साहित्यले विकृतिको चिरफार गर्नुपर्छ : मन्त्री केसी



सुर्खेत । 

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले साहित्यले समाजमा विद्यमान विकृतिको चिरफार गर्नुपर्ने बताउनुभएको छ ।

राप्ती साहित्य परिषद् रुकुमले आज मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना गरेको ‘साहित्य माला’ कार्यक्रममा उहाँले समाज रहेका समग्र विकृति र विसङ्गतिविरुद्ध साहित्य ओकेलिनुपर्ने बताउनुभयो । “साहित्य सभ्य समाज र असल संस्कृतिको द्योतक हो”, उहाँले भन्नुभयो, “यो वर्तमान राजनीतिक पार्टीको संस्कार बदल्नतर्फ मुखरित हुनुपर्छ ।”

मन्त्री केसीले शक्तिशालीलाई पूजा गर्ने संस्कृतिबाट टाढा हुन आग्रह गर्दै युवापुस्ता सिर्जनशील भएर लाग्न जरुरी छ भन्नुभयो । उहाँले भन्नुभयो, “प्रेमबाट विचलित भएर आत्महत्या गर्ने पुस्ताले समाज र परिवार ध्वस्त हुन्छ । तसर्थ राम्रो संस्कार हामी आफँैले विजारोपण गर्ने हो ।” उहाँले भ्रष्टाचारको अन्त्य नभई विकास असम्भव भएको प्रष्ट्याउँदै यसको खबरदारी सबै क्षेत्रलाई गर्न आग्रह गर्नुभयो ।

प्रदेशसभा सदस्य देवी ओलीले नेपाल कला, साहित्य, प्रेमी मनले भरिएको देश भएको उल्लेख गर्दै समाजको यथार्थतालाई साहित्यबाट उजागर गरी समाज र सरकार दुवैलाई सचेत तुल्याउन सहभागी स्रष्टा, सर्जकलाई सुझाउनुभयो ।

मध्यपश्चिम विश्वविद्यालयका शिक्षाशास्त्र सङ्काय केन्द्रीय क्याम्पस सुर्खेतका क्याम्पस प्रमुख जसवीर रोका र अतिथि सङ्कायमा अध्यापनरत डा दीपक गौतमले युवा पुस्तामा नकरात्मकता बढी देखिएको टिप्पणी गर्नुभयो ।

साहित्य माला कार्यक्रममा १३ स्रष्टाले मुलुकको विकास, सीमा रक्षा, राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक परिवर्तन, कमजोर नागरिक जीवनशैली र सुशासन कायम हुन नसक्नुलगायतका भाव आफ्ना सिर्जनामार्फत प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्