छौँ। ब्लोदानजस्तै विश्वका स्वयम्सेवी संस्था आईएसबीडीओसँग सन् २००६ देखि आबद्ध भएका छौं। आईएसबीडीओका महासचिव सम्मेलनका लागि नेपाल आउँदै हुनुहुन्छ। साथै, सार्क मुलुकका प्रतिनिधिलाई निमन्त्रणा गरेका छौं। भारत, बंगलादेश, क्रोएसिया, अमेरिका, अल्जेरियालगायतका मुलुकका स्वयम्सेवीहरूको सहभागिता रहनेछ। कोरोना भाइरसले अलिकति असर परेको अवस्था छ।
एजेन्डाहरू के–के छन् र उपलब्धि कस्तो हुने अपेक्षा गर्नुभएको छ ?
मुल एजेन्डा कुनै पनि बिरामीलाई रगत आवश्यक परेको बेला स्वस्थ रगत पाउन् भन्नेछ। विश्वको अवस्थाको जानकारी लिने र सुधार गर्ने, नेपालको अवस्थाको जानकारी गराउने उद्देश्य छ। नेपालमा शतप्रतिशत स्वयम्सेवी रक्तदान गर्ने अभियानले विश्वको अनुभव आदानप्रदान गर्ने र अनुशरण गर्ने लक्ष्य छ। विश्वमा भएका गतिविधिबाट सिकेर थप टेवा पु¥याउन सकियोस् भन्ने सोचाइ छ। नेपालमा हामी र अन्य सरोकारवाला निकायले के गर्दै छन् र विश्वमा पनि हामीसँग आबद्ध हुने राष्ट्रहरूको अवस्था के छ भन्ने जानकारी लिने नै हो।
नेपाल रेडक्रस सोसाइटी र ब्लोदानको काममा के फरक छ ?
नेपाल रेडक्रस सोसाइटी अन्तर्राष्ट्रिय निकाय हो। यो हरेक आपत्–विपत्मा काम गर्ने संस्था हो। उसको धेरै काम छ, हाम्रो मूल उद्देश्य रगत कसरी उपलब्ध गराउने भन्ने मात्र छ। हामी सहयोगीका रूपमा रगत उपलब्ध गराउँदै आएका छौं। हाम्रो मूल उद्देश्य भनेकै रगतको विकल्प ननिस्केको अवस्थामा स्वस्थ मान्छेकै रगत बिरामीलाई कसरी सहज रूपमा उपलब्ध गराउने भन्ने हो। ब्लोदान विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै आएको संस्था हो। नेपाल रेडक्रस सोसाइटी र ब्लोदान फरक हो। हामी १८ वर्ष पुगिसकेका व्यक्तिलाई रक्तदान गर्नतर्फ जनचेतना फैलाउँदै जाने । जनचेतना फैलाउने हाम्रो काम हो। ब्लोदान २०४४ सालदेखि अन्य संघसंस्थाहरूसँग सहकार्य गर्दै आएको संस्था हो। नेपाल सरकारको नीतिअनुसार अन्य संघसंस्थाले पनि रक्तसञ्चार केन्द्र खोल्न पाउने भन्ने छ। हामी पनि सहकार्य र समन्वयका आधारमा अघि बढ्छौं। यतिञ्जेल रेडक्रसबाहेक अन्य संस्थाले रक्तसञ्चार केन्द्र सञ्चालन गरेको हामीले पाएका छैनौं।
ब्लोदानले स्वयंसेवी रक्तदाताको सम्मान गर्ने र आकर्षित गर्ने कार्यका लागि के कस्ता काम गर्दै आएको छ ?
ब्लोदानले जसरी भए पनि स्वयम्सेवी रक्तदातालाई तीन–तीन महिनामा कसरी रक्तदान गर्नतर्फ अभिप्रेरित गर्ने भन्ने बारेमा सोचेर वातावरण बनाउँदै गएका छौं। त्यसैगरी, संघसंस्थालाई पनि वर्षमा कम्तिमा २ देखि ३ पटकसम्म रक्तदान कार्यक्रमको आयोजना गर्न उत्पे्ररित गर्ने भन्ने विषयमा हामीले ध्यान दिएर अघि बढेका छौं। सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउँदै आइरहेका छौं। रक्तदातालाई प्रोत्साहन गर्न विभिन्न पिनहरू जस्तै ः महिला र नेगेटिभ ब्लड ग्रुपको हकमा १० पटक रक्तदान गर्नेलाई सिल्भर, २५ पटकलाई गोल्डेन र ५० पटकलाई डाइमन्ड पिनले सम्मान गरिरहेका छौं। पुरुषहरूमा २५, ५० र १०० सिल्भर, गोल्डेन र डाइमन्डले सम्मान गरेको अवस्था छ। यसले गर्दा स्वयम्सेवी रक्तदाताहरूमा प्रेरणा मिलेको छ। त्यस्तैगरी संघसंस्थालाई पनि रनिङ सिल्डको व्यवस्था गरिरहेका छौं। अझै हाम्रो उद्देश्य भनेको संस्थाहरूलाई तीन–तीन महिनामा रक्तदान गर्ने वातावरण कसरी बनाउने भन्ने नै हो। स्वयम्सेवी रक्तदाताले निस्वार्थ भावले रक्तदान गरेका हुन्छन्। उहाँहरूलाई थप हौसलाका लागि रेडक्रस, सरकारले पनि विशेष ध्यान दिने र बलियो हुँदासम्म रक्तदान गर्नुहुन्छ। बिरामी पर्दा केही छुट गर्नुपर्ने माग अघि सारेका छौं। यस विषयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रस्ताव राखिसकेका छौं। अस्पतालमै रहेका ब्लडबैंकमा पनि यो आवाज अठाउने जमर्को गर्नेछांै।
कति वर्षदेखि ब्लोदानमा आबद्ध हुनुहुन्छ ?
ब्लोदानमा आबद्ध हुनुअघि, २०४० सालदेखि नै समाजसेवामा छु, २०४६ सालदेखि २०५२ सालसम्म अध्ययनको सिलसिलामा विदेशमै रहेँ। त्यसपछि स्वदेशमा फर्किएर पुनः समाजसेवामा लागेँ। २०५३ सालदेखि रक्तदानमा आबद्ध भएँ। साथीको आमाको मुटुको उपचारका बेला रगत दान गरेँ। यसपछि ममा रक्तदान गर्ने हौसला बढ्यो। २०५६ सालदेखि कुमारी युवा क्लबमा आबद्ध भएँ। क्लब पनि ब्लोदानमा आबद्ध भएर हरेक वर्ष रक्तदान कार्यक्रम गर्न थाल्यो। म स्वयम् २०६२ सालदेखि ब्लोदानमा आबद्ध भएँ। यो संस्थामा म सचिव हुँदै महासचिव र हाल अध्यक्षको जिम्मेवारी सम्हालिरहेको छु।
नेपाल रेडक्रस र अस्पतालले खोलेका ब्लड बैंकको सेवा शुल्कमा एकरूपता छ कि छैन ?
ब्लड बैंकमा एकरूपता छैन। रक्तसञ्चार केन्द्र, प्राइभेट अस्पतालमा पनि एकरूपता छैन, गंगालाल अस्पतालमै एकरूपता छैन, त्यसैगरी ग्रान्डीमा पनि एकरूपता छैन। एकरूपता ल्याउन नेपाल सरकारले ध्यान दिनुपर्छ। रेडक्रसमा सर्वशुलभ रूपमा पाइने वातावरण बन्नु जरुरी छ। आम नेपालीमा रगतको महत्व र सर्वसाधारणको पहुँच बनाउने जनचेतना जगाउँनुपर्छ। नेपाल रेडक्रसले परक्षण गर्ने भन्दा फरक परीक्षण गरे मात्र थप शुल्क लिन पाउनुपर्छ। नेपाल सरकारले अनुगमन गरी समानता ल्याउनुपर्छ।
रक्तदाताले दिने निःशुल्क रगतको किन पैसा तिरेर लिनुपर्छ ?
यो प्रश्न रक्तदाताले हामीलाई पनि गर्छन्। स्वयम्सेवी रक्तदाताले दिएको रगतमा नेपाल सरकारले निःशुल्क गर्नुपर्ने हो। यो शुल्क हेपाटाइटिस बी, सिफ्लीस, एचआईभी परीक्षण शुल्क हो। ब्लड बैंकमा अन्य स्रोत नभएकाले परीक्षण शुल्क हो। यसै शुल्कबाट व्यवस्थापन शुल्क पनि उठाएको पाएका छौं। नेपाल सरकारले रक्तदानलाई तीव्र बनाएर परीक्षण शुल्कमा केही हदसम्म छुट गर्नुपर्छ। यो आवाज हामीले बारम्बार उठाएको विषय हो। रक्तसञ्चार केन्द्रले ०५४ सालमा तोकेको शुल्क कम भो भनेर बढाउन जोड गरिरहेको छ ।चौतर्फी आवाज उठेकै कारण बढाउन सकेको छैन। निःशुल्क गर्नका लागि सरकारले नै ध्यान निनुपर्छ। मलेरिया, क्षयरोग, परिवार नियोजनलाई जस्तै रगत आपूर्तिलाई किन निःशुल्क गर्न सकिँदैन ? नेपाल सरकारले प्याकेजमा कार्यक्रम ल्याएर रगतको मामिलामा विचार विमर्श गरी शिक्षा र स्वास्थ्य निःशुल्क भन्ने नारालाई साकार पार्नेछ भन्ने विश्वास लिएको छु।
सरकारले दिएको व्यागमा निःशुल्क लेखिएकै कारण रक्तसञ्चार केन्द्रले प्रयोग गरेन भन्ने गुनासो थियो, यथार्थ के हो ?
संस्थागत अध्यक्षहरूलाई सम्झन चाहन्छु। रक्तदाताको नाताले सरकारलाई घच्घच्याउने यस्तैयस्तै कुराले हो। सरकारले सहयोग गरेन भन्ने रेडक्रसको गुनासोलाई ब्लोदानले मनन् गरेर सन् २०१७ मा राष्ट्रिय रक्त सम्मेलन गरेको थियो। सम्मेलनले नेपाल सरकारको, ब्लोदानको, विभिन्न रक्तदाता संघसंस्था, विश्व स्वास्थ्य संगठनको दायित्वलाई स्पष्ट पार्नुका साथै निष्कर्षसहितको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो। नेपालको रक्त अभियानको सरकारले सम्बोधन गर्दै २ लाख वटा व्याग उपलब्ध गराएको थियो। के कारणले प्रयोग भएन लिने र दिने दुबैले बुझ्ने कुरा हो। व्याग सरकारले उपलब्ध गराएपछि ब्यागको शुल्क बिरामीसँग लिनुहुन्न भन्ने आवाज स्वर्गवास भैसक्नुभएका पूर्वअध्यक्ष महेन्द्र विलास जोशीले उठाउनुभएको थियो। नेपाल सरकारले राष्ट्रिय रक्तसञ्चार व्यूरो गठन गरेको छ ।यसमा हामी गर्व गर्छाैं कारण ब्लोदानको निर्णयको कार्यान्वयन भयो। अब रगतसम्बन्धी काम गर्न ब्यूरोमा दर्ता भएर मात्र जान पाउने प्रावधान रहेको छ। सरकारले उपलब्ध गराएको व्याग प्रयोग नगर्नु भनेको गलत हो। नेपाल रेडक्रस शोसाईटीले अहिले पनि रक्तपरीक्षण शुल्क अपुग छ, हामी घाटामा छांै भनिरहेको अवस्था छ। स्पष्ट हिसाबकिताब देउ भन्दा दिन चाहिरहेको छैन।
नेपाल रेडक्रस सोसाइटी तथा रक्तसञ्चार केन्द्रले गर्दै आएको कामप्रति ब्लोदान सन्तुष्ट छ ?
नेपाल रेडक्रस सोसाईटीलाई धन्यवाद दिनुपर्छ। तर जति गर्नुपर्छ त्यति भएको छैन। रक्तसञ्चार केन्द्रले सहयोगी संस्थाहरूलाई एकसाथ लानुपर्छ, अनिमात्र थप उपलब्धि हुन्छ। रेडक्रसकै नेतृत्वमा ब्लोदान खुलेको हो। अहिले किन समावेश गरिन्न अचम्म यही छ। जनचेतनाको क्षेत्रमा हामी काम गर्छौं, प्राविधिक क्षेत्रमा रक्तसञ्चार केन्द्रले गरेमा हामी स्वयमसेवी रक्तदाता प्रति जवाफदेही हुन्छौं। संघसंस्थाले प्रश्न गर्दा हामीले उत्तर दिन नसक्ने अवस्थासम्म सृजना हुन्छ। टालटुले उत्तर दिएर तपाईंले दिएको रगत आज कसैलाई आवश्यक छ र तपाईंलाई चाहिँदा हामी उपलब्ध गराउँछौ भनेर भूमिका खेलिरहेका छांै। रक्तसञ्चार केन्द्र र हामी सँगसँगै गए मात्र गोलमा पुग्नुपर्छ।
रक्तदाताले निःशुल्क रगत दान गर्छन आफैंलाई चाहिँदा पैसा तिरेर लिनुपर्छ के यो अन्याय भएन र ?
रक्तदाताले निःशुल्क रक्तदान गरेको हुन्छ। मेरो खेर जाने रगतले अरूलाई राहत पुगोस् भनेर नै दिएको हुन्छ। कसैकसैले अपेक्षा गरेका हुन्छन्। नेपाल सरकारले वास्तवमै निःशुल्का स्वास्थ्य सेवाको नीति लागू गर्ने हो भने तत्काल रक्तदानका विषयमा ध्यान दिएर अनुगमन गर्नुपर्छ। हामी रक्तदान गर्छौं हामीलाई चाहिँदा पुनः दाता लैजानुपर्ने अवस्था आउँछ भने किन दिने भन्ने प्रश्न गर्नेहरूलाई हामीले सम्झाएर अघि बढेका छौं। नेपाल रेडक्रसले भने हामीलाई साथसाथै लान चाहँदैन किन यस्तो भइरहेको छ मैले बुझेको छैन।
रक्तदान गर्न प्रोत्साह गर्नका लागि नियमित रक्तदान गर्ने स्वयम्सेवी रक्तदातालाई त शुल्क नलिने व्यवस्था गर्नुपर्ने हैन र ?
असहायहरूलाई र क्यान्सरका असहायलाई दिने गरेको सुनेका छौं। निश्चित पटक दिएकालाई टेकुमा २५ पटक रक्तदान गरेकालाई १५ पटक छुट, ५० पटकलाई ४० पटक छुट ७५ पटकलाई  ६० प्रतिशत र १०० पटक गर्नेलाई ९० प्रतिशत छुटको व्यवस्था गरिएको छ। यस्तै व्यवस्था भएको खण्डमा रक्तदाताको संख्यामा बृद्धि हुन्छ र कहिल्यै पनि रगतको अभाव भयो भन्नुपर्ने अवस्था आउँदैन।
सर्वसाधारण बिरामीलाई रगत चाहिँदा रक्तसञ्चार केन्द्रमा छैन भनिन्छ भनसुन गर्नेलाई तुरुन्त दिइन्छ रे यस विषयमा ब्लोदानले कुनै सुधार ल्याउन सकिन्न ?
ब्लोदानलाई यस्तै विषयमा सवाल उठाएकै कारण होला ८ वर्षदेखि बोर्डमै राखिएको छैन । हामीले पनि यस्तो गुनासो सुन्ने गरेका छौं र हाम्रो स्पष्ट धारणा जसलाई जुनबेला आवश्यक पर्छ त्यतिबेला सहज रूपमा उपलब्ध गराइयोस् भन्ने गरेका छौं। उहाँहरूले भन्नुहुन्छ– ‘एकदुईवटा राखेको हुन्छ, कहिलेकही पुःन फिर्ता हुन्छ अनि दिन्छांै भन्छन्। पहिलाको दाँजोमा सुधार आएको छ। अझै हुनुपर्ने जति सुधार भएको छैन। भनसुनको भरमा दिने प्रथा बन्दै गर्नुपर्छ।
एक प्वाइन्ट रगतको ३ वटा कम्पोनेन्ट बनाइन्छ र त्यसका लागि परीक्षण एकै पटक गरिन्छ तर तीन जनासँग नै परीक्षण शुल्क भनेर असुलिन्छ यो कति न्यायोचित होला ?
नेपाल रेडक्रस सोसाईटीले हामीलाई घाटा नै घाटा भयो भनिरहेको छ। हामीले पनि कसरी घाटा भयो एक प्वाइन्ट रगत संकलन गरी ३ प्वाइन्ट दिनुहुन्छ शुल्कदर घटाएको अवस्था त छैन ? उहाँहरू भन्नुहुन्छ, ‘रगत संकलन गर्दा जनशक्ति, यातायात सञ्चालन गर्छाैं भनिन्छ यो प्रश्न हामीले पनि उठाएका छौं। यथार्थ उत्तर आएको अवस्था छैन। विस्तृत विवरण दिनै चाहँदैनन् नाफा त निश्चयनै छ। वास्तवमै घाटा भए नेपाल सरकारलाई घच्घच्याउन सक्थ्यौं। कतिपयले हामीलाई नै रेडक्रस मन्ने सोचेर माथिका प्रश्नको ओइरो लाग्छ। यथार्थ बाहिर आउने हो भने रक्तदाताको संख्या बृद्धि हुन्थ्यो यो न्यायोचित हैन।
अहिले ब्लोदानका कार्यक्रम के–के छन् ?
ब्लोदानको काम भनेको जनचेतना नै हो। सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाइरहेका छौं। ५ वर्षदेखि स्व. दयाविक्रम कंसाकार नेपालको पहिलो रक्तदाता भनेर मान्दै आएका छौं उहाँले रक्तदान गरेको अवसर पारेर राष्ट्रिय रक्तदाता दिवस मनाउँदै आएका छौं। यसवर्ष पनि यसैलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय सम्मेलन गर्न गैरहेका छांै। यसका साथै स्कूल, कलेज, संघसंस्थामा जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएका छौं। सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्ने, जिल्ला विस्तार गर्ने कार्य भइरहेको छ। १२ जिल्ला, ८ वटा क्षेत्र काठमाडौं केन्द्रित गरेर गरेका छौं। विभिन्न माध्यम अपनाएर अघि बढेका छौ।
गीत पनि बनायौ। एउटा ऐतिहासिक ५ मिनेटको प्रमो पनि बनाएका छांै र युटुबमा बजाएका छौं। नियमित गर्दै आएको काम सबै निकायसँग सहकार्य गर्दै आएका छौ। नेपाल सरकारले ब्लडबैंक घाटामा छ भने सहयोग गर्नुपर्छ। रक्तदातालाई सचेत नबनाई रक्तदान सफल हुँदैन भनेर अन्तर्राष्ट्रिय सम्मेलन गर्ने लक्ष्य बनाएका छौं। रक्तदातालाई सचेत नबनाई ब्लड बैंक थपेर मात्र रगतको अभाव पूर्ति हुँदैन।
ब्लोेदानले २०६२ सालमै भविष्यलाई नियालेर शनिबारबाहेक अरू दिनमा रगत संकलन गर्न रक्त संकलन केन्द्रको स्थापना गर्नुपर्छ भन्ने सोचले अगाडि बढेको थियो। त्यही सोचअनुरूप जेमिनी सुपर मार्केट, कुमारी युवा क्लब, चावहिल लायन्स क्लब, गनेश मान सिंहप्रतिष्ठान, पशुपति मारवाडी सेवा संघ लगायत विभिन्न संघसंस्थाले रक्त संकलन केन्द्रको रूपमा रगत संकलन गर्दै आइरहेको थियो। वि.सं. २०६४ भाद्रदेखि शुरू गरी हालसम्म गरी पशुपति मारवाडी सेवा संघले करिब १६०० पटक गरी करिब ५३००० युनिट रगत संकलन गरिसकेको।
हाल त्यस्तै गरी चावहिल लायन्स क्लब ,गनेश मान सिंह प्रतिष्ठान, देव कर्नर समिति, ने.रे.सो. चावहिल उपशाखा, लायन्स क्लब अफ चावहिल सिटी लगायत अन्य संस्थाहरूले विभिन्न ठाउँमा शनिबारवाहेकका दिनमा साप्ताहिक रक्त संकलन केन्द्रको रूपमा रगत संकलन गर्दै आइरहेको छ। त्यस्तै गरी ब्लोदान तथा काठमाडांै जिल्ला वचत तथा ऋण सहकारी संस्था (कास्कून) तथा ब्लोदानको संयुक्त आ≈वानमा विभिन्न सहकारी संस्थाहरूले हरेक बुधबार साप्ताहिक रक्त संकलनका रूपमा सहकारी क्षेत्रहरूमा रक्तदानको अभियान सञ्चालान गरिरहेको छ।
बिरामी र आमनेपालीलाई रक्तदानका बारेमा के भन्न चाहनुहुन्छ ?
बिरामीलाई भन्दा पनि आम नेपालीलाई सचेतनाका आधारमा स्वार्थ भन्दा निस्वार्थमा लागौं भन्छु। पुण्य कमाउनका लागि बिनाझण्झट बिनापैसा रक्तदान गरौं। पायक पर्ने ठाउँमा गएर रक्तदान गरौं एक पैसा पनि खर्च हुन्न। बुद्धले भन्नुभएको छ– ‘तिमी दियो बालेर अघि बढ अरूले पनि बाटो देख्नेछन्। अरूलाई तिमी देउ तिमीलाई पनि अरूले दिन्छ। रगतको विकल्प नभएको अवस्थामा जुनसुकै बेलामा चाहिन्छ। यो कुरालाई मनन गरेर रक्तदान गरौं। रक्तदान जीवनदान मात्र हैन खेर जाने रगत रक्तदान गर्दैछौं। संक्रामक क्षेत्रतर्फ लाग्ने समय पनि कम हुन्छ। १८ वर्षमा रक्तदान दिन शुरू गरी ६५ वर्षसम्म स्वस्थ रहन व्यक्ति स्वयम् सोच्न सक्छ र सुखी जीवन बिताउन सकिन्छ। आफैं पनि स्वस्थ भएर बाच्ने आधार रक्तदानले सृजना गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्