वालिका प्रकरण : अन्ततः मुख्यमन्त्री राईले मुख खोले

'गिरोह नै लागेर म माथि षड्यन्त्र भईरहेको छ'



सरोज यादव,विराटनगर । 

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अदालतमा उजुरीपरेपछि पहिलोपटक मुख्यमन्त्री राईले पहिलो पटक मुख खोल्नुभएको छ ।उहाँले आफुमाथि २०७२ सालदेखि पार्टी भित्रैका केही व्यक्तिबाट षडयन्त्र भइरहेको बताउनुभएको छ । उहाँले आफ्नो राजनीतिक जीवन र चरित्र हत्या गर्न केही मिडियाहरु पनि दुरुपयोग भएको दाबी गर्नुभयो ।

शनिबार इटहरीमा प्रेस संगठनको प्रदेश तथा जिल्ला समितिको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले आफ्नो बारेमा पछिल्लो समय आएका समाचारबारे यस्तो टिप्पणी गर्नुभएको हो । यसअघि पनि ती महिलासँग मुख्यमन्त्री राईलाई जोडेर समाचारहरु पटक पटक प्रकाशित भएपनि उहाँले त्यसबारेमा बोल्नुभएको थिए ।

म कसैको चाकडी गरेर आएको होइन । आशिर्वाद पाएर, मिडियाबाजी गरेर अनेकथोकको सहारा लिएर आएको होइन । मेरो जिन्दगी शतप्रतिशत पारदर्शी छ । म चुनौती दिन चाहन्छु सबैलाई, आर्थिक र नैतिक मामिलामा कसैले पनि खोट लगाउन सक्ने ठाउँ मैले बनाएको छैन । यसबारे बोल्ने समयको पर्खाइमा थिएँ म।

पत्रकारहरुको कार्यक्रममा पहिलो पटक यो बिषयमा बोल्दै मुख्यमन्त्री राईले भन्नुभयो,‘यो फोरममा मैले केही बोलिन भने म अन्यायमा पर्ने महसुस गरेको छुँ । मैले बोल्ने बेला बल्ल आयो । म विरुद्ध २०७२ सालदेखि षडयन्त्र शुरु भएको छ । म सञ्चारमन्त्री भएको २, ३ महिनादेखि त्यो षडयन्त्र शुरु भयो ।’ उहाँले आफुविरुद्ध विभिन्न ठाउँ बैठकहरु बसेर एउटा गिरोह सक्रिय भएको बताउनुभयो ।

ती गिरोहले नै केही पात्रहरुको खोजेर, खरीद गरेर आफुमाथि प्रयोग गरेको पनि उहाँले दाबी गर्नुभयो । ‘हिजो मात्र एउटा अदालतमा मुद्दा दर्ता भयो भनेर सामाजिक सञ्जालमा आइराखेको छ । २०७२ सालदेखि लगातार मौषम अनुसार सामाजिक सञ्जाल र केही साना मसिना अनलाइनहरुमा केही कुराहरु मेरो प्रसंगमा आइराखेको सर्ववतितै छ,’ ती महिलाको नाम नलिइकनै उनले भने,‘आजसम्म यो प्रसंगमा मैले बोलेको छैन, किनभने मेरो कुनै दोष छैन, कमजोरी छैन ।’

आज बोल्नुपर्ने अवस्था आएको भन्दै मुख्यमन्त्री राईले चाडै दुधको दुध पानीको पानी छुटिने दाबी गर्नुभएको छ । ‘तपाईहरु भ्रममा नपर्नुस, कतै चुकेको थियो कि, गल्ती गरेको थियो कि भनेर,’मुख्यमन्त्री राईले भने,मिडियाहरु दुरुपयोग भएका छन, मिडियाहरु किनिएका छन् । आधि घण्टामा पात्रहरु, यो खेतीमा लाग्नेहरु तपाईहरुले पत्ता लगाउन सक्नुहुन्छ ।’

उहाँले आफुविरुद्ध करोडौं रुपैया खर्चिएको पनि दाबी गर्नुभयो । उहाँले ती महिलासँग कहिल्यै चिनजान र दोहोरो संवाद पनि नभएको बताउदै आफू संचारमन्त्री भएको ३ महिना पछि मोवाइलमा म्यासेजहरु आउन थालेको बताउनुभयो । सयांैको संख्यामा म्यासेज आएको उल्लेख गर्दै उनले भने,‘फटाफट मेरो नम्बरमा म्यासेज आउछ, त्यो म्यासेज दुईटा, तिनटा होइन सयौंको संख्यामा आउछ ।

भोलीपल्ट पनि आउछ, म त्यो म्यासेज प्राप्त भएको नम्बरमा कलब्याक गर्छु, र को मान्छे हो चिन्न खोज्छु । नामसम्म थाह हुन्छ । त्यसपछि फोन राख्छुँ । तर म्यासेज लगातार आयो ।’ त्यसरी निरन्तर आएको म्यासेजहरुलाई जस्ताको तस्तै मोवाइलमा राखेर सञ्चारमन्त्री, सरकारको प्रवक्ताको हैसियतामा प्रधानमन्त्रीलाई देखाएको पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री पनि अचम्मित भएर षडयन्त्र भएको थाह पाएपछि अब तपाई ढुक्कले केही विचलित नभै काममा अघि बढ्नुस, कसैलाई प्रतिक्रिया नदिनुस् भनेर ढाडस दिएको पनि मुख्यमन्त्री राईले बताउनुभयो । निरन्तर म्यासेज आउन नछोडेपछि सरकारबाट हामी बाहिरिएपछि गिरोहको नाइकेको नाम किटान गरेर पार्टीमा एउटा एजेण्डा पोलिटब्युरो बैठकमा दर्ज गरेर छलफल भएको पनि उहाँले खुलाउनुभयो ।

‘पार्टी अध्यक्षसँग औपचारिक अनुमतिमा २ घण्टा छलफल भयो । बैठकमा एक मतले ती पात्र गलत हुन् भन्ने निष्कर्ष निस्कियो,’उहाँले भन्नुभयो,‘मैले ६ वटा नम्बर र ७ पेज म्यासेज सहित सिआइबीमा निवेदन दिए ।

पुलिसले आवश्यक अध्ययन गर्यो, र यी मान्छे स्वाभाविक मनस्थितिमा छैन, त्यसो हुदा अहिले कारबाही अगाडि नबढाऔ भनेर त्यसबेलाको डिआइजी अहिले प्रतिनिधिसभा सदस्य हुनुहुन्छ, नवराज सिलवालले भन्नु भएको थियो । मैले यो बिषयमा आजको मितिसम्म कही कतै प्रतिक्रिया दिएको थिइन, तर लगातार यसप्रकारको षडयन्त्र, गिरोह किन हो थाह छैन ।’

मुख्यमन्त्रीको भनाइ जस्ताको तस्तै :

जुन पात्रको कुरा छ, ती पात्रसँग मेरो कहिल्यै चिनजान भएको पनि छैन, बोलचाल भएको पनि छैन, कहिल्यै दोहोरो सम्वाद भएको पनि छैन ।म सञ्चारमन्त्री भएको तीन महिना पछाडि फटाफट मेरो नम्बरमा म्यासेज आउँछ । त्यो म्यासेज एउटा दुइटा होइन, पचासौं, सयौंको सख्यामा आउँछ । भोलिपल्ट पनि आउँछ ।

मलाई म्यासेज प्राप्त भएको एउटा नम्बरमा म कलब्याक गर्छु र को मान्छे हो भनेर चिन्न खोज्छु । नामसम्म थाहा हुन्छ । त्यसपछि मैले फोन राख्छु । तर, म्यासेज लगातार आयो ।त्यसपछि मैले ती म्यासेजहरुलाई जस्ताको तस्तै मोबाइलमा राखेर सञ्चारमन्त्रीको हैसियतमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई देखाएँ । उहाँ पनि अचम्मित हुनुभयो । यसभन्दा

अगाडि पनि तपाईँका बारेमा एउटा गलत पोको लिएर मान्छेहरु आएका थिए । आज प्रमाणित भयो, तपाईमाथि ठूलो षड्यन्त्र भएको रहेछ । अब तपाई ढुक्कले केही विचलित नभई आफ्नो काममा अगाडि बढ्नुस्, कसैलाई केही प्रतिक्रिया नदिनुस् । मैले मान्छे चिनें, बुझें, प्रधानमन्त्रीजीले भन्नुभयो । तर, म्यासेज र मलाई हृयारेस्ट गर्ने काम रोकिँदैन ।

जब सरकारबाट हामी बाहिरियौं, मैले सात पेजको म्यासेज प्रिन्ट गरेर त्यो गिरोहको नाइकेको नाम किटानी गरी मैले पार्टीको पोलिटब्यूरो बैठकमा एउटा एजेण्डा दर्ज गरेँ । यहाँ भीम कमरेड हुनुहुन्छ, (मञ्चमा रहेका भीम आचार्यतर्फ संकेत गर्दै) मैले पार्टी अध्यक्षसँग औपचारिक अनुमति मागेर एजेण्डा दर्ज गरेर पार्टीको बैठकमा दुई घन्टा छलफल भयो ।

पार्टी पोलिटब्यूरोमा एकमतले ती पात्र गलत हुन् भन्ने निष्कर्ष निस्कियो । त्यसो हो भने जसले मेरो राजनीतिक जीवनलाई समाप्त गर्न करौडौं पैसा खर्च गरेर सक्रिय छ, त्यो गिरोहलाई बाहिर ल्याउन छानविन कमिटी बनोस् भनेर मैले आग्रह गरेँ । अध्यक्षले स्थायी कमिटीबाट आवश्यक निर्णय लिने निष्कर्ष सुनाउनुभयो, बैठक सकियो ।

मैले पार्टी अध्यक्षसँग अनुमति मागेर सात पेज म्यासेज र ६ वटा नम्बरसहित आवश्यक अनुसन्धानका लागि सीआईबीमा निवेदन दिएँ । पुलिसले सम्वन्धित मान्छेमाथि प्रारम्भिक अध्ययन र्गयो । यी मान्छे स्वभाविक परिस्थितिमा छैनन् । त्यसैले अहिले कारबाही अगाडि नबढाऔं । हामी अध्ययन गर्छाैं भन्ने त्यतिबेलाका डीआईजी नवराज सिलवाल अहिले प्रतिनिधिसभाको माननीय हुनुहुन्छ ।

मैले आजको मितिसम्म कुनै प्रतिक्रिया दिएको थिइनँ । तर, लगातार ममाथि यस प्रकारको षड्न्त्र के कारणले होला, थाहा छैन । म शीर ठाडो पारेर सबैलाई भन्न सक्छु, म भुईँबाट आएको मान्छे हुँ, असाध्यै विकट गाउँमा जन्मिएको मान्छे हुँ । भुईँबाट आएको मान्छे, कम्युनिस्ट पार्टीको सदस्यता लिएर जे जिम्मा पायो, पाएको जिम्मा राम्रोसँग फत्ते गर्दै यहाँसम्म आएको हुँ ।

म कसैको चाकडी गरेर आएको होइन । आशिर्वाद पाएर, मिडियाबाजी गरेर अनेकथोकको सहारा लिएर आएको होइन । मेरो जिन्दगी शतप्रतिशत पारदर्शी छ । म चुनौती दिन चाहन्छु सबैलाई, आर्थिक र नैतिक मामिलामा कसैले पनि खोट लगाउन सक्ने ठाउँ मैले बनाएको छैन । यसबारे बोल्ने समयको पर्खाइमा थिएँ म।

किनभने यसको कुनै अर्थ छैन, प्रतिक्रिया दिनुपर्दैन भनेर पुलिसले पनि भन्यो, पार्टीले पनि भन्यो । तर, आज बोल्नुपर्ने भयो । र, अब दूधको दूध, पानीको पानी छुट्टिने समय आयो । यो केही दिनमा छुटिन्छ, यहाँहरुले थाहा पाउनुहुन्छ । यो कहिँ चुकेको थियो कि ? यसले कहिँ कतै गल्ती गरेको थियो कि भन्ने भ्रम नहोस् ।

यो मामिलामा मिडियाको दुरुपयोग भएको छ, किनिएको छ । यसको पनि खोजी गरिदिन म आग्रह गर्न चाहन्छु । आधा घन्टामा तपाईहरुले पत्ता लगाउन सक्नुहुन्छ । यो धन्दामा सामेल मान्छे पनि पत्ता लगाउन सक्नुहुन्छ ।

पार्टीमा त मुख्य मान्छेको नाम नै तोकेर दिएको छु । ममाथि जुनखालको षड्यन्त्र भएको छ, शायद विश्वको कम्युनिस्ट आन्दोलनमा अहिलेसम्म भएको छैन र हुँदैन होला । चुनावका बेला ममाथि १० वटा बम र एउटा गोली प्रहार गरियो । त्यो तर्साउन होइन, ठाउँका ठाउँ सिध्याउन गरिएको थियो । र, मैले यो घटनालाई पनि योसित जोडेर पार्टी नेतृत्वको ध्यानाकर्षण पनि गराएको छु ।

प्रतिक्रिया दिनुहोस्