सिन्धुलीगढीका कारण हामी नेपालीका रुपमा रहेका छौं : प्रधानसेनापति थापा



बुद्ध नेपाली, सिन्धुली ।

नेपाली सेनाका प्रधानसेनापति महारथी पुणचन्द्र थापाले ऐतिहासिक सिन्धुलीगढीको कारणले गर्दा विश्वमा नेपाल, नेपाली र नेपाली सेनाका रुपमा रहेको बताउनुभएको छ । शुक्रवार देखि सिन्धुलीमाढीमा सुरु भएको प्रथम सिन्धुलीगढी ब्याडमिन्टन प्रतियोगीताको उद्घाटन गर्दै प्रधान सेनापति थापाले भन्नुभयो,‘सिन्धुलीगढी कै कारणले आज हामी नेपाल, नेपाली र नेपाली सेनाको रुपमा रहेका छौं । यो तथ्यलाई कुनै पनि नेपालीले विर्सन हुन्न र विर्सनेछैनन् भन्ने मेरो विशेष आग्रह छ’ ।

उहाँले सिन्धुलीगढी, हरिहरपुरगढीको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनका लागि नेपाली सेना र स्थानिय सरकारसँग समन्वय, सहकार्य गरी काम भईरहेको बताउनुभयो । ‘स्थानिय सरकार र सेनाको एकिकृत प्रयासको रुपमा हामीले ऐतिहासिक सम्पदाहरु, सिन्धुलीगढीमा निर्माण सुरु भएको युद्ध संग्रालय, सिन्धुलीगढीको संरक्षण्का लागि सिन्धुलीगढी एकिकृत पदमार्ग परियोजना लगाएतका काम सुरु भएका छन् ।’ उहाँले भन्नुभयो ।

थापाले प्रथम सिन्धुलीगढी अन्तराष्ट्रिय पद यात्रा, मकवानपुरगढी देखि हरिहरपुरगढी हुदै उदयपुरगढी सम्म ईतिहास स्मृति पदमार्ग, भावि योजनामा रहेको बताउनुभयो । उहाँले यस्ता नविन परियोजनाहरुले सिन्धुली जिल्ला लगाएत देशकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

खेलकुद क्षेत्र राष्ट्रिय एकताको एक सुत्रधार भएको भन्दै खेलकुद मार्फत सबै नेपालीमा आपसी सद्भाव र भाईचराको भावना सुढृण बनाउन सकिने थापाले बताउनुभयो ।‘खेलकुदले सम्पुर्ण नेपालीहरुमा आपसी सद्भाव र भाईचरापनमा थप विकास गरी एकत्वपनलाई अझ सुढृण पारी लैजान सकिन्छ भने अर्को तर्फ आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउछ ।’उहाँले थप्नुभयो ।

थापाले प्रथम सिन्धुलीगढी ब्याडमिन्टन प्रतियोगीताले एकताको सन्देश प्र्रवाह गर्न र नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुर्याउने आशा व्यक्त गर्नुभयो । भ्रमण बर्ष २०२० लाई टेवा पुर्याउन र सेना दिवस २०७६ को अवसर पारी जिल्ला ब्याडमिन्टन संघ सिन्धुलीले प्रतियोगीताको आयोजना गरेको हो ।

सेना दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना भएको प्रतियोगीतालाई बर्षेनी रुपमा आयोजना गर्न नेपाली सेनाले सकेको सहयोग गर्ने उहाँको भनाई छ ।‘सेना दिवसको अवसर पारेर नागरिक स्तरबाट बर्षेनी यस प्रतियोगीता आयोजना गर्ने भनेपछि म उत्साहित हुदै यो कार्यक्रमको आतिथ्यता स्वीकार गरेर आएको हुँ । भविष्यमा यसको सफलताको शुभकामना दिन चाहान्छु । प्रतियोगिताले सेना नागरिक सम्बन्धका अनुपम उदाहरण प्रस्तुत गरेको मैले अनुभुत गरेका छ् ।’उहाँले भन्नुभयो ।

कार्यक्रममा कमलामाइृ नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले खेलक्षेत्रले सिन्धुलीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने भन्दै ब्याटमिन्टन खेल र खेलाडीको विकास र प्रतियोगीता सफल बनाउका लागि दुई लाख सहयोग गर्ने घोषणा समेत गर्नुभयो ।

प्रतियोगीतामा देशभरीका १ सय १० टिम दर्ता भएको ब्याडमिन्टन संघ सिन्धुलीले जनाएको छ । फागुन १८ गते सम्म चल्ने प्रतियोगीतामा मेन्स सिङ्गल, मेन्स डबल, मेन्ट्रान्स डबल, मिक्स डबल ईभेन्टका खेलहरु हुने ब्याडमिन्टन संघ सिन्धुलीका अध्यक्ष मिन कुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार मेन्स सिङ्गल, मेन्स डबल, मेन्ट्रान्स डबल, मिक्स डबल ईभेन्टका खेलमा प्रथम हुने टिमले नगद ५० हजार, दोस्रो हुने टिमले ३० हजार र तेस्रो हुने टिमले नगद २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगीतामा त्रिभुवन आर्मी क्लव, एपिएफ, लगाएतका टिमहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्