सडक दुर्घटनामा मृत्यु हुने वन्यजन्तुको संख्या बढ्दै



नेपाल समाचारपत्र, काठमाडौं । 

सजीव प्राणी भएपछि मृत्यु स्वाभाविक छ। मृत्यु प्राणीका लागि प्राकृतिक हो। तर, अस्वाभाविक मृत्यु भयावह देखिन्छन्। त्यस्तै, मृत्यु वन्यजन्तुमा पनि देखिएको छ। पछिल्लोपटकको तथ्यांक हेर्दा प्राकृतिक कारणबाहेक मानव वन्यजन्तुबीचको द्वन्द्व, रोगको संक्रमण, चोरी सिकार, सडक दुर्घटना, एकापसमा आक्रमण, बाढी, पहिरो र करेन्ट लागेर वन्यजन्तुको अस्वाभाविक मृत्यु हुने गर्दछ।

सबैभन्दा डरलाग्दो तथ्यांक के देखिन्छ भने वन्यजन्तुको अस्वाभाविक मृत्यु सवारी दुर्घटनाका कारण बढी रहेको छ। पछिल्लोपटक चोरी सिकारीका कारण वन्यजन्तुको लोप हुने क्रमभन्दा सडक दुर्घटनाजस्ता अस्वाभाविक मृत्युले गर्दा सबैलाई चिन्ता थपिदिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णु श्रेष्ठले बताउनुभयो।

‘पछिल्लो समय चोरी सिकारभन्दा पनि सडक दुर्घटनाका कारण वन्यजन्तुको मृत्यु हुने क्रम बढिरहेको छ। यसमा सोच्नुपर्ने बेला भएको छ’ –उहाँले भन्नुभयो।

पछिल्लो तथ्यांकअनुसार ३ सय ९१ वटा वन्यजन्तुको मृत्यु हुँदा सवारी दुर्घटनाका कारणले मात्रै १ सय २४ वटा वन्यजन्तुले मृत्युवरण गरेका थिए। यसमा संरक्षित वन्यजन्तुदेखि संरक्षित घस्रने प्राणी परेको विभागले जनाएको छ।

विभिन्न संरक्षित क्षेत्रमा कृष्णसार १ सय १, चित्तल ८२, गैंडा ३०, अर्ना र चितुवा ११÷११, बाघ ८, हात्ती ४, जरायो ६, अजिंगर ४ लगायत ३ सय ९१ वटा वन्यजन्तुको मृत्यु भएको छ।

राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्रमा बाघ, गैंडा, अर्ना, चितुवाजस्ता ठूला जनावर मात्र नभई चित्तल, बँदेल, रतुवा, लगुना, कृष्णसार, गोहोरोजस्ता साना प्रजातिका वन्यजन्तुहरू तथा घस्रने प्राणी अजिंगरसमेतको मृत्यु भएको विभागको पछिल्लो तथ्यांकमा उल्लेख छ।

चितवन राष्ट्रिय निकुञ्जमा बाघ, गैंडा, अर्नासमेत गरी ५९ वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा, बाघ, हात्तीसमेत गरी ७१ वन्यजन्तुको मृत्यु भएको थियो। त्यसैगरी, पर्सा राष्ट्रिय निकुञ्जमा चितुवा, चित्तलसमेत गरी ११ वटा, बाँके राष्ट्रिय निकुञ्जमा चितुवा, चित्तल, बँदेलसमेत गरी ९१ वटा वन्यजन्तुको मृत्यु भएको थियो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसार र चित्तलसमेत गरी २४ वटा वन्यजन्तुको मृत्यु भएको थियो। रारा राष्ट्रिय निकुञ्जमा हाब्रे र कोसीटप्पु वन्यजन्तु आरक्षमा अर्ना, हात्तीसमेत गरी २२ वटा वन्यजन्तुको मृत्यु भएको थियो। कृष्णसार संरक्षण क्षेत्रमा कृष्णसारसमेत गरी ९३ वटा वन्यजन्तुको मृत्यु भएको थियो।

गत वर्ष असारमा गएको बर्सातका कारण बाढीले बगाउँदा र चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले मृत्यु भएका वन्यजन्तुको संख्या बिगतको तुलनामा केही बढी भएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्