के पार्टीभित्र एक्लिन लागेका हुन् केपी ओली ?



सत्तारुढ दल नेकपा यति बेला चरम संकटमा परेको भन्ने आशयका समाचारहरू एकपछि अर्को गरी नेपाली मिडिया तथा सामाजिक सञ्जालहरूमा हेर्न÷पढ्न पाइन्छ। यो संकटबाट उत्रिन नेकपालाई त्यति सहज देखिएको छैन। यद्यपि जुनसुकै बेला जस्तोसुकै विवाद पनि निम्तिने र त्यसै गरी सहज अवतरण हुने नेपाली राजनीतिको विशेषता नै हो। सत्तारूढ दल नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिस गर्ने निर्णय भएको १ घण्टा बित्न नपाउँदै प्रधानमन्त्रीले गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न नचाहेको विषयले एकाएक चर्चा पायो।
सचिवालय बैठकको निर्णय मान्दिन भन्ने ओलीलाई वरिष्ठ नेता झलनाथ खनालले भने पार्टीको निर्णय नमान्ने भए पार्टी नै छाड्न चेतावनी दिएका समाचार पनि सुन्नमा आए। पार्टीको निर्णय मान्दिन भन्ने छुट प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई समेत नभएको भन्ने समाचार पनि सुनियो।
वरिष्ठ नेता खनालले पार्टीको निर्णय नमाने पार्टी त्यही रूपमा प्रस्तुत हुन्छ भन्नुको सीधा अर्थ हो सचिवालयले गरेको निर्णय नमाने ओली थप समस्यामा पर्नेछन्। अर्थात् उनीविरुद्ध सचिवालयका दुई तिहाइ सदस्य एकै ठाउँमा उभिएका छन्। यसले प्रस्टरूपमा के देखाउँछ भने, ओली पार्टीमा झन्–झन् कमजोर बन्दै गएका छन्।
यस्तैमा नेकपाका अर्का अध्यक्ष प्रचण्ड, सभामुख अग्नि सापकोटा र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको गोप्य भेटवार्ताले पनि भित्रभित्रै केही खिचडी पाकिरहेको प्रस्ट हुन्छ। पछिल्ला केही दिनहरूमा सिर्जित राजनीतिक कलहले फेरि नेपाली राजनीतिमा केही परिवर्तनका संकेत देखिन भने थालेका छन्। निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो सार्वजनिक हुनुसँगै प्रधानमन्त्री ओलीको समेत नाम जोडिएपछि उनी थप विवादमा परेका थिए। केही दिनअघि मात्रै आफ्नो जन्मदिनमा नेपालको नक्सा आकारको केक काटेर जन्मदिन मनाउनुु, हेलिकोप्टर नै चार्टर गरेर केक अर्डर गर्नु लगायतका कुराहरूले आमजनतामा पनि उनको प्रभाव घट्दै गएको देखिन्छ।
जुन आशा बोकेर सरकारमा पठाएका थिए ती कुनै पनि कुरा नदेखिनु र सरकारका मन्त्रीहरू एकपछि अर्को काण्डै काण्डमा मुछिनुले पनि ओली ओझेलमा परिरहेको आँकलन गर्न सकिन्छ। त्यसैले आफूतिर कसैले औंला नठड्याओस् भनेर प्रधानमन्त्री ओलीले हेक्का राख्नै पर्छ। दुई तिहाइको दम्भ बोकेर आफूलाई सर्वेसर्वा ठन्दाठान्दै कुनै बेला चिप्लिन बेर लाग्दैन। आफ्नै दलभित्र पनि एकमत हुन नसक्नुले पनि यस कुरालाई इंगित गरेको छ। त्यसैले यस विषयमा प्रधानमन्त्री ओली मात्र नभएर सिंगो पार्टीले नै सोच्नुपर्ने बेला आएको छ।
– सागर भुर्तेल, काठमाडौैं।

प्रतिक्रिया दिनुहोस्