कोरोना भाइरसबाट इरानमा ३४ को मृत्यु, १४३ संक्रमित



तेहरान । इरानमा थप आठ व्यक्तिको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । यससँगै इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको आधारमा चीनपछि इरानमा यसको नराम्रो प्रभाव परेको देखिएको छ । इरानको सरकारी तथ्याङ्कलाई आधार मान्दा सङ्क्रमितको सङ्ख्या भने ३८८ पुगेको छ । इरानी अधिकारीका अनुसार इरानमा विगत २४ घण्टामा १४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरले बताउनुभएको छ ।

इरानमा पहिलो व्यक्तिमा सङ्क्रमणको पुष्टि दक्षिणी सहर कोममा फेब्रुअरी १९ मा भएको थियो । सङ्क्रमण पुष्टि भएको दिनदेखि अहिलेसम्ममा सबैभन्दा बढी सङ्क्रमण विगत २४ घण्टामा भएको हो ।

उहाँले भन्नुभयो, “पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका व्यक्तिमध्ये ६४ जना राजधानी तेहरानका हुन् भने सङ्क्रमण देशको २४ प्रान्तमा फैलिएको छ ।”

त्यस्तै इरानका सात उपराष्ट्रपतिमध्ये एक मासोमेह इब्तेकर, उप–स्वास्थ्यमन्त्री इराज हरिर्चीलगायत केही उच्च अधिकारीलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्