राष्ट्रपति भण्डारीद्वारा उग्रतारा मन्दिरमा पूजा अर्चना



राम धामी, डडेल्धुरा ।

बुधबारबाट सुदूरपश्चिम भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार डडेल्धुरा सदरमुकाम नजिकै रहेको सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपिठ उग्रतारा भगवतीको मन्दिरमा पुजाअर्चना गरेकी छन ।

राष्ट्रपति भण्डारीले शुक्रबार विहान ११ बजे डडेल्धुरा सदरमुकामदेखि ५ किलोमिटरको दुरीमा अमरगढी नगरपालिका–८ मा रहेको प्रसिद्ध उग्रतारा भगवतीको मन्दिरमा पूजा अर्चनासहित दर्शन गरेकी हुन् । महाकाली राजमार्गको छेउमै अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा मन्दिरमा पुगि राष्ट्रपति भण्डारीले माता भगवतीको पूजाआजा र दर्शन गर्ने भएपछि  बिहीबारदेखिनै यँहाको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

राष्ट्रपति भण्डारीलाई अमरगढी नगरपालिकाले नागरिक अभिनन्दन गरि सम्मान स्वरुप उपहार प्रदान गरेको थियो भने जिल्ला समन्वय समिति डडेल्धुराका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । साथै जिल्ला सदरमुकाममा रहेको क्याम्व्रिज पब्लिक बोर्डिङ स्कुलले पनि मायाको चिनो प्रदान गरेको थियो । राष्ट्रपतिको उग्रतारा मन्दिर दर्शनका बेला जनप्रतिनिधिलगायत कर्मचारी मन्दिरका पुजारी, धामी, भ्रणिया, लौगटिया, उग्रतारमा रहेको वेदविद्याश्रमा अध्ययनरत बटुकलगायत उग्रतारा क्षेत्र विकास समिति पदाधीकारी, पूर्व पदाधिकारीहरूले स्वागत गरेका थिए । राष्ट्रिपति भण्डारीलाई यहाँका  फाग (सगुन) गाएर बाजागाजा सहित स्वागत गरिएको थियो।

सुदूरपश्चिम सौन्दर्यले भरिपूर्ण : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवि भण्डारीले सुदूरपश्चिम पाकृतिक रुपमा सौन्दर्यले भरिपूर्ण र रमणिय क्षेत्र भएको बताएकी छन् । शुक्रबार डडेल्धुराको प्रसिद्ध उग्रतारा भगवती मन्दिरको दर्शन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । ‘सुदूरपश्चिम प्रदेश प्राकृतिक सौन्दर्य, सांस्कृतिक पक्षले भरिपूर्ण प्रदेश छ ।’ उनले भनिन, ‘डडेल्धुरा सहित समग्र सुदूरपश्चिमको विकासका लागि नेपाल सरकार लागि परेको छ ।’

राष्ट्रपति भण्डारीले आफू डडेल्धुरामा यसअघि पनि आएको बताइन् । तर, राष्ट्रपति भएर भने पहिलो पटक डडेल्धुरामा आएको सुनाइन् । राष्ट्रपति भण्डारीले बिहीबार बैतडीको त्रिपुरा सुन्दरी र दार्चुलाको मालिकार्जुन मन्दिरमा पूजापाठसंगै दर्शन गरेकी थिइन् ।

हेलिकोप्टरमार्फत डडेल्धुराको उग्रतारा मन्दिर पुगेपछि उग्रतारा माताको दर्शन गरेर उनी शुक्रबार नै कञ्चनपुर प्रस्तान गरेकी छन् । राष्ट्रपतिको उपस्थितिमा शुक्रबार ‘तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव’ आयोजक भीमदत्त नगरपालिकाले मझगाउँस्थित विमानस्थलमा विशेष समारोहको आयोजना गरिँदैछ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्रवेशद्वार नजिक विमानस्थल मैदानमा आयोजना हुने कार्यक्रमलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेछिन् । राष्ट्रपति भण्डारी शुक्रबार दिउँसो १ बजे मझगाउँ विमानस्थलको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको छ । उनि १७ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्