राष्ट्रियसभामा मनोनयनका बिषयमा भएको बिवादप्रति अध्यक्ष तिमिल्सिनाको असन्तुष्टि

‘संबिधान संशोधन आवश्यक छैन, दलहरुलाई सत्ता पचेन ’



दुर्गाप्रसाद शर्मा,पर्वत ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने सदस्य र संबिधान संशोधनका बिषयमा पार्टीमा भएको बिबाद प्रति तिब्र असन्तुष्टी जनाउनु भएको छ । गृह जिल्ला पर्वतको कुस्मा नगरपालिका–१० बितलब स्थित पुर्णेश्वर माध्यामिक बिद्यालयको स्वर्ण महोत्सबको शनिबार समापन गर्दै अध्यक्ष तिमिल्सीनाले राष्ट्रियसभामा कसैलाई नलादैमा केही नबिग्रने भन्दै अहिलेको भएको बिबाद र संबिधान संशोधन गर्ने बिषय प्रति तीब्र असन्तुष्टि जनाउनुभएको हो ।

‘कसैलाई राष्ट्रियसभामा नलादैमा केही बिग्रने होइन’ उहाँले बामदेब गौतमको नाम नलिइ भन्नुभयो ‘अझै संबिधान नै संशोधन गर्नुपर्ने कुरा बेमौसमी बाजा मात्रै हो ।’ उहाँले पछिल्ला दिनमा नेपाली राजनितीमा बेमौसमको बाजा बजाउने काम गरेको भन्दै संबिधान संशोधनको औचित्य माथि समेत प्रश्न उठाउनुभयो । अहिले संबिधान संशोधन नगरी नहुने अबस्था नै नरहेकोमा अनाबश्यक बखेडा झिक्ने काम भएको उहाँको भनाई थियो ।

सत्तारुढ नेकपाको सचिबालय बैठकले पार्टी उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रियसभा सदस्यमा रिक्त स्थानमा मनोनयन गर्ने निर्णय गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले असहमति जनाएपछि बिबाद हुँदै आएको छ । ‘कसैले दुई बर्ष कुर्न नसकेर अभहिले नै सबै चाहिन्छ भन्नु आबश्यक छैन’ उहाँले भन्नुभयो ‘कोही संसदमा नजाँदैमा केही बिग्रने पनि होइन।’

अध्यक्ष तिमिल्सिनाले अहिले बहुमतको सरकार परिर्वतन गर्ने सम्मका हल्ला चलेको प्रति आक्रोश पोख्दै ‘कुकुरलाई घीउ नपचेको’ संज्ञा दिनुभयो । नेपालमा जहिले पनि बहुमतका सरकारलाई काम गर्न नदिने र अस्थिरता मच्चाउने काम भएको भन्दै ‘नेपालका राजनैतिक दललाई सत्ता नपचेको आरोप पनि लगाउनुभयो ।

‘कुकुरलाई घीउ पच्दैन भन्ने नेपाली उखान जस्तै नेपालका राजनैतिक दलहरुलाई सत्ता पचेको छैन’ उहाँले भन्नुभयो ‘दुई चार बर्ष सत्ता र नेतृत्व बाहिर रहेर कुर्न नसकेर झगडा गर्न आबश्यक छैन’ उहाँले दलहरु भित्रको झगडा र शुसासन दिने तथा सम्बृद्धिको मार्ग नखोल्ने अबस्थामा हुने झगडाले देशमा अझै ठुलो दुर्घटना हुन सक्ने चेतावनी समेत दिनुभयो ।

फरक प्रसंगमा बोल्दै अध्यक्ष तिमिल्सिनाले सरकारी जागिर खाने मानसिकता लिएर अध्ययन गर्ने अबस्थाको अन्त्य हुनुपर्ने कुरामा जोड दिनुभयो । ‘सरकारी जागिर खाने उद्देश्य लिएर मात्रै अध्ययन गर्नु आबश्यक छैन’ उहाँले भन्नुभयो ‘प्राबिधीक शिक्षा र उद्यम गर्ने लक्ष्य सहित हजारौलाई रोजगारी दिने नागरिक उत्पादन गर्ने शिक्षा चाहिन्छ ।’

प्रतिक्रिया दिनुहोस्