मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम : एक लाख नागरिकको स्वास्थ्य परिक्षण गरिने



मोतीराम तिमल्सिना, काभ्रे । 

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम काभ्रेमा शुरु भएको छ । कार्यक्रम संचालनका बारेमा जिल्लामा संचालन हुने स्थानीय तहका जनप्रतिनिधिहरुलाई अभिमुखिकरण गराईएको छ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगत प्रदेश भित्रका सबै जिल्लाका एक लाख नागरिकहरुको स्वास्थ्य परीक्षण गरिनेछ । नसर्ने रोग र तिनका जोखिमहरु समयमानै पहिचान गरी उचित परामर्श वा उपचार मार्फत नसर्ने रोग जटिल हुन नदिन र स्वस्थ ब्यक्तिमा नसर्ने रोगको जोखिमलाई न्यूनीकरण गर्न चालु वर्षमा नमुना कार्यक्रमको रुपमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरिएको हो ।

जिल्लाको धुलिखेल, बनेपा, पनौती, मण्डनदेउपुर, नमोबुद्ध, पाँचखाल नगरपालिकाका ४ हजार ३ सय नागरिकको स्वास्थ्य परीक्षण गराईनेछ । १ हजार ८ सय ५० जनाको निशुल्क र २ हजार ४ सय ५० जनाको २५ प्रतिशत शुल्क छुटमा परीक्षण हुनेछ । उक्त कार्यक्रममा नेपाल सरकारले वितरण गरेको गरिव घर परिवार परिचयप्राप्त नागरिक तथा स्व घोषित विपन्न घोषणा गरेको ब्यक्ति, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरु, शहीद तथा वेपत्ताका परिवार र सशस्त्र द्वन्द्वका घाईते ब्यक्ति, महिला स्वास्थ्य स्वयम सेविका, लोकतान्त्रिक आन्दोलनका घाईते ब्यक्तिहरुलाई निशुल्क परीक्षण गराईनेछ । वडाअध्यक्षहरुको सिफारिसमा उक्त ब्यक्तिहरुले उपचार पाउनेछन् । प्रदेश अन्र्तगतका १६ १५ वटा अस्पतालबाट १६ थरी रोगको परीक्षण सेवा प्राप्त हुनेछ ।

जिल्लाको धुलिखेल नगरपालिकामा निशुल्क सेवा पाउने ३ सय, परीक्षणमा २५ प्रतिशत शुल्क छुट पाउने २ सय ७४ जना छन् । १६ वटा रोगको परीक्षण गर्दा २ हजार २ सय रुपैया तिर्नु पर्ने छ । वडा अध्यक्षको सिफारिसमा २५ प्रतिशत छुट हुनेछ । त्यस मध्ये पनी पाँचवटा परीक्षण निशुल्क हुनेछ । बनेपा नगरपालिकामा ३ सय ५० जनाको निशुल्क र ६ सय ७४ जनाको २५ प्रतिशत छुट, पनौती नगरपालिकामा ३ सयको निशुल्क र ५ सय ५८ जनाको २५ प्रतिशत छुट, नमोबुद्ध नगरपालिकामा २ सय ७५ निशुल्क र २५ प्रतिशत छुटमा २ सय ६८ जना रहेका छन् । पाँचखालमा ३ सय २५ जना निशुल्क र ३ सय ७५ जनालाई २५ प्रतिशत छुट, मण्डन नगरपालिकामा ३ सय छुट र ३ सय १ जनाले २५ प्रतिशत छुट प्राप्त गर्नेछन् । यो सेवा ३० वर्ष उमेर माथीका नागरिकहरुका लागि लागु हुनेछ ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जिल्लाका ६ वटा नगरपालिकाका ७४ वडाका नागरिकहरुका लागि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम लागु हुने बताउनु भयो । नगरपालिकाका प्रमुखहरु, वडा अध्यक्षहरुलाई कार्याविधिका बारेमा अभिमुखीकरण गराईएको झाले बताउनु भयो ।

अभिमुखिकरण कार्यक्रममा बागमती प्रदेश सरकारका बरिष्ठ स्वास्थ्य प्रशासक पुरुषोतम सेढाईले कार्याविधीका बारेमा जनप्रतिनिधिहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रमका फोकल पर्सन नारायण भट्टले जनता परीक्षण कार्यक्रम बापत सामाजिक विकास मन्त्रालयल मार्फत धुलिखेल अस्पताललाई झण्डै ५० लाख रुपैया उपलब्ध गराईने बताउनु भयो । प्रदेश भित्रका १ लाख नागरिकहरुले चालु वर्ष भित्र परीक्षण सेवा प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्