झापा ११ क्वार्टरफाईनलबाटै बाहिरीयो



गणेश घिमिरे, इलाम

उपाधिको दाबेदार तथा दुई संस्करणको बिजेता झापा ११ झापा इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकप फूटबलको क्वार्टरफाईनलबाटै बाहिरीएको छ । सिधै बाई पाएर शनिबार क्वार्टरफाईनल खेल खेलेको झापा पाहुना टिम मानेभञ्ज्याङ्ग एफसि दार्जिलिङ भारतसंग २–१ गोल अन्तरले पराजित भएको छ ।

निकै प्रतिष्पर्धात्मक खेलमा मानेभञ्ज्याङका लागि पिनीसाई लिथोङले खेलको २३ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । चानमित्रे थमाले डिबक्स भित्र मिलाएको क्रस पासलाई सदुपयोग गर्दै पिनीसाई गोलको खाता खोलेका थिए । पहिलो हाफमा एक गोलले पछि परेको झापाले दोस्रो हाफमा थप एक गोल खान पुग्यो ।

खेलको ४८ औं मिनेटमा दमाङ्ग चेनले प्रहार गरेको कर्नर प्रहारमा पुन पिनीसाई हेडर गोल गर्दै अग्रता दोब्बर बनाए । उनको नाममा ब्यक्तिगत दुई गोल पनि भएको छ ।

दुई गोलले पछि परेको झापाले खेलमा फर्कन धेरै प्रयास गरेपनि मानेभञ्ज्याङसंग हार स्विकार्न बाध्य भयो । खेलको ८५ औं मिनेटमा झापाका सरोज कार्कीले डिबक्स भित्रबाट प्रहार गरेको सर्टले सिधै जाली चुमेपछि झपाले खेलमा फर्कने संकेत देखाएको थियो ।

खेलको अन्त्यतिर दार्जिलिङलाई निकै दबाबमा राखेको झापाले थप गोल भने गर्न सकेन । ८८ औं मिनेटमा डिबक्स नजिकैबाट हेमन्त थापाले प्रहार गरेको फ्रिकक बललाई मानेभञ्ज्याङ्गका गोलरक्षक प्रोलिक्सन डिखरले मुस्किलले बचाएका थिए ।

दुवै टिमले खेल अवधिभर धेरै पटक पोष्ट चार्ज गरेपछि गोलरक्षकहरु बाधक बनिदिएका थिए । ५५ औ मिनेटमा मानेभञ्ज्याङ्गका दामेहुन सिहाले करीब २५ यार्डबाट प्रहार गरेको सशक्त प्रहारलाई झापाका गोलरक्षक अबिशेक बरालले निकै मुस्किलले बचाएका थिए ।

प्रतियोगिताम मानेभञ्ज्याङ्गका पिनीसाई लाथोङ म्यान अफ दि म्याच घोषित भए । उनले नगद दश हजार रुपैंयाँ प्राप्त गरे । बिजयी बनेको मानेभञ्ज्याङ्गले अब गोर्खा ब्वाईज रुपन्देही र मच्छिन्द्र फूटबल क्लब बीचको बिजेतासंग खेल्नेछ ।

शनिबार सम्पन्न खेलमा झापा ११ का चारजना र मानेभञ्ज्याङका तीनजना खेलाडीले एल्लो कार्ड पाएका थिए । प्रतियोगितामा आइतबार लिग उपविजेता त्रिभुवन आर्मी क्लब र संकटा क्लबीच प्रतिष्पर्धा हुनेछ ।

माईभ्याली फूटबल क्लबले आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका दश टिम रहेको छ । प्रतियोगिताको बिजेताले नगद ८ लाख र उपबिजेताले नगद पाँचलाख रुपैंयाँ पाउनेछ । यस्तै बिभिन्न बिधाका उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने आयकेजक कमिटीका अध्यक्ष धिरेन चेम्जोङले बताउनुभयो । प्रतियोगिताको फाइनल खेल आउँदो फागुन २४ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्