तेल उद्योगको फोहोर पैनी नालामा, स्थानीय त्रसित



सरोज यादव, मोरङ । 

मोरङको कटहरीमा रहेको बाबा आयल उद्योगले प्रदुषणयुक्त फोहोर पानीमा मिसाउने गरेको फेला परेको छ । प्रदुषणयुक्त पानीका कारण त्यसक्षेत्रको जनजीवन प्रभावित भएको छ ।

कटहरी–१ मा रहेको बाबा आयल उद्योगले उद्योगबाट बिर्सजन हुने प्रदुषणयुक्त पानी सिधै पैनीमा बगाउदै आएका कारण उद्योग आसपासका सर्वसाधारण प्रभावित भएका छन । प्रदुषित पानीलाई सिधै पैनीमा मिसाउने गरिएका कारण उद्योग आसपासका बस्ती दुर्गन्धित रहने गरेको छ । दुर्गन्धका कारण उद्योगको दक्षिणतर्फ रहेको सुकुम्बासीबस्तीका बासिन्दाको जनजीवन कष्टकर भएको छ ।

सो बस्तीका बासिन्दाले लामो समयदेखी दुर्गन्धको पीडा खेप्नु परिरहेको बताएका छन । उद्योगले प्रसोधन नगरि फोहोर पानी सिधै पैनीमा बगाउने गरेका कारण घरमा बस्न कष्टकर भएको स्थानीय हिरादेवी रायले बताउनुभयो । प्रदुषणयुक्त र हानीकारक केमिकल युक्त पैनीको पानी खाएकै कारण गाँउबस्तीका बस्तुभाउ समेत मर्ने गरेको स्थानीयले बताएका छन । आफुहरुले कयौं पटक उद्योगमा गएर प्रदुषणयुक्त पानी नबगाउन अनुरोध गरेपनि उद्योगले नटेरेको स्थानीय रितादेवी रायले बताउनुभयो । बिरोध गर्दा सो उद्योगले पटकपटक आश्वासन दिएपनि ब्यवहारमा कार्यान्वयन नगरेको रायको भनाई छ ।

दुर्गन्धको पीडाले आजित भएका त्यसक्षेत्रका बासिन्दाले समस्या समाधनका निम्ति पहल गरिदिन मागगर्दै गाँउपालिकालाई समेत लिखित निवेदन दिंदै गुहारिसकेका छन भने गाँउपालिकाले समेत पत्र लेखेर प्रदुषणयुक्त पानी पैनीमा नबगाउन चेतावनी दिईसकेको छ । तर पटकपटकको चेतावनीलाई समेत उद्योगले अटेर गर्दै आएको छ ।

त्यस बिषयमा प्रतिक्रिया दिनुहुँदै उद्योगका जेनरल म्यानेजर किष्णचन्द सबईले उद्योगले प्रदुषित पानी प्रशोधन गर्ने ईटिपी प्लान्ट जडान गरिसकेको र आउदो १० दिनभित्र समस्या समाधान हुने दाबी गर्नुभयो । उता कटहरी गाँउपालिका प्रमुख रामकुमार कामतले उद्योगले प्रदुषित पानी नबगाउने बिषयमा पटकपटक आश्वास दिएपनि कार्यान्वयन नगरेको जानकारी दिनुभयो ।

उद्योगले लिखित सहमति विपरीत प्रदुषित पानी बगाउदै आइरहेकाले अब गाँउपालिकाले नियमानुसारको कारवाही प्रक्रियामा जाने प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्