बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गरेर दादागिरि देखाउँदै प्रहरी

'छानविन सुरु गरिसकेका छौं' : प्रहरी



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले बच्चा बोकेकी एक महिलामाथि बारम्बार लाठी प्रहार गरेको भिडियो सार्वजनिक भएको छ । बिहिबारदेखि समाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा पौडेलल हेमा श्रेष्ठ नाम गरेकी महिलालाई बारम्बार लाठी प्रहार गरेका छन् ।

श्रेष्ठ ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्व जर्नेल हेम खत्रीको घरमा धर्ना दिन पुगेकी थिइन् । श्रेष्ठले महिलाको समूहनै लिएर धर्ना दिन पुगेकी थिइन् । आफ्नो घरबाहिर महिलाहरूको भीड देखेर आत्तीएका खत्रीले प्रहरीलाई खबर गरेका थिए । खबर गरेको केही समयपछि प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलसहितको टोली खत्रीको घरमा पुग्यो ।

धर्ना दिइरहेका उनीहरुलाई प्रहरीले बल प्रयोग गरी हटाउन खोज्यो । निरीक्षक पौडेलले हातमा बच्चा बोकेकी श्रेष्ठमाथी लाठी बर्साउन थाले । उक्त घटनामा प्रहरीले छ जना महिलालाई नियन्त्रणमा लिएको छ । सोही क्रममा खिचिएको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ । प्रहरीको यस्तो व्यवहारले जनता चकित परेका छन् । कतिले प्रहरी मेराे साथी भन्ने मूल नाराका साथ जनताको सेवामा लागेको प्रहरीले यस्तो हर्कत देखाउनु असभ्य र अपाच्य भएको जनाएका छन् ।

यस्तै कतिपयले भने पौडेलमाथि कडा भन्दा कडा कार्वाही हुनुपर्ने बताएका छन् । प्रहरीले भने महिलाको समूहले खत्रीको घरमा तोडफोड गर्न लागेका कारण माहोल शान्त पार्न यस्तो गरेको बताएको छ । भिडियोमा महिला प्रहरी पनि भएको पुष्टि भएको छ । तर, भिड शान्त पार्न महिला प्रहरी नभइ पुरुष प्रहरी लागि परेका छन् ।

घटनामाथि छानबिन सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्