मानवीय विकास बारे सोचिएन भने समाज सुधार हुन सक्दैन : अध्यक्ष शर्मा



धर्मेन्द्र बिसी,अछाम ।

मानवीय विकास बारे अझै सोँचिएन भने समाज सुधार हुन नसक्ने तुर्माखाद गाँउपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताउनु भएको छ ।जिल्लाको तुर्माखाँद गाउँपालिकामा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रम दिगोपना सुनिश्चितता गोष्ठी सुरु भएको छ । गोष्ठी दुई दिनसम्म चल्ने छ । सुआहारा र बहुक्षेत्रिय पोषण योजनासँगको सहकार्यमा तुर्माखाँद गाउँपालिकाले आयोजना गरेको गोष्ठीको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले अबको लगानी मानवीय विकासमा केन्द्रीत गरिने बताउनु भएको छ ।

पुर्वाधारका लागि लगानी लगाएर समाज रुपान्तरणको विषयलाई बृहत रुपमा उठान नगरेकै कारण अहिलेसम्म स्वास्थ्य, सरसफाई, शिक्षा, जातीय विभेद, छोराछोरी बीच गरिने विभेद र पोषणको अवस्थामा अपेक्षित सुधार आउन नसकेको बताउनुभयो ।

‘अहिलेसम्म हामीले सडक, भवन जस्ता भौतिक संरचनामा मात्र ध्यान दियौं,’उहाँले भन्नुभयो,‘मानवीय विकासको सुधारमा खासै लगानी गर्न सकिएको छैन । अब त्यसबारे गम्भीर हुन जरुरी छ । यदि अबपनि मानवीय विकास बारे सोँचिएन भने समाज सुधार हुन सक्दैन ।’ सामाजिक रुपान्तरणकालागि गरिने तालिम, गोष्ठी र छलफल समेत औपचारिकताका लागि मात्र गरिएको जस्तो देखिएकाले अब कर्मचारी र जनप्रतिनिधिले गर्ने काममा व्यापक सुधार गर्नुपर्ने भन्दै उहाँले आफ्नो कर्तव्य निर्बाह गर्ने क्रममा सेवामा गुणस्तर कामय गर्नेगरी काम गर्न आग्रह गर्नुभयो ।

‘कतिपय कामहरु कर्मकाण्डी रुपमा गरिए जस्तो भएको छ,’ उहाँले भन्नुभयो,‘योजना निर्माण गर्दा मात्र राम्रो गर्न खोजेर हुदैन । कार्यान्वयनमा ध्यान दिन जरुरी छ । अब योजना अनुसार कार्यान्वयन गरिएन भने हाम्रो सेवामा गुणस्तर कायम हुनसक्दैन ।’ गाउँपालिकाले आमा, बच्चा र सुत्केरीको अवस्था सुधार गर्नेगरी पोषण अवस्थामा व्यापक सुधार गर्ने योजना बनाएकाले अब गाउँ तथा वडा तहबाटै यसबारे गम्भीर चासोका साथ कर्मचारीले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष अमृतादेबी बुढाले पोषणको अवस्था सुधारकालागि तल्लो तहसम्म सचेतना विस्तार गर्न जरुरी रहेको भन्दै अब सिधै लक्षित समुहसम्म पुग्ने संयन्त्र निर्माण गरिनुपर्नेमा जोडदिनुभयो । ‘हामीले तालिम, गोष्ठी गरेर मात्र अवस्था सुध्रिने होइन्,’उहाँले भन्नुभयो,‘चेतना पुग्न नसकेका समुदायसम्म पुग्नेगरी काम गर्नुपर्छ । उनीहरुका लागि तयार हुने योजना सम्बन्धित ठाउँसम्म पुग्न आवश्यक छ ।’

गोष्ठीको उद्घाटन समारोहमा कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै तुर्माखाँद गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव भण्डारीले पोषणको महत्व, औचित्य र आवश्यकताका बारेमा जानकारी गराउन तथा बहुक्षेत्रिय पोषणका क्षेत्रका क्रियाकलापबारे पुनरावलोकन गर्न दुईदिन सम्मका लागि गोष्ठीको आयोजना गरिएको बताउनुभयो ।

उहाँले स्वास्थ्य तथा पोषण सम्बन्धी विद्यमान मुख्य व्यवहारको अवस्थाबारे छलफल गरेर आगामी रणनिति तय गरिने भन्दै त्यसको दिगोपनाकालागि अपनाउन सकिने विधि तयार गरिने बताउनुभयो । लगानी अभिबृद्धिकालागि साँझा प्रतिबद्धता सहित गाउँपालिकाले कार्ययोजना तयार गर्ने भएकाले अब सोही बमोजिम काम गरिने समेत उहाँको भनाई छ ।

उद्घाटन कार्यक्रममा तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कविराम बयक, वडा नम्बर ६ रानीबनका अध्यक्ष मुक्तिनाथ उपाध्याय, कार्यपालिका सदस्य दमनबहादुर घर्ती, पत्रकार ध्रुव बीसी र धमेन्द्र बीसी तथा गाउँपालिकाका आठ वटै वडाका स्वास्थ्यकर्मी लगायतको उपस्थिती रहेको थियो । गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक एकेन्द्रबहादुर बयकले सञ्चालन गरेको गोष्ठीमा सुआहाराका जिल्ला संयोजक लोकबहादुर नेपाली र बुक्षेत्रिय पोषण योजनाका अछाम बाजुरा संयोजक नरबहादुर आउजी तथा सेवक नेपालका सेतबहादुर भुलले कार्यक्रमको सहजीकरण गरिरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्