अमेरिका र अफगानी तालिवान समूहबीच शनिबार शान्ति सम्झौतामा हस्ताक्षर



काबुल।

संयुक्त राज्य अमेरिका र अफगानिस्तानको तालिवान समूहबीच शनिबार शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताका लागि अमेरिकाको तर्फबाट विदेशमन्त्री माइक पोम्पेओ र तालिवानी समूहका नेताहरू बतारको राजधानीमा पुगेका थिए ।

सम्झौतापछि अमेरिका र उसका सहयोगी राष्ट्रहरूद्वारा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) अन्तर्गत अफगानिस्तानमा कार्यरत सम्पूर्ण सैनिकलाई आगामी १४ महिनाभित्र अफगानिस्तानबाट फिर्ता लाने सहमति भएको अमेरिका र अफगानिस्ताद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

“सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा तैनाद आठ हजार ६०० सैनिकलाई आगामी १३५ दिनभित्रमा पहिलो चरणमा फिर्ता लगिनेछ भने अमेरिका र उसका सहयोगीले बाँकी सबै सैनिकलाई १४ महिनाभित्र फिर्ता गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

सम्झौता अनुसार अफगानी विद्रोहीको प्रभाव क्षेत्रमा अलकायदा तथा अन्य अतिवादी इस्लामिक समूहका गतिविधि नियन्त्रणमा तालिवान समूहले सरकारलाई सहयोग गर्नेछ ।

दोहा सम्झौताले विगत १८ वर्षदेखि अफगानिस्तानमा तैनाद भै लड्दै आएका हजारौँ अमेरिकी सेनालाई फिर्ता हुने वातावरण मिलेको छ । अफगानी तालिवान समूहले आगामी दिनमा हिंसा नगर्ने र अमेरिकी सेनाको सहयोग प्राप्त अफगान सरकारले पनि तालिवान समूहलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरी शान्तिका लागि काम गर्नेछ ।
रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्