कोरोना भाइरसको उच्च जोखिममा नेपाल, ‘कोरोना भित्रिँदैन भनेर बसे गम्भीर गल्ती हुन्छ’ : डब्लुएचओ



न्युज अफ नेपाल, काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई कोरोना भाइरसको उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ ।

जेनेभास्थित मुख्यालयमा पत्रकार सम्मेलन गर्दै डब्लुएचओले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान कोरोनाको उच्च जोखिममा रहेको जनाएको छ । चीनको वुहानमा पहिलो पटक देखिएको भाइरस अहिले विश्वभर तीव्र रुपमा फैलिरहेको छ । यस अघिको डव्लुएचओको बैठकले चीनलाई मात्रै उच्च जोखिम सूचीमा राखेको थियो ।

डव्लुएचओका प्रमुख डा. टेडरोस गेब्रिएसुसले भने कोरोनालाई ख्याल ठट्टाका रुपमा नलिन आग्रह गरेका छन् । उनले भने, ‘कुनै देशले कोरोना भित्रिँदैन भनेर बसे गम्भीर गल्ती हुन्छ, सबै देशले मौसमलाई ध्यान दिँदै आइसोलेसन युनिट, औषधि र अन्य स्वास्थ्य उपकरणको उचित प्रबन्ध गर्नुपर्छ  ।’

कोरोना भाइरसको जोखिम बढिरहेको बेला नेपाल सरकारको भने यस तर्फ ध्यान पुग्नसकेको छैन । भिजिट नेपाल २०२० मनाइरहेको नेपाल सरकारले बिना संकोच विभिन्न मुलुकका पर्यटक भित्राइरहेको छ । डब्लूएचओका अनुसार विश्वका ५० बढी देशमा भाइरसको संक्रमण भेटिएको छ । कोरोनाको उच्च जोखिममा रहेको नेपाल,मा भने सामान्य पूर्वाधारलगायतका तयारी पनि गरिएको छैन । कोरोना भाइरस भेटिएका कोरीया, भारतका साथै अन्य देशहरुबाट दिनहु पर्यटकहरु आवतजावत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्