पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता : नेपाल मलेसियासँग पराजित



काठमाडौँ। 

एसीसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा मलेसियासँग पराजित भएको छ । नेपालले एक दशकपछि मलेसियासित हार ब्यहोरेको हो ।

थाइल्याण्डको राजधानी बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल मलेसियासित २२ रनले पराजित भएको हो । सन् २००९ यता नेपाललाई मलेसियाले हराउन सकेको थिएन । मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । मलेसियाले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १५४ रन बनायो । १५५ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेपाल सबै विकेट गुमाउँदै १३२ रनमै समेटियो ।

नेपालको शुरुआत खराब रह्यो । नेपालको स्कोर एक रन छँदा ओपनर कुशल मल्ल शून्य रनमै पेभेलियन फर्किए । लगत्तै पारस खड्का नौ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले केही बेर नेपालको पारी सम्हाले ।

दुवै जनाले ६७ रनको साझेदारी गरे । मल्ल र ऐरीले समान ३८ रन बनाए । पवन सर्राफले १९, विनोद भण्डारीले सात, आरिफ शेखले ५ र करण केसीले दुई रन बनाए । बलिङतर्फ मलेसियाका लागि शर्भिन मुनिएन्डीले चार विकेट लिए ।

उनी प्लेयर अफ दी म्याच घोषित भए । यस्तै पवनदिप सिंह, सयजरुद एजत, खिजर हायत दुरानीले दुई दुई विकेट लिए । यसअघि ब्याटिङ गरेको मलेसियाका लागि अजिज सायद मुबारकले अविजित ५१ रन बनाए । ओपनर मोहम्मद अजवर अरुदिनले ३१, कप्तान अहमद फैज मोहमद नुरले ३० तथा अमिनुदिन रामलीले २९ रन जोडे । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन, अभिनाश बोहराले दुई तथा करण केसीले एक विकेट लिए ।

टी–२० क्रिकेटमा सन्दीपको १०० विकेट

मलेसियाको पहिलो विकेट लिएसँगै सन्दीप लामिछानेले टी–२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । उनी टी–२० क्रिकेटमा १०० विकेट लिने पहिलो नेपाली खेलाडी बने । खेलको तेस्रो ओभरमा बलिङ गर्दै सन्दीपले मलेसियाका भिरनदिप सिंहको विकेट लिएका थिए ।

मलेसियासितको खेलमा उनले चार ओभर बलिङ गर्दै एक मेडन राखी २२ रन खर्चेर तीन विकेट लिएका थिए । आजको खेलसँगै उनले टि २० क्रिकेटमा १०२ विकेट लिएका छन् । राष्ट्रिय टोलीबाट खेल्दै सन्दीपले १८ खेलमा ३१ तथा विभिन्न देशमा ५६ फ्रेन्चाइज टि २० लिगमा हालसम्म ७१ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्