उमा कुङफुमा सुरेन्द्र र सलिना उत्कृष्ट



न्युज अफ नेपाल, काठमाडौं।

सुरेन्द्र थापा मगर र सलिना तामाङ पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगितामा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । सुरेन्द्रले पुरुष ६०–६५ केजी तथा सलिनाले महिला ३०–३५ केजीमा स्वर्ण जितेको आयोजक नेपाल उमा कुङफु संघका उपाध्यक्ष एवं प्रतियोगिताका मुख्य जज सन्जितकुमार राईले जनाएका छन् । उत्कृष्ट दुवै दोलखाका हुन् ।

बसुन्धरास्थित ऋत एकेडेमीमा भएको सान्डातर्फ पुरुष २०–२५ केजीमा काठमाडौंका आर्यन महर्जन पहिलो भए । फाइनलमा उनले काठमाडौंकै फुर्पा लामा दोङलाई पराजित गरे । २५–३० केजीमा रामेछापका मिङमा तामाङ पहिलो भए । उनले फाइनलमा काठमाडौंका उजिन मगरलाई हराए ।

३०–३५ केजीमा सिन्धुपाल्चोकका दावा छिरिङ शेर्पाले खोताङका समिर राई, ३५–४० केजीमा ओखल्ढुंगाका विजय सुनुवारले सोलुखुम्बुका सन्देश राई, ४०–४५ केजीमा रामेछापका सिवन सुनुवारले दोलखाका बुद्धिमान तामाङ, ४५–५० केजीमा रामेछापका लोब्साङ तामाङले रुपन्देहीका जीवन पुन र ५०–५५ केजीमा सिन्धुपाल्चोकका दावा फुन्जो शेर्पाले सिन्धुपाल्चोककै लाक्पा तामाङलाई पाखा लगाउदै शीर्ष स्थान हात पारे ।

सान्डाकै महिला २५–३० केजीमा नुवाकोटकी सोनिया तामाङले नुवाकोटकै रोजिता तामाङ, ३०–३५ केजीमा दोलखाकी सलिना तामाङले खोताङकी मनीषा बन, ३५–४० केजीमा मोरङकी सरु धिमालले नुवाकोटकी प्रेमकुमारी तामाङ, ४०–४५ केजीमा दोलखाकी सुन्तली थामीले संखुवासभाकी दावा डोल्मा शेर्पा, ४५–५० केजीमा सिन्धुपाल्चोककी कल्पना नेपालीले सोलुखुम्बुकी फुर्वा शेर्पा, ५५–६० केजीमा दोलखाकी फूलमाया तामाङले तनहुँकी नलिना गुरुङ तथा ६०–६५ केजीमा सोलुखुम्बुकी इस्मिता मगरले नुवाकोटकी अनुष्का तिवारीलाई पन्छ्याउदै पहिलो बने ।

यु–३० पुरुषको समूहगत ताइचीमा रामेछापका सुदिप श्रेष्ठ, गोर्खाका प्रज्ज्वल कुँवर, रुपन्देहीका जीवन पुन, काठमाडौंका विवेक महर्जन, दोलखाका सुदेश फुयाल र तनहुँका अशिर्वाद गुरुङको टोली च्याम्पियन बन्यो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, सचिव रमेश महर्जन, ऋत एकेडेमीका प्रिन्सिपल आनन्दकुमार यादव, नेपाल टग अफ वार संघका अध्यक्ष भवानी पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न १९ जिल्लाका २ सय १५ खेलाडीले ४५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यसै प्रतियोगिताबाट सन् २०२० मा नेपालमा हुने एसियाली उमा कुङफु च्याम्पियनसिप, भारतमा हुने विश्व कुङफु च्याम्पियनसिप र ग्रिसमा हुने विश्व कुङफु च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिने छ । वैदेशिक प्रशिक्षणका लागि चीन लाने २० खेलाडीको छनोट आधार पनि यहि प्रतियोगितालाई मानिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्