होटल छाडा यौन संस्कृतिको अखडा बन्न थालेपछि प्रहरीको ‘स्वीप अपरेशन’



पुष्कर बुढाथोकी,भक्तपुर।

भक्तपुरका बिभिन्न होटल, रेष्टुरेण्ट तथा खाजा घरबाट अनैतिक कार्य गर्ने १६ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त जगातीले ती स्थानमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

अनैतिक कार्य हुदैं आएको सूचनाका आधारमा छापा मारेर ८ पुरुष र ८ जना महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले जानकारी दिनुभयो ।

जगाती क्षेत्रका होटल छाडा यौन संस्कृतिको अखडा बन्न थालेपछि प्रहरीले विशेष शद्धिकरण अभियान सुरु गरेर ‘स्विप अपरेशन’ चलाएको डीएसपी जोशीको भनाई छ । जोशीका अनुसार, पीसफुल, प्याराडाइज, कस्तुरी खाजाघर, ए–वान र थकाली खानाघरबाट उनीहरुलाई नियन्त्रण लिएको हो ।

|अरनिको राजमार्ग आसपासमा खुलेका केही होटलजन्य व्यवसायमा कानुन विपरितका गलत कार्य हुदैं आएको गुनासो बढेपछि प्रहरीले छापा मारेको हो ।

विशेषगरि यस क्षेत्रमा सञ्चालित खाजाघर, गेष्ट हाउस तथा रेष्टुरांलाई प्रहरीले निगरानीमा राखेको छ । यौनजन्य क्रियाकलाप कै कारण श्रृजीत विभिन्न घटना दुर्घटना, अस्वस्थ्य प्रतिस्पर्धा जस्ता कारणले समाजमा विकृति बढेको गुनासो पछि प्रहरीले सुदृढीकरण अभियान अघि बढाएको हो ।

नियन्त्रणमा लिएकाहरु महिला तथा पुरुषहरुलाई प्रहरी सामाजिक मनोपरार्मश समेत दिइने भएको छ । उनीहरुलाई पहिलो पटक चेतावनी दिएर छोडिने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्